PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सीमामा 'इधरका उधर'मा सुपारीपछि हरियो केराउ



अनन्तराज न्यौपाने

सीमामा 'इधरका उधर'मा सुपारीपछि हरियो केराउ

विराटनगर : विराटनगरका केही व्यापारी नेपाल भारतबीचको भन्सार फरकमा हुने फाइदामै खेल्ने गर्छन्।

भारतमा भन्दा नेपालमा भन्सार सस्तो रहेको थाहा पाउनेबित्तिकै व्यापारीले तेस्रो मुलुकबाट सामान आयात गर्छन् र अवैध रुपमा निकासीको खेल सुरु हुन्छ। कतिपय व्यापारीको काम भनेको सामान ‘इधरका उधर’ मात्रै हो। केही वर्षअघि सुपारीबाट कुस्त नाफा कमाएका व्यापारी सुकमेल र मरिच हुँदै अहिले भने हरियो केराउ र दालमा लागेका छन्।

भारतमा हरियो केराउ र दालको माग बढेपछि दुई वर्षयता पैठारीकर्ताले कारोबार तीव्र बनाएका हुन्। विराटनगरको बजारमा खुद्रा मूल्यमा रहर दाल प्रति किलो ८५ देखि ९५ रुपैयाँ पर्छ। यही दाल सीमा पारीको भारतीय जोगबनी बजारमा प्रति किलो १ सय १० देखि २० मा बिक्री भइरहेको छ। त्यसैगरी हरियो केराउको मूल्य विराटनगरको खुद्रा बजारमा प्रति किलो ६० देखि ७० र जोगबनीमा ८० देखि ९० रुपैयाँ छ।

हरियो केराउ क्यानाडाबाट पैठारी गरिन्छ। त्यस्तै रहर दाल दक्षिण अफ्रिका, बर्मा र तान्जानियाबाट आयात गरिन्छ। नेपालमा यसअघि भारतबाट दालको पैठारी गरिन्थ्यो। दुई वर्षयता तेस्रो मुलुकबाट आउन थालेको छ। विराटनगरमा अविनाश बोहरा, नन्दकिशोर राठी, हेमकरण दुगड, नरेश दुगड, शङ्करलाल अग्रवाल, विजय अग्रवाल, खेमचन्द जैन, रतन अग्रवाल, दिनेश राठी, श्रवण अग्रवाल, जीवन रिजाल लगायतका व्यवसायीले हरियो केराउ र रहर दालको पैठारी गरेका छन्।

खाद्य पदार्थमा परेका कारण गेडागुडी र दालको भन्सार महसुल पनि सस्तो छ। भन्सार कार्यालयका अनुसार भारतबाट पैठारी गरिएको दाल हो भने कृषि सेवा शुल्क ८ प्रतिशत तिरे पुग्छ।  तेस्रो मुलुकबाट आयातीतमा भने भन्सार महसुल १० प्रतिशत बुझाउनुपर्छ। गेडागुडी र दालको पैठारीमा भ्याट लाग्दैन।

तराई क्षेत्रका सबैजसो सीमा नाकाबाट हरियो केराउ र दालको भारततर्फ अवैध निकासी हुने गरेको छ। नाफा कम भएको वस्तु भएकाले यसको संस्थागत तस्करी नभएको स्रोतको दाबी छ। तर, श्रमिक–मजदुर वर्गका निम्न आर्थिक स्थिति भएका घर परिवारको आयस्रोत भने दुई वर्षयता ‘दाल, मटरका इधरउधर’ मै अडिएको छ।

नेपालबाट अवैध निकासी भई भारत पुग्ने मुख्य वस्तु कुनै बेला सुपारी थियो। सुपारीको पैठारीमा सरकारले महँगो शुल्क लिन थालेपछि भारतमा भन्दा नेपालमै महँगो पर्न थाल्यो। फलतः सुपारीको ‘इधरउधर धन्धा’ अहिले शून्यप्रायः छ। सुपारीपछि सुकुमेलको ‘वारपार धन्दा’ निकै फस्टायो। सुकुमेल भारतमै सस्तिएपछि यसको कानुनी पैठारी गरेर गैरकानुनी निकासी गर्ने क्रमको पनि अन्त्य भयो।

सुकुमेलपछि मरिच पैठारी गरेर भारत पठाउन थालियो। तर, मूल्य खस्किएका कारण मरिचको धन्दा पनि मन्द भएको छ। सुपारी, सुकुमेल र मरिचको कारोबारमा सुस्तता देखिए पनि हरियो केराउ र दालको कारोबार भने स्थिर रहेको व्यापारिक स्रोतको भनाइ छ। विराटनगरका एक मुख्य पैठारीकर्ता खेमचन्द जैनले आफूले पनि हरियो मटर, चना, बोडी र रहर दालको आयात गरेको स्वीकार गरे।

हरियो मटर र रहर दाल भारत जाने हुँदा यसबाट केही राहत मिले पनि चना र बोडीमा भने घाटा खानु परेको उनको भनाइ थियो। आयातकर्ता ठूला व्यापारीसित ससानो परिमाणमा खरिद गरेर सीमा क्षेत्रका व्यवसायीले तस्करीको लाइन चलाउने गरेका छन्। यस लाइनलाई दुवै तर्फका प्रहरीको अर्थपूर्ण समर्थन हुने गर्दछ। मोरङमा डाइनियाँ, रङ्गेली, मायागञ्ज, खैरबना, नोचा, मटेहरुवा र दरैया तस्करीका मुख्य नाका मानिन्छन्। त्यस्तै सुनसरीका साहेबगञ्ज, घुस्की, कप्तानगञ्ज र अमडुवा नाका पनि चर्चित छन्।
 

आयात बढ्यो अचाक्ली

समुद्रपारबाट नेपाल आएर अनधिकृत रूपमा भारत जान थालेपछि हरियो केराउ र रहर दालको पैठारीमा अचाक्ली वृद्धि भएको छ।

भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/७३ मा हरियो मटरको पैठारी ४४ करोड ६० लाख मूल्यको ८ हजार टन गरिएको थियो। यसबाट ४ करोड राजस्व सङ्कलन भएको थियो। आर्थिक वर्ष २०७३/७४ मा आइपुग्दा यसको पैठारी बढेर ५७ करोड २८ लाख मूल्यको १० हजार ८ सय १० मेट्रिक टन भयो। कार्यालयले यसबाट ५ करोड ६६ लाख राजस्व सङ्कलन गर्यो।

चालु आर्थिक वर्षको वैशाख मसान्त सम्ममा हरियो केराउको पैठारीले गत आर्थिक वर्षको तथ्याङ्कलाई पनि उछिनेको छ। वैशाख सम्ममा यसको पैठारी ७२ करोड मूल्यको ११ हजार ८ सय ८४ मेट्रिक टन गरिएको छ। यसबाट ७ करोड २२ लाख राजस्व सङ्कलन भएको छ। रहर दाल भने अघिल्ला दुई आर्थिक वर्षभन्दा चालु आवमा कम पैठारी भएको तथ्याङ्क छ। आव २०७२–७३ मा २ सय ३३ र ०७३–७४ मा १ सय ५४ मेट्रिक टन पैठारी गरिएको रहर दाल चालु आवको वैशाख मसान्त सम्ममा ४० मेट्रिक टन मात्र पैठारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell