PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

'जनप्रतिनिधिकै मिलेमतोमा नदीजन्य बस्तुको चोरी–निकासी'



पहिलोपोस्ट

'जनप्रतिनिधिकै मिलेमतोमा नदीजन्य बस्तुको चोरी–निकासी'

बाबियाचौरः बेनी नगरपालिका–१ आनन्दबगरमा बस्ती संरक्षणको बहानामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी–निकासी भएको छ।

जिल्ला समन्वय समितिसँग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन गर्न पाइने नीतिगत व्यवस्था विपरीत सेभेनस्टार युवा क्लबका पदाधिकारीले बस्ती संरक्षणको बहानामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा चोरी–निकासी गरेका छन्। आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन र निकासीका लागि कसैले पनि अनुमति नलिएको र सम्झौता विपरीत डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन गर्नु अवैध काम भएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताए।

चैत अन्तिम र वैशाख ५ गते प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खननमा प्रयोग भएका उपकरण जफत गरेर जिससमा बुझाए पनि नीतिगत अस्पष्टताको कारण देखाउँदै राजनीतिक दबाबमा पुनः उत्खनन नगर्ने सहमति गराएर छोडिएको थियो। क्लबका पदाधिकारीले नदीजन्य पदार्थको उत्खनन गरेकामा गल्ती स्वीकार गर्दै अब उत्खनन नगर्ने लिखित प्रतिबद्धता विपरीत केही दिनयता पुनः चोरी–निकासी गरिरहेका स्थानीयवासीले बताएका छन्। नदीको धार र स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गर्दा बस्ती संरक्षणको साटो जोखिम बढेको छ।

आनन्दबगरमा खेलमैदान विस्तार र नदी कटान नियन्त्रणका लागि ढुङ्गा, गिट्टी र बालुवा बेचेर आयस्रोत जुटाउन क्लबले रु पाँच लाखमा विनोद हमाललाई ठेक्कामा दिएको सेभेनस्टार युवा क्लबका अध्यक्ष लालबहादुर थापा (माइकल)ले बताए।

नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको सिफारिसमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर खेलमैदान सम्याउने र संरक्षण गरिए पनि बिक्री नभएको थापाले दाबी गर्दै आएका छन्। दिउँसो नदीजन्य बस्तु उत्खनन र राति चोरी–निकासी गर्ने गरेको स्थानीयवासीले बताएका छन्।

प्रजिअ लीलाधर अधिकारीले नगरपालिकाका प्रमुख श्रेष्ठको लिखित पत्राचारपछि पहिले उत्खनन गर्दा परेको खाडल पुरेर नदीलाई पुरानै स्वरुपमा लैजाने र खेलमैदान फिलिङ गर्नका लागि मात्र नगर प्रमुख श्रेष्ठको सिफारिसमा अनुमति दिएको बताए। क्लबका पदाधिकारीले प्रतिबद्धता विपरीत काम गरेको सूचना पाएपछि शनिबार दिउँसो प्रहरी पठाएर उत्खनन रोक्न निर्देशन दिएको प्रजिअ अधिकारीले बताए।

नगर प्रमुख श्रेष्ठले अलपत्र अवस्थामा छोड्डा बस्ती कटानको जोखिम भएकाले खाल्डाखुल्डी पुर्न र संरक्षणका लागि सहमति दिए पनि बिक्री वितरण गर्नु गलत काम भएको र त्यस्तो नगर्न निर्देशन दिने बताए। स्थानीयवासीको विरोध र दबाबका कारण चालु आर्थिक वर्षमा जिससले आनन्दबगरको नदीजन्य पदार्थको ठेक्का लगाएको थिएन। प्रहरीले अवैध र जथाभावी रुपमा नदीको दोहनमा प्रयोग भएका सवारीसाधन र उपकरण नियन्त्रणमा लिए पनि कारबाही नभएकाले यस्तो गतिविधि मौलाएको प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले बताइन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell