PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


के बाहिर चर्चा भए जस्तो प्रम ओली बिरामी भएका हुन्? यस्तो छ प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य स्थिति


सागर बुढाथोकी

के बाहिर चर्चा भए जस्तो प्रम ओली बिरामी भएका हुन्? यस्तो छ प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य स्थिति

काठमाडौँ : गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली गएनन्। विश्वविद्यालयका कूलपति नै नगएपछि बैठक बस्ने कुरै भएन। बैठक नबस्नुको कारण सोध्दा त्रिविका उपकूलपति डाक्टर तीर्थ खनियाँले भने – प्रधानमन्त्री बिरामी हुनुभएकाले बैठक स्थगित गर्नुपर्‍यो।

प्रधानमन्त्री बिरामी भएको सूचना जतिखेर उपकूलपतिले प्रवाह गरे, ठीक त्यतिखेर प्रधानमन्त्री ओली भने कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग छलफल गरिरहेका थिए। उपकूलपतिले बिरामी भनेका प्रधानमन्त्री दिनभर सक्रिय रहे। सिनेट बैठकका केही एजेन्डा त्यसैदिन मिडियाबाट सार्वजनिक भएका थिए जसले प्रधानमन्त्रीलाई नजान दवाव परेको थियो। तर, उपकूलपति खनियाँले आफ्ना कमजोरी लुकाउँदै प्रधानमन्त्रीलाई बिरामी भएको ठहर्‍याए। उपकूलपतिको बोलीमा विश्वविद्यालयको कार्यकारी भूमिकामा रहेका सबैले लोली मिलाएर भने – प्रधानमन्त्री विरामी हुनुभयो, सिनेट स्थगित भयो।

दोस्रो पटक प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीको सक्रियता पहिलेभन्दा बढी देखिएको छ। ओली अस्वस्थ भएका कारण कुनै महत्वपूर्ण कार्यक्रम रोकिएको पनि छैन। तर, पनि मानिसहरु प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अड्कलबाजी गरिरहन्छन्।

एउटा सत्य के हो भने व्यस्त सेड्युलका कारण ओलीले आराम पाएका छैनन्। त्यसको प्रतिबिम्व उनको अनुहारमा देखिनु अनौठो पनि होइन। उनको स्वास्थ्य अवस्थालाई लिएर यसपटकमात्र होइन अड्कलबाजी गर्नेहरु दशकदेखि सक्रिय छन्।

के ओलीलाई रोगले साँच्चिकै गलाएको हो त?

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डाक्टर दिव्या सिंह ओलीको स्वास्थ्य अवस्थामा बारेमा आएको समाचार भ्रामक भएको बताउँछिन्। ओली खराब स्वास्थ्यका कारणले भन्दा कामको प्रेसरले गलेको उनको तर्क छ।

'अत्यन्तै स्वस्थ र जवान मान्छे पनि काम धेरै भएपछि थकित देखिन्छ। उहाँ योङ हुनुहन्न तर कामको धपेडी ज्यादा छ', डाक्टर सिंह भन्छिन्, 'तैपनि, उहाँ स्वस्थ हुनुहुन्छ। मेमोरी पावर सार्प छ। स्टामिना ज्यादा र रोग प्रतिरोधात्मक क्षमता पनि स्ट्रोङ।'

ओली स्वास्थ्यप्रति सचेत छन्। काममा व्यस्त भए पनि खाना र औषधि टाइममा लिन्छन्। महत्वपूर्ण मिटिङ हुँदा बीचमै औषधि खान्छन्। राति सुत्न भ्याउनु भएन भने दिउँसो पनि सुत्नुहुन्छ। खाना औषधि र निद्राको व्यवस्थापन गरेका हुनाले उहाँको स्वास्थ्य बाहिर हल्ला भएजस्तो गम्भीर छैन- दिव्या सिंह, प्रम ओलीका निजी चिकित्सक

***
 

यस्तो छ ओलीको 'स्वास्थ्य ट्रयाक रेकर्ड'

डाक्टर दिव्या सिंह तिनै डाक्टर हुन जसले नेपालमा पहिलो पटक सफल मिर्गौला प्रत्यारोपण गराइन्। उनै दिव्या सन् २०१३ देखि केपी ओलीको निजी चिकित्सकका रुपमा काम गरिरहेकी छिन्। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको भित्री जानकार हुन् उनी।

ओलीको अवस्था नाजुक हुँदा दिव्या सिंह उनको उपचार गर्न पुगेकी थिइन्। भर्खरै मिर्गौला प्रत्यारोपण गराएका कारण 'इन्फेक्सन' भएको थियो ओलीलाई। हातमा 'मेनिन्जाइटिस' भएकाले ओली चिन्तित थिए। कडा मेनिन्जाइटिसले गर्दा ढाडबाट पानी झिक्नु पर्ने अवस्था थियो।

तर, अहिले त्यतिखेरको जस्तो अवस्था नरहेको बताउँछिन उनी। भन्छिन्, 'उहासँगै बैंकक गएदेखि अहिलेसम्म नियमित स्वास्थ्य जाँच गर्दै आएको छु। उहाँको स्वास्थ्यमा पहिलाभन्दा धेरै सुधार आएको छ।'

'मेनिन्जाइटिस' भएर सन २०१३ मा ओली शिक्षण अस्पताल महाराजगन्जमा उपचार गर्न पुगेका थिए। त्यहाँ उपचार गरेको केही दिनपछि डा दिव्याले ग्राण्डी 'रिफर' गरेकी थिइन्। ग्राण्डीमा पनि उपचार नभएपछि ओलीसँगै बैंकक गएकी थिइन् उनी। बैंककको महिना दिन भन्दा लामो उपचारपछि ओलीको अवस्था खतराबाट मुक्त बनेको थियो।

त्यतिबेला कडा खालको 'मेनिन्जाइटिस' सँगै निरन्तर लामो समयसम्म टाउको दुख्ने समस्या थियो ओलीलाई। स्वास्थ्यमा हेलचेक्र्याईँ र चिकित्सकको सल्लाहबिना औषधि खाएकाले सिकिस्त भएका थिए उनी। त्यसयता ओली स्वास्थ्यप्रति सचेत रहेको डाक्टर दिव्या बताउँछिन्।

उनका अनुसार ओलीको प्रेसर र सुगर ब्यालेन्समै छ। त्यसका लागि सामान्य औषधि प्रयोग गर्छन्। महिना एक पटक मिर्गौलाको ट्रयाक लेभल भेरिफिकेशन,  यूरिन, प्रेसर, सुगर लगायत चेकअप गरिरहेका छन्। त्यसको रिपोर्ट पनि नर्मल आइरहेकाले डराउनु पर्ने स्थिति छैन।

सामान्य मानिस ५ देखि ७ घण्टा सुत्दा निद्रा पुग्छ। कामको ओभरलोड जति नै भए पनि ओलीले समय व्यवस्थापन गरेको डा दिव्याको भनाइ छ। भन्छिन्, 'उहाँको कामको रफ्तार प्रधानमन्त्री भएपछि बढेको होइन, पहिलेदेखि नै यस्तै हो। जति नै व्यस्त भए पनि उहाँले समयको व्यवस्थापन गर्नुहुन्छ।'

ओली स्वास्थ्यप्रति सचेत छन्। काममा व्यस्त भए पनि खाना र औषधि टाइममा लिन्छन्। महत्वपूर्ण मिटिङ हुँदा बीचमै औषधि खान्छन्। भन्छिन्,  'उहाँ पानी आफै बोक्नुहुन्छ। राति सुत्न भ्याउनु भएन भने दिउँसो पनि सुत्नुहुन्छ। खाना औषधि र निद्राको व्यवस्थापन गरेका हुनाले उहाँको स्वास्थ्य बाहिर हल्ला भएजस्तो गम्भीर छैन।'

डा दिव्याका अनुसार उमेर बढ्दै गएपछि सामान्यतया मानिस थकित हुन्छ।  सुगर, प्रेसर लगायतका औषधि खानुपर्छ। रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले सामान्य भन्दा सामान्य कुराहरुमा ध्यान दिनुपर्छ। अंग प्रत्यारोपण गरेको मानिसले जीवनभर औषधि खानुपर्छ। भन्छिन्, 'हो उहाँ त्यो हिसाबले बिरामी हो। तर, औषधिकै भरमा बाँचेको भने होइन।'
 
***
'प्रत्यारोपण गरिएका व्यक्तिको शरीरमा सामान्य व्यक्तिभन्दा निकै चाँडो र डरलाग्दो किसिमले संक्रमण हुन सक्छ। 'डोज' तलमाथि परेको थाहा नहुँदा एकदिनमै रुघा लागेर निमोनिया हुने र तत्कालै मृत्यु समेत हुनसक्छ।'
***

भारतको अपोलो अस्पतालमा ११ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गराएपछि ओलीले निरन्तर औषधि सेवन गरिरहेका छन्। ओलीमात्र हैन प्रत्यारोपण गरेका सबैले जीवनभर औषधि खानुपर्छ। मानिसको उमेर र स्वास्थ्य अवस्था अनुसार 'डोज' भने फरक-फरक हुन्छ। औषधिको 'डोज' 'ट्याक रेकर्ड भेरिफिकेशन' को आधारमा तय गरिन्छ। त्यसैले ट्रान्सप्लान्ट गरेको सुरुवातमा हप्तै पिच्छे 'ट्रयाक लेभल भेरिफिकेशन'गर्नुपर्छ। प्रत्यारोण पुरानो भएपछि भने ३ महिनामा एकपटक गर्नुपर्छ। दिव्या भन्छिन्, 'ट्रयाक लेभल नगरेर औषधिको 'डोज' तलमाथि भयो भने मानिस मर्नेसम्म खतरा हुन्छ।'

ओलीले किन खानुपर्छ जीवनभर औषधि?

चिकित्सकहरुका अनुसार शरीरको प्रतिरक्षा प्रणालीले अरूबाट ल्याएर राखिएको मिर्गौलालाई सजिलै चिन्दैन। अरुको मिर्गौलालाई आक्रमण गरेर नष्ट पार्न खोज्छ। त्यसैले मिर्गौला नष्ट हुन नदिन शरीरको प्रतिरक्षा प्रणालीलाई औषधि दिएर लठ्याइन्छ।

औषधि खाएन भने प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाड्छ। औषधिले प्रतिरक्षा प्रणाली कमजोर पारेका कारण प्रत्यारोपण गरेको मिर्गौलाले काम गरिरहेको हुन्छ। प्रतिरक्षा प्रणालीलाई धेरै कमजोर पार्दा अन्य भाइरस वा व्याक्टेरियाले शरीरका अन्य प्रणाली आक्रमण गर्न सक्छ। त्यसैले प्रत्यारोपण पछि औषधि खाइरहँदा पनि खतरा हुन्छ भने नखाँदा झनै खतरा।

सोही कारण प्रत्यारोपणपछि शरीरको प्रतिरक्षा प्रणाली सन्तुलनमा राख्न धेरै कुराहरुमा सचेत हुनुपर्छ। डा सिंह भन्छिन्, 'प्रत्यारोपण गरिएका व्यक्तिको शरीरमा सामान्य व्यक्तिभन्दा निकै चाँडो र डरलाग्दो किसिमले संक्रमण हुन सक्छ। 'डोज' तलमाथि परेको थाहा नहुँदा एकदिनमै रुघा लागेर निमोनिया हुने र तत्कालै मृत्यु समेत हुनसक्छ।'

के औषधि खान्छन त ओली ?

प्रेड्निसोलोन, साइक्लोस्पोरिन, माइकोफिनोलेट मोफेटिल, अजोरन, ट्याक्रोलिमस र सिरोलिमस  मिर्गौला प्रत्यारोपण पछि प्रयोग हुने औषधि हुन्। चिकित्सकहरूका अनुसार मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिलाई शरीरको प्रतिरक्षा प्रणाली र मिर्गौला दुवैलाई सन्तुलनमा राख्न यी औषधिले सहयोग गर्छ। डा दिव्याका अनुसार मिर्गौला प्रत्यारोपणपछि शरीरलाई 'म्याच' गर्ने तीन वटा औषधि दिइन्छ। प्रेड्निसोलोन, ट्याक्रोलिमस र माइकोफिनोलेट मोफेटिल नेपालमा बढी जसो 'प्रेस्क्राइब' गरिएका औषधि हुन्। डा शाहका अनुसार, प्रत्यारोपणपछि ओलीले सेवन गर्दै आएका औषधि पनि यिनै हुन्।

मिर्गौला प्रत्यारोपण पछि खाने औषधिका तत्कालीन र दीर्घकालीन 'साइडइफेक्ट' हरु धेरै छन्। डा सिंहका अनुसार एलर्जी हुने, अनुहार सुन्निने,  कपाल झर्ने  टाउको दुख्ने औषधिका तत्कालीन असर हुन्। त्यस्तै ती औषधिहरुले सुगर, ब्लड प्रेसर, कोलेस्ट्रोल पनि बढाउँछ। निद्रा नलाग्ने बनाउने, शरीरका अंगहरु काम्ने बनाउँछ।

प्रत्यारोपणपछि खाने औषधिले मानिसलाई उत्तेजित बनाउने चिकित्सकहरु बताउँछन्। मानिस छिनमै रिसाउने, छिनमै खुशी हुने र यस्तै बेला अप्रिय निर्णय गर्ने 'साइड इफेक्ट' पनि औषधिले गर्छ। त्यस्ता औषधिले डिप्रेसन  गराउने लगायत अन्य दीर्घरोग थप्ने सम्भावना बढी हुने मिर्गौला रोग विशेषज्ञ डा विमल पाण्डे बताउँछन्। भन्छन्, 'औषधिको साइडइफेक्ट धेरै भए पनि खानै पर्ने भएकाले नियमित चेकअप गरेर 'डोज' मिलाउनुपर्छ।'

डा दिव्या सिंहका अनुसार प्रधानमन्त्री ओलीको मिर्गौलाको अवस्था नर्मल भएकाले औषधिको 'डोज' अत्यन्तै कम छ। यसले धेरै साइडइफेक्ट नगर्ने उनी बताउँछिन्।

मिर्गौला प्रत्यारोपणपछि कति बाँच्छन् मानिसहरु?

प्रत्यारोपणपछिको लामो जीवनका लागि नियमित स्वास्थ्य परीक्षण र नियमित औषधि खानुको विकल्प छैन। चिकित्सकहरुका अनुसार प्रत्यारोपणपछि रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले मानिसको स्वास्थ्य सामान्य कारण पनि खतरामा पर्ने हुन्छ।

प्रत्यारोपणपछि मानिस कति बाँच्ने भन्ने कुरा मानिसको उमेर, औषधि, खानपान र प्रत्यारोपणमा भर पर्ने मिर्गौला रोग विशेषज्ञ पाण्डे बताउँछन्।

'नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएको लामो समय भएको छैन्। प्रत्यारोपण पछिको सर्भाइभल रेटको बारेमा अध्यन नै भएको छैन्',पाण्डेले भने, '२० वर्षसम्म बाँच्ने मान्छेहरु नेपालमै पनि छन्। प्रत्यारोपण गरेको ५ वर्षभित्रको सर्भाइभल रेट ९५ प्रतिशत भन्दा बढी छ।'

अंग प्रत्यारोपण नेटवर्कको अध्ययन अनुसार मानिस मर्नासाथ लिएको किड्नीबाट १ वर्षमा ४ प्रतिशत र ५ वर्षमा २१ प्रतिशत फेल हुने सम्भावना हुन्छ। त्यस्तै सकुशल मानिसबाट लिएको किड्नी फेल हुने सम्भावना १ वर्षमा ३ प्रतिशत र  ५ वर्षमा २१ प्रतिशत हुन्छ।

त्यस्तै बेलायतको किड्नी फाउन्डेसनले प्रत्यारोपणपछि लामो समय बाँच्न नसक्ने जनाएको छ। मरेको मानिसको मिर्गौला लिएको छ भने प्रत्यारोपणपछि सरदर १२ वर्ष र जिवित मानिसको मिर्गौला लिएको छ भने १५ वर्षको अनुपातमा बाँच्न सक्ने लेखेको छ। प्रत्यारोपण गरेको १० वर्ष पछि १० जना मध्ये ५ जनाको बाँच्ने सम्भावना ५० प्रतिशत भएको लेखेको छ। यसमा मानिसको उमेर, स्वास्थ्य अवस्था लगायतले फरक पार्ने उल्लेख छ।

अमेरिकामा प्रत्यारोपण पछिको सर्भाइभल रेट हेर्दा ८३ देखि ९४ प्रतिशत सम्म रहेको छ। यो प्रत्यारोपण पछिको सुरुवाती वर्षको तथ्यांक हो।

त्यस्तै मेडपेज टुडेले एक अध्यनलाई आधार मानेर लेखेको छ, ' सन १९८७ देखि २०१२ सम्म गरिएको अध्यनमा सुरुको १० वर्षमा ९० प्रतिशत सर्भाइभल रेट थियो। र, त्यसको अर्को १० वर्षमा सर्भाइभल रेट ४४ प्रतिशतमा घटेको थियो।'  अध्ययनहरुलाई आधार मान्ने हो भने प्रत्यारोपण पुरानो हुँदै गएपछि मानिस बाँच्ने सम्भावना पनि कम हुन्छ।
 
यो पनि पढ्नुहोस्

प्रम ओलीकी निजी चिकित्सक भन्छिन्, : 'डाक्टरलाई थाक्ने अधिकार हुँदैन'

 



के बाहिर चर्चा भए जस्तो प्रम ओली बिरामी भएका हुन्? यस्तो छ प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य स्थिति को लागी १ प्रतिक्रिया(हरु)

Niraj Khadka [ 2018-05-15 11:30:58 ]
Very harassing news to all the kidney patients. And revealing medical privacy is unethical as well. #PersonalViews

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट