PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संकटमा ट्रम्प–किम वार्ता, उत्तरले दियो अमेरिकालाई यस्तो चेतावनी



पहिलोपोस्ट

संकटमा ट्रम्प–किम वार्ता, उत्तरले दियो अमेरिकालाई यस्तो चेतावनी

काठमाडौं : उत्तर कोेरियाले अमेरिकासँगको शिखर वार्ता रद्द गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राज्य सञ्चालन आयोगका अध्यक्ष  तथा कोरियाली वर्कर पार्टीका अध्यक्ष किम जोङ उन जुन १२ मा सिङ्गापुरमा भेट्ने तय भएको छ। 

दुई देशबीच वार्ताको प्रकृया अगाडि बढ्ने तयारीसँगै उत्तर कोरियाले आणविक कार्यक्रम रोक्न सहमत भएको थियो। उत्तर कोरियाले अमेरिकाले पनि आफ्नो आणविक कार्यक्रम रोक्नुपर्ने र गतिरोध अन्त्यका लागि लिविया शैलीको एकतर्फी कुरा गर्न बन्द गर्न भनेको छ। 

उत्तर कोरियाका आणविक मध्यस्तकर्ता तथा हालका परराष्ट्र सहायकमन्त्री किम जाई गाओनले बुधवार यस्तो चेतावनी दिएको वासिङटन पोस्टले जनाएको छ। उसले दिएको यस्तो चेतावनी वार्तामा आफ्नो उपस्थिति दह्रो बनाउने गरी आएको समेत बताइएको छ। 

उत्तर कोरियाली परराष्ट्र सहायकमन्त्री किमले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले दिएको अभिव्यक्तिले अविश्वास पैदा गरेको समेत बताएको बीबीसीले जनाएको छ।

‘हामीले उनको अभिव्यक्तिप्रति हाम्रो असन्तुष्टिलाई लुकाउन सक्दैनौँ,’ उनले भनेका छन्।

साता अगाडि विभिन्न सञ्चार माध्यममा बोल्टनले दिएको अन्तरवार्तामा उनले उत्तरले निःशस्त्रीकरणका लागि लिवियाली शैली अपनाउने प्रतिक्रिया दिएका थिए। त्यसप्रति उत्तरले आफूलाई किनारा लगाउन खोजेको आरोप लगाएको छ।

किमले अमेरिकी राष्ट्रपति ट्रम्पलाई चेतावनी दिँदै भनेका छन्, ‘यदि उनले आफ्ना पूर्ववर्तीहरुकै अनुशरण गर्दै उत्तर कोरियासँग आणविक निःशस्त्रीकरण अगाडि सम्बन्ध बढाउन इन्कार गरे भने उनी इतिहासमै आफ्ना पूर्ववर्ती भन्दा असफल राष्ट्रपति हुने छन्।’ 

यसअघि उत्तर कोरियाले दक्षिण कोरियासँग तय भएको उच्चस्तरीय वार्तालाई रद्द समेत गरेको थियो। 

अमेरिका र दक्षिण कोरियाबीच जारी रहेको संयुक्त हवाई सैन्य ‘ड्रिल’ले यस क्षेत्रमा शान्ति भड्काउने आरोप उत्तर कोरियाले लगाएको छ। 

‘यदि ट्रम्प प्रशासनले यो सम्मेलनलाई सम्बन्ध सुधारका लागि इमान्दारितापूर्वक लिन्छ भने उसले हाम्रो कुरा पनि सुन्ने छ,’ गाओनले भनेका छन्, ‘यदि अमेरिकाले हामीलाई नै पर राखेर एकलौटी ढंगले हाम्रो आणिवक त्यागलाई अगाडि बढाउन चाहन्छ भने हामी त्यस्ता वार्ताप्रति इच्छुक छैनौं।’ 

दक्षिण कोरियाली सैनिकले अमेरिकी सैनिकसँग मिले मे ११ देखि हालसम्मकै ठूलो सैन्य ड्रिल गर्दै छ। ‘२०१८ म्याक्स थन्डर’ नाम दिएको संयुक्त हवाई ड्रिल, उत्तर कोरियाली सैन्य क्षमतालाई चुनौती दिँदै हवाई क्षेत्रमा उपस्थिति जनाउनका लागि गरिँदै छ। 

ड्रिलमा बी–५२ रणनैतिक आणविक बम्मर र एफ–२२ र्‍याप्टर सहितका १०० भन्दा बढी फाइटर विमानहरूले अभ्यास गर्नेछन्। यो ड्रिले मे २५ सम्म चल्ने छ। 

उत्तर कोरियाले ड्रिलले गत महिना भएको पानमुनजोमन घोषणाको उल्लंघन भएको आरोप लगाएको केसीएनए वाचले जनाएको छ। यसले सैन्य उक्साहट बढाउने र कोरियाली प्रायद्वीपमा भएको सहजतालाई समेत बिगार्ने उत्तर कोरियाले बताएको छ। 

यद्यपि, यस अगाडि अप्रिल २७ को पानमुनजोम घोषणाको अगाडि पनि दक्षिण र अमेरिकाले उत्तरलाई लक्षिण गर्दै यस्ता सैन्य अभ्यास गर्दै आएका थिए। 

‘यदि अमेरिका र दक्षिण कोरियाली अधिकारीहरू अन्तरकोरियाली सम्बन्ध र उत्तर कोरिया–अमेरिकाबीचको वार्तालाई अगाडि बढाउन चाहन्छन् भने यस्तो कदम गलत हुने,’ समाचारमा भनिएको छ। 

उत्तर कोरिया र अमेरिकाबीचको सम्मेलनलाई उपलब्धिपूर्ण बनाउन चाहन्छ भने अमेरिकाले उत्तर विरोधी यस्ता कार्यक्रमलाई अगाडि बढाउन दुई पटक गम्भीर ढंगले सोच्नुपर्ने उत्तर कोरियाली अधिकारीहरूले बताएका छन्। उनीहरूले अमेरिकी र दक्षिण कोरियाली गतिविधिलाई नजिकबाट नियालिरहेको समेत बताएका छन्। 

किन बदलियो उत्तरको टोन?
उत्तर कोरियाले आफ्नो सुरक्षाका लागि कैयौँ वर्ष आणविक हतियार निर्माणमा खर्च गरेको छ। उत्तरको निःशस्त्रीकरणलाई बोल्टनले भनेजस्तो लिविया र इराकमा अपनाइएको शैलीसँग दाँज्नु त्यति सहज छैन। 

बीबीसीका सोलस्थित सम्बादाताले लेखेका छन्, ‘यो ट्रम्प प्रशासनका लागि एक किसिमको चेतावनी पनि हो, उनीहरू यस बारेमा सचेत पनि हुने छन् कि ट्रम्पले यो उच्चस्तरीय वार्तालाई कसरी हेरेका छन् र कसरी यसलाई सफलतामा पुर्‍याउने छन्।’

यो कुराले प्योङयाङलाई चिड्याउनु जस्तै देखिन्छ। यद्यपि, उच्च अधिकारीसँग यस विषयमा छलफल समेत हुने बताइएको छ। 

विश्वले आफू एउटा शक्तिबाट छलफलको टेबलमा आएको बुझोस् भन्ने उत्तर कोरिया चाहन्छ। उनीहरूले छलफलका लागि सबै मिसाइल परीक्षण रोकेका छन्। तीन अमेरिकी बन्दीलाई रिहा गरेका छन्। किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपतिबीच सम्झौतामा हस्ताक्षर भएको छ। उनीहरू आणविक परीक्षण केन्द्रलाई समेत अन्तर्राष्ट्रि समुदायलाई साक्षी राखेर बन्द गर्दै छन्। 

यति हुँदा हुँदै पनि उत्तर कोरियाका नेता अमेरिकी राष्ट्रपतिसँग कमजोर नभई एउटा शक्ति सम्पन्न राष्ट्रको हैसियतमा वार्ता गर्न तयारी गरिरहेका छन्। त्यसतर्फ ट्रम्प प्रशासनले ध्यान दिनुपर्ने उत्तर कोरियाले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell