PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

यो कस्तो समाजवाद, धनीलाई कर माफ गरीबलाई चाहिँ कर? : कांग्रेस सांसद शाह



पहिलोपोस्ट

यो कस्तो समाजवाद, धनीलाई कर माफ गरीबलाई चाहिँ कर? : कांग्रेस सांसद शाह

काठमाडौं : नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले बजेट बाँडफाँड संघीयता विरोधी भएको आरोप लगाएका छन्।
 
‘बजेट बाँडफाँड संघीयता विरोधी छ। यसले संघीयताको मुल मर्मलाई बोकेको छैन्,’ प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्दै सांसद शाहले भने, ‘३३ प्रतिशत मात्रै प्रदेश र स्थानीय तहलाई दिइएको छ। र, सम्पूर्ण रकम केन्द्रमा राखिएको छ। भारतमै हेर्ने हो भने पनि ६८ बजेट स्थानीय तह र प्रदेशलाई दिइन्छ। ३२ प्रतिशत मात्र केन्द्रले राख्छ। त्यसकारण यस किसिमको केन्द्रीकृत मानसिकताबाट संघीयता फस्टाउँदैन।’
 
उनले कर बढाइएको विषयमा समेत सरकारको विरोध गरे।

‘ट्याक्स बढाउनु हुँदैन्। ट्याक्स बढाइएको छ। त्यो पनि प्रत्यक्ष कर,’ उनले भने, ‘सरकार व्यापारिको स्लिपिङ पार्टनर हो। उसले पैसा पनि लगाउँदैन। काम पनि गर्दैन, रिक्स पनि लिँदैन। खाली मुनाफा मात्रै लिने हो। स्लिपिङ पार्टनरले अत्याधिक मुनाफा खोजेपछि त्यो पार्टनरसीप चल्दैन।’ यसले पुँजी पलायन हुने समेत उनको दाबी थियो।
 
उनले समाजवादी भनिएको बजेट गरीब किसान वर्गको ‘खिलाप’ रहेको बताए। ‘लाभकरकै कुरा गरौँ। जग्गामा पहिले ३० लाख सम्म लाभकर तिर्नुपर्दैनथ्यो। अहिले १० लाखसम्म तिर्न पर्ने भयो,’ उनले भने, ‘एउटा गाँउको किसानले गाँउको घर बेचेर एक ठाँउबाट अर्को ठाँउमा जाँदै गर्दा ढाइ प्रतिशतसम्म कर तिनुपर्ने भयो नि त अब। यो कस्तो समाजवाद हो तल्लो तहलाई पेल्ने?’

उनले निजी विद्यालयमा लगाएको कर हटाएकोमा समेत विरोध गरे। ‘अहिले सबैलाई थाहा छ सबैभन्दा बढी कमाउने भनेका बोर्डिङ स्कुल हुन्। ट्याक्स कसले तिर्ने हो?,’ उनले प्रश्न गरे, ‘हुनेले तिर्ने हो। कमाउनेले तिर्ने हो। नकमाउनेले कसरी तिर्ने? कमाउनलेलाई कर माफ, स्वास्थ्यलाई माफ, शिक्षालाई माफ। एक प्रतिशत कर थियो। करको दायरामा आउन भनेर राखिएको थियो। त्यसलाई हटाइएको छ।’ उनले विदेश पढ्न जाने विद्यार्थीमाथि २ प्रतिशत सटही कर लगाइएको भन्दै विरोध गरे।
 
उनले स्वास्थ्य कर हटाएको समेत विरोध गरे। महँगा अस्पतालबाट उठाइएको करण गाँउका स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।
 
बजेटमा लिइएको कर नीति किसान मारा भएको समेत उनले आरोप लगाए।    

पूर्वाधारका ठूला-ठूला कुरा गरिएको भन्दै यसले गरिबलाई नछुने उनको भनाइ थियो। ‘पानी जहाजको कुरा गरिएको छ। फास्ट ट्र्याकको कुरा गरिएको छ। यी कुरा गरिबलाई मतलव हुँदैन,’ उनले भने, ‘गरिबलाई समेट्ने योजना पनि आउनुपर्छ। भारतमा मोदीको बुलेट ट्रेनको विरोध किन भइरहेको छ? त्यहाँका गरीबले हामी बुलेट चढ्न सक्दैनौँ। हाम्रा जमिन बचाइयोस् हामी पुरानै रेल चढ्छौँ भनिरहेका छन्।’

उनले ठूलाठूला योजनाले मात्र देश विकास नहुने भन्दै साना गरिब किसानलाई समेट्ने बजेट ल्याउनुपर्ने बताए।
 
रुपन्देहीको क्षेत्र नं. ५ बाट निर्वाचित सांसद शाहले लुम्बिनीमा सिलान्यास भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको नाम बजेटमा नपरेको भन्दै विरोध गरे। ‘हिजो प्रधानमन्त्रीको उपस्थितिमा लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शिलान्यास गर्नुभयो,’ उनले भने, ‘आज बजेटमा त्यसको नामसम्म छैन। किन राष्ट्रपतिलाई विवादमा ल्याउने?’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell