काठमाडौं : मलेसिया पठाउने नाममा म्यानपावर व्यवसायीहरुले सिन्डिकेट कायम गरेर लुट गरेको थाहा पाएपछि श्रममन्त्री गोकर्ण विष्टले एक्सन लिए।
मन्त्री विष्टको एक्सनमा प्रहरीले पनि साथ दियो। एकै दिनमा ठगी गर्ने ४० जना भन्दा बढी पक्राउ परे। नेताको ‘तथास्तु’ भएका केही ‘भिआइपी ठग’ प्रहरीको हात नै लागेनन्। तर, पक्राउ परेका अन्य पनि राजनीतिक चलखेलका कारण अनुसन्धान नसकिदै छुट्न थालेका छन्।
मलेसियामा जाने कामदारसँग गैर कानुनी रुपमा रकम ठगी गरेको अभियोगमा पक्राउ परेका मेरिडियन मेडिकलका सञ्चालक देवान राई धरौटी बुझाएर छुटेका छन्।
जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा ५० लाख रुपैयाँ बुझाएर बिहीवार उनी रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए।
जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो। भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ सहित प्रहरीले ४० जनालाई पक्राउ गरेको थियो। बायोमेट्रिक मेडिकलको डाटा राख्दै आएको कम्पनीले दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको भन्दै प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
पूर्व एमालेका स्वास्थ्य विभागका सदस्य समेत रहेका राईले आफू राष्ट्रपति विद्या भण्डारीका खास मान्छे भएको भन्दै छोड्न प्रहरीमा दवाव दिएका थिए। पक्राउ परेलगतै राईले थुनामा नबसी नर्भिक अस्पतालको क्याविन रोजेका थिए, विरामीको निहूँमा। उनी राष्ट्रपति भण्डारी संरक्षक रहेको रामप्रसाद राई प्रतिष्ठानका महासचिवसमेत् हुन्।
नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विभागीय मन्त्रीलाई थाहै नदिइ गृह सचिव बनाएका प्रेमकुमार राईको निर्देशनमा देवान राईलाई ‘अदालतमा धरौटी बुझाइ रिहा गरिएको’ स्रोतले जनाएको छ। राईको मुद्दा प्रहरीले अरुको भन्दा केही दिन अगाडि नै अदालत लगेको थियो। बाँकी ३३ जनाको मुद्दा भने सोमवारमात्रै अदालत लगिएको छ।
राई विरुद्ध अदालते २ करोड १२ लाख बिगो माग दाबी गर्दै ठगी मुद्दा चलाइएको थियो। बायोमेट्रीकको विषय टुङग्याउन उनी नेताहरुसँग पैसा उठाउनु भन्दै हिँड्ने गरेको एक नेकपा नेताले जानकारी दिए। उनले भने, 'राई प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई भेटेर केस मिलाउनुपर्योप भन्दै हिँडिरहेका छन्।'
त्यस्तै जीएसजीका संचालक गोविन्द थपलियालाई भने प्रहरीले पक्राउ गरेको छैन। उनी प्रहरीको फरार सूचीमा छन्। एमाले नेताको संरक्षण हुँदा उनी अहिलेसम्म पक्राउ नपरेका हुन्।
महाराजगञ्जमा रहेको याक्खा ओभरसिजका सञ्चालक भीमबहादुर रोक्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो। तर, उनी अनुसन्धानको समय नसकिँदै रिहा भए। रोक्का पनि वैदेशिक रोजगार विभागमा २ लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।
म्यानपावरबाट प्रहरीले मलेसिया पठाउन लागेका व्यक्तिको ६ सय १ थान राहदानी समेत बरामद गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातका छोरा कमल बस्न्यातको पनि लगानी छ। उनीहरुले वैदेशिक रोजगारीमा जाने युवाहरुसँग १० हजारको रसिद बनाएर १ लाख २० हजार रुपैयाँसम्म ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। त्यस्तै माइग्रामको नामा उनीहरुले १ सय २५ रिङ्गेटसम्म लिएको देखिन्छ।
रोक्का पनि नेताकै दवावमा वैदेशिक रोजगार विभागमा मुद्दा चाँडो बुझाउन लगाएर झिनो धरौटी रकममा छुटेका हुन्।