PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सेनाका खगेन्द्र भाटले जिते अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको उपाधि



रासस

सेनाका खगेन्द्र भाटले जिते अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको उपाधि

रसुवा : अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको तेस्रो संस्करणको उपाधि पुरुषतर्फ नेपाली सेनाका खगेन्द्र भाटले जितेका छन्।

शिवलाल गणका पिउठ भाटले ३ घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गर्दै प्रथम स्थान हासिल गरे। नारायण दल गणका अमल्दार भरत खत्री दोस्रो र सोही गणका सिपाही सुवास कार्कीले तेस्रो भए।

यसैगरी महिलातर्फ सोलुखुम्बुकी निरकला गुरुङ राईले ४ घण्टा ५७ मिनेट १३ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गरी प्रथम भइन्। सोलुखुम्बुकै पूर्णिमाया राई दोस्रो र सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरकी सरिता बासी तेस्रो भइन।

म्याराथनका विजेता पुरुष र महिला दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १ लाख ५ हजार, ७८ हजार ७५० र ५२ हजार ५०० सहित पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको सहआयोजक रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आयोजना तथा रसुवा– नुवाकोट पर्यटन समाजको सहआयोजनामा भएको उक्त प्रतियोगितामा ९० जना धावक सहभागी थिए। जसमा ३० महिला र पाँच (विदेशीसहित) ६० जना पुरुष रहेका छन्।

समुद्री सतहबाट तीन हजार ८७० मिटर उचाइको क्याङ्जिङ गुम्बाबाटशनिवार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले म्याराथनको उद्घाटन गरेका थिए। क्याङ्जिङ गुम्बादेखि शुरु भई घोडातबेला, शेर्पागाउँ, खन्जिम हुँदै स्याफ्रुबेँसीमा पुगेर टुङ्गिएको थियो।

पर्यटन तान्दै लाङटाङ म्याराथन

टानले २०७३ देखि लाङ्टाङको अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको आयोजना गर्दै आएको छ।

म्याराथनले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको लाङ्टाङ म्याराथनका संयोजक ऋतु ग्याम्दानले बताए। ‘दीर्घकालीन पर्यटनका लागि साहसिक खेल’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताले साहसिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको व्यवसायीको भनाइ छ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको पर्यटकीय क्षेत्र रसुवाको लाङ्टाङको पुनः निर्माणस्वरुप टानले प्रतियोगिता आयोजना गर्दै आएको छ।

सगरमाथा र अन्नपूर्णपछि महत्वपूर्ण पदयात्राको गन्तव्य लाङ्टाङमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुर्‍याउने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको टानका सञ्चार संयोजक गोपाल श्रेष्ठले जानकारी दिए।

सन् २०१७ मा आठ हजारभन्दा बढी पर्यटक लाङ्टाङ गएको टानले जनाएको छ। गन्तव्य पुग्ने बाटो तथा होटल बन्ने र थपिने क्रम रहेकाले अझै धेरै पर्यटकको पर्खाइमा लाङ्टाङ छ।

लाङ्टाङ क्षेत्रमा जान विगतमा भन्दा अहिले धेरै सहज भएकाले आन्तरिक पर्यटक पनि त्यसतर्फ आकर्षित हुन थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell