PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अस्पतालको शैयामै राष्ट्रकविले गुन्गुनाए यस्तो कविता



पहिलोपोस्ट

अस्पतालको शैयामै राष्ट्रकविले गुन्गुनाए यस्तो कविता

काठमाडौं : गत शुक्रवार ग्रान्डी अस्पतालको बेडमा राष्ट्रकवि माधव प्रसाद घिमिरेले कामेका स्वरले गुन्गुनाए- 

म पुत्र तिम्रो तिमी धर्ती माता
अटुट माटो मुटुको छ नाता

१५ दिनदेखि अस्वस्थ राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार आइरहेको डाक्टरहरुले बताउँदै गर्दा ९९ वर्षका राष्ट्रकवि यसरी गुनगुनाइरहेका थिए। 

राष्ट्र कविलाई दिसामा रगत जाने समस्या देखिएपछि ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा नर्सहरुले उनलाई स्याहारिरहेका छन्। नातिनातिना उमेरका कलिला नर्सहरुको मायालु ब्यवहारबाट निकै खुशी भएका राष्ट्रकविले नर्सहरुलाई यसरी माया पोखे।   

तिर्खा कि पानी 
चैतकी कि रानी ।।
 कि पानी मीठो उवाइ खाको हरियो पातले
 कि पानी मीठो सारेर खाको कलिलो हातले ।।

उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विवेक शर्मा, डा अखिलेश कश्यप, ओम मूर्ति अनिल लगायतका डाक्टरहरुको टोली संलग्न रहेको अस्पतालले जनाएको छ। 

उमेरले पनि शारीरिक समस्या देखिने गरेकाले राष्ट्रकवि चिकित्सकसँग नियमित परामर्शमा छन्। अचानक दिसाबाट रगत जान थालेपछि भने उनलाई ग्राण्डीमा भर्ना गरिएको हो।

हाल राष्ट्रकविको स्वास्थ्यमा धेरै सुधार आइसकेको अस्पतालले जनाएको छ। दालभात, सुप, नरम खानेकुराहरु सामान्य रुपमै खाइरहेका राष्ट्रकविको स्वास्थ्य गम्भीर नरहेको अस्पतालका मिडिया कोअर्डिनेटर विनोद अधिकारीले जानकारी दिए। ‘सामान्य स्वास्थ्य समस्या हो। डाक्टरहरुको टोलीले उपचार गरिरहनुभएको छ। बाहिर हल्ला चलेजस्तो कुनै जटिल अवस्था होइन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell