PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

भिम गुरुङले जिते एभरेष्ट म्याराथनको उपाधि



पहिलोपोस्ट

भिम गुरुङले जिते एभरेष्ट म्याराथनको उपाधि
फोटो : एभरेष्टम्याराथन डट कम

काठमाडौं : भिम बहादुर गुरुङले १५औँ तेन्जिङ-हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन्।

पहिलो पटक सगरमाथाको सफल आरोहण भएको अवसर पारेर मंगलवार एभरेष्ट बेसक्याम्पबाट नाम्चेसम्म भएको फुल म्याराथन भिमले ४ घण्टा २ मिनेट ३० सेकेण्डमा पुरा गरे।

गत वर्षको विजेता सुमन कुलुङ ४ घण्टा ६ मिनेट १० सेकेण्डमा म्याराथन पुरा गर्दै दोस्रो भए। बेद बहादुर सुनार ४ घण्टा २८ मिनेट ३५ सेकेण्डमा निर्धारित दूरी पुरा गर्दै तेस्रो भए। बेद गत वर्ष पनि तेस्रो नै भएका थिए।  

फुल म्याराथनको खुल्ला स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश नगद २ लाख, १ लाख र ७५ हजार पुरस्कार प्राप्त गरे।

महिलातर्फ गत वर्षको विजेता निरकला राईलाई पछि पार्दै गत वर्ष दोस्रो भएकी पूर्णिमा राई पहिलो भइन्। पूर्णिमा पहिलो (५ घण्टा २० मिनेट ५६ सेकेण्ड), निरकला राई दोस्रो (५ घण्टा २७ मिनेट ३२ सेकेण्ड) तथा पदक कुमारी राई तेस्रो (५ घण्टा ५२ मिनेट २१ सेकेण्ड) भए।

यस्तै ६० किलोमिटर अल्ट्रा दौडको उपाधि तिर्थ गुरुङ जिते। उनले निर्धारित दूरी ६ घण्टा ५६ मिनेट १३ सेकेण्डमा पूरा गरे। किरण कुलुङ दोस्रो (७ घण्टा ४१ मिनेट ०८ सेकेण्ड) तथा मोहन देव जोशी तेस्रो (८ घण्टा ३४ मिनेट ३१ सेकेण्ड) भए।

महिलातर्फको म्याराथन र अल्ट्रा दोडतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: १ लाख, ७५ हजार र ५० हजार पुरस्कार हात पारे।

यसैगरी फुल म्याराथनको विदेशी विधातर्फ मानुएल सेयर पहिलो (५ घण्टा ५९ मिनेट २९ सेकेण्ड), जोनाथन बामर दोस्रो (६ घण्टा १३ मिनेट ०६ सेकेण्ड) तथा जोसुअ ब्लाइलेभन तेस्रो (६ घण्टा ३० मिनेट ३८ सेकेण्ड) भए। २१ किमीको हाफ म्याराथनमा न्यूजिल्याण्डका जेडेन क्लिनिक पहिलो (२ घण्टा ५९ मिनेट ३५ सेकेण्ड), दक्षिण कोरियाका डोङ वुक क्वन दोस्रो (३ घण्टा १९ मिनेट ४५ सेकेण्ड) तथा भारतका दिपेश शभारवाल तेस्रो (३ घण्टा ३७ मिनेट ३२ सेकेण्ड)भए।

फुल म्याथनको विदेशीतर्फ तथा हाफ म्याराथनको पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ५० हजार, ३५ हजार र २५ हजार प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell