काठमाडौं : रोहित कुमार पौडेल र पृथु बास्कोटाको अर्धशतक मद्दतमा एपीएफले प्रदेश ४ लाई पराजित गर्दै पिएम कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ।
समूह ए अन्तर्गत आइतवार भएको उद्घाटन खेलमा एपीएफले प्रदेश ४ लाई ५ विकेटले पराजित गर्यो। एपीएफको जितमा युवा स्टार रोहितले नटआउट रहदै सर्वाधिक ७३ रन बनाए।
रोहितको शानदार ब्याटिङ मद्दतमा एपीएफले २४० रनको लक्ष्य ३६.३ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो।
सिनियर राष्ट्रिय टिमका कान्छा खेलाडी समेत बनेका रोहितले ४१ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गरे। उनले दुईले पाँचौ विकेटका लागि पृथु बास्कोटासँग ११० रनको साझेदारी गरे।
पृथुले ५३ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा ५३ रन नै बनाए।
यस्तै ओपनर सुवास खकुरेल र प्रदिप ऐरीले पनि एकदिवसीय खेलमा पुनरागमनको आश देखाएका छन्। सुवासले ४८ रन बनाए भने प्रदिपले ३७ रन जोडे।
अर्का ओपनर आसिफ शेख (५) र अनिल कुमार शाह (१) लाई गुमाएपछि सुवास प्रदिपले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै एपीएफको इनिङ्सलाई अगाडी बढाएका थिए।
कीर्तिपुरस्थित टीयू ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले निर्धारित ५०० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो। प्रदेश ४ का लागि छैटौँ नम्बरमा ब्याटिङ गरेका हरी चौहानले सर्वाधिक ५७ रन बनाए।
२७.१ ओभरमा ९२-५ को स्थितमा रहेको प्रदेश ४ को इनिङ्सलाई चौहानले एक छेउबाट अगाडी बडाउँदा उनलाई अनिल गुरुङ र विपिन खत्रीले साथ दिएका थिए। विपिनले ११ बलमा २७ तथा अनिले २१ रन जोडे। यस्तै कप्तान विधान गुरुङले ४३ रन बनाए। प्रदेश ४ ले ३८ रन अतिरिक्त पाएको थियो।
बलिङमा एपीएफका कमल सिह ऐरीले ९ ओभरमा १ मेडन राख्दै ४२ रन खर्चेर ३ विकेट लिए। अमर सिंह राउटेलाले २ विकेट झारे।