PahiloPost

Jun 22, 2024 | ९ असार २०८१

विमानस्थल पुग्ने सडक नबन्दा यात्रुलाई सास्ती



रासस

विमानस्थल पुग्ने सडक नबन्दा यात्रुलाई सास्ती
तस्विर: रासस

बागलुङ : बन्द भएको २६ वर्षपछि विमानस्थल संचालनमा आएको बलेवा विमानस्थल पुग्ने सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती भएको छ। 
सदरमुकामदेखि १३ किमीको दूरीमा रहेको विमास्थल पुग्न मोटरमा डेढ घण्टा लाग्ने गरेको छ। वर्षा नलाग्दैको छिटफुट झरीले सडक हिलाम्मे भएको छ र स्तरीय सडक नहुँदा विमानस्थलसम्मको आवातजावत कष्टपूर्ण बनेको छ। 

चालिस मिनेटको बलेवा-काठमाडौँ हवाई यात्राका लागि बलेवा पुग्न कठिनाइ व्यहोर्नु परेको यात्रुको गुनासो छ। जतिसक्दो छिटो सडकको स्तरोन्नति र कालोपत्र गर्नुपर्ने माग स्थानियको छ। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमै पर्ने उक्त सडकखण्ड गत वर्षदेखि सञ्चालनमा आएको हो। सडकको मार्ग खोलिए पनि स्तरोन्नतिको काम हुन सकेको छैन। सडक सुधार नहुँदा विमानस्थल सञ्चालनमा प्रश्न उठ्ने गरेका छन्। 

नगरपालिकाले विमानस्थल जोड्ने सडक स्तरोन्नति र कालोपत्र गर्न केन्द्रमा माग गर्दै आएको छ। नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले भने सडक स्तरवृद्धिको काम गर्न बजेट अभाव रहेको जनाएको छ। कार्यदलले बागलुङ खण्डको सडकलाई १० मिटर चौडा गर्ने याजना बनाए पनि बजेट नहुँदा काम अघि बढेको छैन। 

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सडकको स्तरवृद्धिका लागि बजेट जुटाउन पहल भइरहेको बताए। पूर्वाधारको सीमितता हुँदा पनि विमानस्थल सञ्चालन गर्नु ठूलो उपलब्धि भएको उनको भनाइ छ। 

विमानस्थलसम्म पुग्नलाई प्रयोग गर्न सकिने थप चार किमी लामो मालढुङ्गा–कुश्मीसेरा कृषि सडकको पनि अवस्था उस्तै छ । दुवै सडकलाई गुणस्तरीय बनाउन नगरपालिका आफैँले नसक्ने भएपछि संघ र प्रदेश सरकारको मुख ताक्नुपर्ने अवस्था छ । बेलैमा सडक स्तरीय नबनाएसम्म विमानस्थल सञ्चालन प्रभावित हुन सक्ने देखिन्छ । 

कृषि सडकलाई कालोपत्र गर्ने गरी बजेट विनियोजनका लागि प्रदेश सरकारसँग माग गरेको प्रतिनिधिसभा सदस्य सूर्य पाठकले बताए। 

सडक मात्र नभएर विमानस्थलका अन्य भौतिक पूर्वाधार पनि जीर्ण अवस्थामा छन् । कच्ची अवस्थामा रहेको धावनमार्ग कालोपत्र गर्न करीब रु १७ करोड लाग्ने बताइएको छ । विमानस्थलबाट नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले आइतबार र बिहीबार सातामा दुई पटक उडान भर्दैआएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell