काठमाडौँः जिल्ला अदालत काठमाडौँले गत माघ ७ गते दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा एक युवतीको सामूहिक बलात्कार गरेको घटनाका मुख्य अभियुक्त शैलेस कार्कीलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ। अदालतले सोमबार कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। आदेश अनुसार कार्कीले अब मुद्दाको बाँकी कारबाहीमा थुनामै रहेर सहभागी हुनुपर्नेछ।
अदालतको आदेश अनुसार कार्कीलाई सोमबार नै थुनामा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। कार्कीलाई सेन्टर जेल सुन्धरा लगिएको हो।
तीन महिना लामो अनुसन्धानपछि प्रहरीले वैशाख ३१ गते प्रतिवेदनसहितको मिसिल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको थियो।
प्रहरीले घटनामा संलग्न मुख्य आरोपी शैलेस कार्कीसहित ४ जनालाई प्रतिवादी बनाएको छ। बलात्कार घटनाका मुख्य योजनाकार कार्कीलाई प्रहरीले गएको चैत ६ गते काठमाडौँको दरवारमार्गबाट पक्राउ गरेको थियो। अन्य तीन फरार छन्।
डियुजन नोटिस जारी
मुख्य योजनाकार कार्की थुनामा रहे पनि मुद्दामा अन्य प्रतिवादीलाई फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता गरिएको थियो। विकास गौतम, रवि पौडेल र दीपक श्रेष्ठलाई फरार प्रतिवादी बनाइएको हो। उनीहरू विरुद्ध डियुजन नोटिस जारी गरिएको छ।बलात्कारको घटना आर्थिक लेनदेनमा मिलाइएको भन्दै सुरुमा प्रहरी अधिकारी पनि मुछिएका थिए। घटना लुकाएर मिल्न दबाब दिएको रहस्य खुलेपछि इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीलाई नियन्त्रणमा लिइएको थियो। दरबारमार्ग वृत्तका प्रमुख डिएसपी तिलक भारतीलाई अनुसन्धानका लागि काठमाडौँ परिसर तानिएको थियो। त्यसै गरी अभियुक्तलाई भगाएको आरोपमा सई चन्द भण्डारीलाई निलन्बन गरिएको थियो।
तर, अन्तिम समयमा प्रहरी अधिकारीलाई विभागीय कारबाहीमा नै सीमित गरिएको थियो।
घटनापछि प्रहरीले अनुसन्धान गर्ने दुई छुट्टाछुट्टै छानबिन टोली बनाएको थियो। टोलीले प्रहरी पनि दोषी रहेको प्रतिवेदन दिएको थियो।