PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

तस्करीको जालो : गोरे गए काले, काले गए गोरे



सविन ढकाल

तस्करीको जालो : गोरे गए काले, काले गए गोरे

काठमाडौं : ‘काले गए गोरे आउँछ।’ 

नेपाली समाजमा प्रचलित उखान हो यो। मुहारको रङले गोरा तथा अपराधका काला चुडामणि उप्रेती लगभग सुन तस्करी समूहबाट केही समय टाढा हुने निश्चित छ।

३३ किलो सुन काण्डमा सरकारले गठन गरेको विशेष छानबिन समितिले नेपालमा भएका सबैखाले सुन तस्करीमा गोरेलाई मुख्य अभियुक्त ठहराएको छ। तर, गोरे भने आफूलाई भरिया मात्र दाबी गरिरहेका छन्। उनले समितिको बयानमा नै भनेका छन् –‘म त भरिया मात्र हुँ। म भन्दा माथि अरू नै छन्।’ 

उनी भरियामात्र हुन् भने निश्चित छ -  मुख्य तस्करका लागि माथिको उखान सार्थक हुने छ - काला गए गोरा आउँछन्, गोरा गए काला।

छानबिन समितिको अनुसन्धान गोरेमा नै गएर टुङ्गिने त होइन? त्यसो भयो भने यो प्रकरणका अरु प्लटहरु अज्ञात नै हुनेछ। तस्करले फेरि अर्को गोरे, काले, च्यान्टे, भुन्टे जन्माउने नै छ।

गोरेको बयान आधारमात्र होइन उनका अन्य हर्कत र व्यवहार केलाउँदा तस्करी समूहका ‘म्यानेजर’ भन्दा माथिका लाग्दैनन्। सनम हत्याकाण्डका मुख्य अभियुक्त गोरे हुन सक्छन् तर सुन तस्करीका मुख्य अभियुक्त भने हुन नसक्ने सम्भावना उत्तिकै रहेको बताउँछन् पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी।

गोरेले समितिको बयानमा राजनीतिक दलका नेतालाई नाम ‘पोलेका’ छन्। समितिले पोलेका ती नेतालाई अनुसन्धानको घेरामा ल्याउन समितिले खुट्टा टेक्न सक्छ या सक्दैन, अनुसन्धानको प्रभावकारिता त्यही देखिनेछ।  

अहिलेसम्म यति भन्न सकिन्छ कि - समितिले गरेको अनुसन्धानमा खोट लगाउने ठाउँ छाडेको छैन। मल्ल भन्छन्, ‘अहिलेसम्मको अवस्था हेर्दा समिति पहिलो पटक सुन तस्करीको धेरै नजिकसम्म पुगेको हो। गोरेभन्दा माथिको नेक्सस पत्ता लगाउनु चाहिँ चुनौतीकै विषय हुनसक्छ।’

सङ्गठित अपराध भएकाले अपराधीहरूले एक व्यक्ति समातिए अर्को विकल्प खोजिरहेका हुन्छन्। सरकारले सङ्गठित अपराधलाई नियन्त्रण गर्ने सक्छ तर निर्मुल गर्न कठिन हुने मल्लको बुझाई छ।

‘गोरे समातिए भन्दैमा सुन तस्करी बिल्कुलै रोकिँदैन। अर्को समूह वा व्यक्तिले गोरेको ठाउँ लिएर काम गर्ने सुरु गर्छ। माथिल्लो निकायसम्म पुग्न सकिए केही हदसम्म तस्करीमा कमी आउने हो,’ उनले भने।

गोरेलाई पक्राउ गरे पनि अनुसन्धान नरोकिएको समितिका संयोजक ईश्वरीराज पौडेललेको दाबी छ। समितिले पहिलो चरणको समय सकिएपछि थप समय मागेर अनुसन्धान गरिरहेको उनले बताए। 

संयोजक पौडेलले भने, ‘गोरेभन्दा माथि पनि कोही देखिए हामी अनुसन्धानको दायरमा ल्याउँछौं। समितिले खुट्टा कमाउँदैन।’

यति चाहिँ पक्का हो, तस्करीको सुत्रधारसम्म पुग्न नसक्ने हो भने गोरेहरु प्यादामात्र बनिरहन्छन्। र, काले गए गोरे र गोरे गए कालेहरु जन्मिरहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell