PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राष्ट्रियसभा नियमावली पारित हुँदै, एकल अधिवेशन आह्वान हुन सक्ने



पहिलोपोस्ट

राष्ट्रियसभा नियमावली पारित हुँदै, एकल अधिवेशन आह्वान हुन सक्ने

काठमाडौँः स्थायी सभा मानिने राष्ट्रियसभाको मात्र एकल अधिवेशन आह्वान हुन सक्नेगरि राष्ट्रियसभा नियमावली आज पारित हुँदैछ। संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था छ। राष्ट्रियसभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।

राष्ट्रिय सभाको अधिवेशन चालु नरहेको अवस्थामा अधिवेशन बोलाउन आवश्यक रहेको  भनी सभाका सम्पूर्ण सदस्यमध्ये एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था नियमावलीमा गरिएको छ।

प्रस्तावित नियमावली अनुसार राष्ट्रियसभामा चार विषयगत समिति रहनेछन्। प्रारम्भिक मस्यौदामा संघीय संसद् सचिवालयले तीन समितिको प्रस्ताव गरे पनि दलहरुबीच चार समिति बनाउने प्रस्तावमा सहमति भएको हो। 

सहमति अनुसार दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति,  प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहनेछन्। यस्तै, विषयगत समिति बाहेक विशेषाधिकार र आचरण अनुगमन समिति सभामा रहनेछ। आचरण अनुगमन समिति राष्ट्रियसभा अध्यक्षकै सभापतित्वमा गठन हुनेछ। 

यस्तै, राष्ट्रियसभामा पनि प्रत्येक साता सकारका काम कारबाहीमा विभागीय मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम रहनेछ। 

फौजदारी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् निलम्बन गर्ने विषयमा प्रतिनिधिसभाकै व्यवस्था राख्ने दलीय सहमति बनेको छ। सेवा सुविधा, र उन्मुक्ति नदिइए पनि पद निलम्बन भने हुनेछैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell