PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मुक्तिनाथमा मोदीलाई ‘नागरिक अभिनन्दन’, सर्वसाधारणलाई चाहिँ 'नाकाबन्दी'



विधुर ढकाल

मुक्तिनाथमा मोदीलाई ‘नागरिक अभिनन्दन’, सर्वसाधारणलाई चाहिँ 'नाकाबन्दी'

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका लागि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। मोदीलाई 'नागरिक अभिनन्दन'को तयारी गरेको मुस्ताङले सर्वसाधारणलाई भने 'दुई दिने नाकाबन्दी' लगाउने भएको छ।
 
मोदीको सुरक्षाका लागि भन्दै उनी नेपाल भ्रमणमा रहँदा सर्वसाधारणलाई मुक्तिनाथ क्षेत्र प्रवेशमा रोक लगाइने भएको छ। वैशाख २८ र २९ गते बेनी–जोमसोम सडक खण्डका साथै मनाङदेखि मुस्ताङ प्रवेश गर्ने थोराङ्ला पास समेत बन्द गरिने भएको छ। थोरङ्ला पास संसारकै उत्कृष्ट ट्रेकिङ रुटको एउटा महत्वपूर्ण हिस्सा मानिन्छ।  

मनाङको सीमा हुँदै मुस्ताङ प्रवेश गर्ने थोराङ्लापास देखि मुक्तिनाथ सम्मको पदमार्गमा सो अवधिमा पदयात्रीलाई समेत रोक लगाइएको छ। 

गत वैशाख २३ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले वैशाख २८ र २९ गते हेलिकोप्टरको माध्यमबाट मुक्तिनाथ आउने यात्रीलाई समेत रोक लगाउने निर्णय गरेको हो। जमिनबाट मात्र नभइ आकश मार्गबाट पनि यात्रुलाई मुस्ताङ यात्रा निषेध गरिएको हो। 

त्यस्तै सुरक्षालाई दृष्टिगत गर्दै मुस्ताङका होटलहरुमा समेत कडाई गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले पहिलोपोस्टलाई जानकारी दिए। उनका अनुसार मुस्ताङको मार्फादेखि कागबेनीसम्मका होटलमा रहेका पाहुनाहरुको विवरण समेत संकलन गरिएको छ। त्यस्तै त्यहाँ रहेका पाहुनाहरुको दैनिक अद्यावधिक गर्न थालिएको हो। उच्च पदस्थ विदेशी पाहुना आउने भएपछि मुस्ताङ र म्याग्दीको सिमाना घाँसा, मनाङको थोराङ्पासमा समेत सुरक्षा गस्ती बढाइएको छ।
 
वैशाख २९ गते हेलिकोप्टरबाट मुक्तिनाथमा ओर्लेपछि मोदीले एक घण्टा मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम छ। मोदीको पूजापाठको तयारीका लागि २८ गते मध्यान्नपछि मन्दिर समेत बन्द गरिने भएको छ। एक व्यक्तिको पूजाका लागि मन्दिर नै बन्द हुनु विरलै हुने घटनामा पर्छ। 
 
‘विशिष्ठ पाहुनाको भ्रमणका कारण २८ गते अपराह्नदेखि भारतीय प्रधानमन्त्री पूजा सकेर नफर्किँदासम्मका लागि बन्द गर्ने तयारी गरेका छौँ,’ उनले भने। त्यस अवधिमा मुक्तिनाथमा सर्वसाधरण तथा पर्यटकहरुलाई समेत प्रवेश दिइने छैन। 

मोदी फर्किपछि मात्र सर्वसाधरणका लागि मुक्तिनाथ मन्दिर खुला हुनेछ।
 

मोदीको पर्खाइमा मुक्तिनाथ

यसैबीच मोदी मुक्तिनाथ आउने भएपछि उनको स्वागतका लागि समेत तयारी तीब्र पारिएको छ। मुक्तिनाथ मन्दिरको मर्मतसँगै रङरोगन गरिएको छ। मुक्तिनाथ मन्दिर रहेको मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार मुक्तिनाथ क्षेत्रमा अति विशिष्ट कक्ष समेत तयार गरिएको छ। त्यस्तै १०८ धारा, शौचालयको सरसफाइ र हेलिप्याड निर्माण गरिएको उनले जानकारी दिए। 

पूजापाठ अघि नै उनलाई ‘नागरिक अभिनन्दन’ गर्ने तयारी भएको छ। ‘अब यसलाई तपाईँ नागरिक अभिनन्दन भन्नु हुन्छ कि के त्यो तपाईँको कुरा हो हामीले उहाँलाई ताम्रपत्रसहित सम्मान गर्ने तयारी गरेका छौँ,’ अध्यक्ष गुरुङले पहिलोपोस्टसँग फोन संवादमा भने, ‘यस क्षेत्रमा आउने उहाँ नै उच्च विदेशी पाउना हो। हामीले उहाँको सम्मान गर्नु हाम्रो दायित्व तथा राष्ट्रकै गौरव हो।’

मोदीको सम्मानमा त्यहाँका स्थानीय समुदायले आफ्नो परम्परागत सांस्कृतिक कला तथा झाँकीहरु प्रस्तुत गर्ने तयारी भएको छ। त्यहाँ बसोबास गर्ने स्थानीय गुरुङ समुदायले सांस्कृतिक नृत्य सहित मोदीको स्वागत गर्ने अध्यक्ष गुरुङले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell