काठमाडौं : चर्चित ३३ किलो सुन तस्कर प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ परेका छन्।
गृह मन्त्रालयले गठन गरेको छानविन समितिका एक सदस्यले गोरे पक्राउ परेको जनकारी दिए। यसैबारे गृहले औपचारिक पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ।
विमानस्थलबाट बाहिरिएको सुन बीचमै तस्करबीचबाटै गायव भएपछि प्रकरण सतहमा आएको थियो। शनम शाक्यको हत्या र अन्य दुईको ‘आत्महत्या’का कारण यो प्रकरण चर्चित बनेको छ। यो प्रकरणमा अहिलेसम्म ३२ जना समातिएका छन्।
को हुन् गोरे ?
उर्लाबारी नगरपालिका वडा नं. ७ पशुपति टोल स्थायी घर भएका गोरे स्थानीय तहका फुटबल खेलाडीसमेत हुन्। उनी मोरङ–११ फुटबल टिमका राम्रा खेलाडीमध्ये एक हुन्। तीन महिनाअघि उर्लाबारीमा भएको मेयर कप फुटबलमा उनी पनि एक मुख्य खेलाडी थिए। त्यस बखतसम्म उनी सुनको अवैध धन्धा चलाउँछन् भन्ने कसैले शङ्का गरेका थिएनन्।रूपेशका बाबु पूर्व प्रहरी र असईबाट सेवामुक्त भएका व्यक्ति हुन्। भारतीय आर्मीमा जागिरे जीवनबाट आफ्नो कामकाज सुरु गरेका गोरे त्यहाँ धेरै समय टिक्न सकेनन्। आर्मीमा लागेको एक वर्षपछि नै उनी जागिरबाट भागे र खाडी राष्ट्र कुवेत पुगे। कुवेतमा आबुधाबी प्रहरीमा पनि जागिर खाए तर त्यहाँ पनि धेरै टिक्न सकेनन् र ‘निजी काम’ गर्छु भन्दै हिँड्न थाले।
यही ‘निजी काम’पछि उनले एकाएक आफ्नो जीवनस्तर उकासेका हुन्। यसपछि उनी कुनै सम्भ्रान्त झैँ देखिन थालेका थिए।
सुन तस्करीको धन्दाको सुरुवात दुबईबाट
पाँच वर्ष दुबईमा रहँदा रूपेशले त्यहीँबाट सुन पठाउने र हुन्डी कारोबार गर्ने अवैध धन्दालाई माथि पुराइसकेका थिए। त्यसपछि नेपाल फर्किएका उनी दुबई, सिङ्गापुर लगायतका मुलुकबाट पठाइएको सुन नेपालका विभिन्न ठाउँमा आपूर्ति गर्ने कार्यमा सक्रिय भए।‘पहिले दुबईमै बसेर सुन पठाउने काम गर्ने गरेको पाइयो,’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने, ‘पछि चूडामणि आफैँ नेपाल फर्किएर कारोबारी भएर सुन तस्करी गर्न थालेको पत्ता लाग्यो।’
‘उनी पूर्वमा रहँदा स्थानीय रिक्सा चालकलाई लिएर विभिन्न स्थानमा माछा मार्न लिएर जान्थे’, उर्लाबारीका एक स्थानीय युवकले बताए, ‘रिक्सा चालकलाई दैनिक एक हजार रुपैयाँ दिएर माछा मार्न लगाउँथे। इलाम, झापा, मोरङका विभिन्न खोलामा उनले माछा मार्न लगाएका छन्। एक किलो माछा मार्दा पनि एक हजार, माछै नमार्दा पनि एक हजार दिन्थे रे।’
ती युवाको भनाइ थियो, ‘हेर्दा विदेशीजस्तै देखिन्थे। रिसाहा स्वभावका थिए। सँगैको साथीसित चित्त बुझेन भने पिट्न पनि बेर लाउँदैनथे।’
‘गोजीमा एक सय रुपैयाँभन्दा कहिल्यै हुँदैनथ्यो’, उर्लाबारीका एक स्थानीय युवकले भने, ‘कसैलाई रकम दिनुपर्यो भने नजिकका साथीभाइसित सापटी लिएको बहाना गरेर माग्थे तर भोलिपल्टै फर्काइहाल्थे।’