PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मूल्यवृद्धिको प्रश्न उठाउने सांसदलाई प्रधानमन्त्रीको जवाफ : म सानो छँदा पचास पैसा माना घिउ थियो, ९० रुपैयाँ तोला सुन



पहिलोपोस्ट

मूल्यवृद्धिको प्रश्न उठाउने सांसदलाई प्रधानमन्त्रीको जवाफ : म सानो छँदा पचास पैसा माना घिउ थियो, ९० रुपैयाँ तोला सुन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मूल्यवृद्धि नियमित र प्रक्रियागत भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा यस्तो टिप्पणी गरेका हुन्।
 
जेठ ७ गते प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा जवाफ दिएका थिए। प्रधानमन्त्रीको जवाफमा चित्त नबुझेपछि सांसदले पुन: उनीसँग स्पष्टिकरण माग गरे।
 
सभामुखले सुरुमै रुपन्देही ५ बाट निर्वाचित कांग्रेस सांसद भरतकुमार शाहलाई १ मिनेटको समय उपलब्ध गराए।
 
सांसद शाहले मुल्यवृद्धिको कुरा उठाउँदै तीन महिनामा दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि भएको भन्दै त्यसमा स्पष्टिकरण माग गरे। उनले भने, ‘१०० दिन पहिले पेट्रोलको दाम ९० रुपैयाँ थियो। अहिले १०८ रुपैयाँ छ, डिजेलको ८५ रुपैयाँ थियो अहिले ९२ रुपैयाँ छ। १२ रुपैयाँको इटाको मूल्य १५ रुपैयाँ छ। १०० दिन पहिले सिमेन्टको बोराको दाम ७५० रुपैयाँ थियो आज एक हजार पचास रुपैयाँ छ .... (माइक काटियो)।’
 
सांसद सञ्जय कुमार गौतमले समेत पेट्रोलियम पदार्थको मूल्य आकाशिएको भन्दै त्यसपतर्फ सरकारको दृष्टिकोण माग गरे।
 
यी सांसदले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले हल्का रुपमा टिप्पणी गरे। ‘केही केही आइटममा मूल्यवृद्धि भएको कुरा भन्नुभयो। उहिल्यै म सानो हुँदाखेरी ५० पैसा माना घिउ थियो। ९० रुपैयाँ तोला सुन थियो,’ उनले अगाडि भने, ‘अहिले त्यो भाउ त धेरै बढिसक्यो सभामुख महोदय, यो तीन महिनाको मात्र हिसाब गर्नुभएछ साथीहरुले।’ 

‘कहिलेकाँही के हुन्छ भने बाटोमा पहिरो गयो भने टमाटरको भाउ बढ्छ। कथमकदाचित बाटोमा पहिरो गयो भने सरकारले भाउ बढायो भनेर हान्ने ठाउँ भेटियो भने जस्तो त्यो त्यति अर्थपूर्ण मलाई लाग्दैन,’ मूल्यवृद्धि स्वभाविक प्रक्रिया समेत रहेको भन्दै उनले थपे, ‘तर, अनुचित ढंगले, अनुचित मात्रमा शोषणकारी ढंगले केही मानिसले लाभ लिने ढंगले कृत्रिम अभाव खडा गरेर मूल्यवृद्धि गर्ने, यस तर्फ सरकारले ध्यान दिन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell