काठमाडौं: ३८ सय किलो सुन तस्करीको मुद्दामा फरार रहेका मोहन अग्रवाल एमकेको घरमा आज प्रहरीले छापा मारेको छ।
सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको निर्देशनमा शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा प्रहरीले छापा मारेको हो।
छापा मार्ने क्रममा ३० लाख रुपैयाँ नगद, २ किलो चाँदी र १० तोला सुन बरामद भएको छ। घर दुई महिनादेखि बन्द थियो। टोलीले उनकी श्रीमतीले घरमा भएका अरु सुन र नगद लिएर भागेको अनुमान गरेको छ। प्रहरीले अग्रवालले प्रयोग गर्ने बा१० च २८२ नम्वरको कार समेत बरामद गरेको छ। त्यस्तै अग्रवालको कोठाबाट केही थान चेकबुक, सुनको कारोवार भएका रसिद र तीन थान सुन बोक्ने ज्याकेट समेत बरामद भएको छ
टोलीले अग्रवालको खोजी गरिरहेको छ। उनको घरबाट प्रहरीले केही महत्वपूर्ण कागजपत्र समेत फेला पारेको छ। पूर्पक्षको लागि थुनामा रहेका मध्ये अधिकांशले माघ ९ गते विमानस्थलबाट हराएको सुनमा अग्रवालको लगानी रहेको बयान दिएका थिए।