PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रिभ्यू : स्पेन Vs पोर्चुगल



पहिलोपोस्ट

प्रिभ्यू  : स्पेन Vs पोर्चुगल

२०१८ को फिफा विश्वकप अन्तर्गत समूह ’बी’ मा रहेका स्पेन र पोर्चुगलबीचको बहुप्रतिक्षित खेल आज ११: ४५ बजे रसियाको फिस्ट स्टेडियममा हुँदैछ। ब्राजिलमा २०१४ मा भएको विश्वकपमा समूह चरणबाटै बाहिरिएका स्पेन र पोर्चगल यसपालि उपाधिका दाबेदार हुन्।

समूहमा रहेका मोरोक्को र इरानलार्इ पाखा लगाउँदै राउण्ड अफ १६ मा पुग्ने दुवैको लक्ष्य छ। आजको खेलमा विजय हासिल गरेर समूहमा बलियो उपस्थिति जनाउन लागी परेका यी दुर्इ टोलीबीचको खेल रोमान्चित हुने विश्वास गरिएको छ।
 
अहिलेसम्म ३५ पटक भिडेका यी दुई राष्ट्रमध्ये स्पेन १६ खेलमा विजयी भएको छ भने पोर्चुगल ६ खेलमा विजयी भएको छ। १२ खेलमा नतिजा बराबरीमा सकेको छ। 

पछिल्लो विश्वकपहरुमा स्पेन र पोर्चगल ५ पटक खेलेका छन्। पोर्चुगलले हालसम्म विश्वकपका कुनै पनि खेलहरुमा स्पेनलाई पराजित गर्न सकेको छैन। ४ खेलमा स्पेन विजयी रहँदा १ खेल बराबरीमा सकिएको थियो।  २०१० को विश्वकपको अन्तिम १६ को खेलमा स्पेनले पोर्चुगललाई १–० ले हराएको थियो।

स्पेन

रियल म्याड्रिडको प्रशिक्षकमा स्पेनका प्रशिक्षक जुलेन लोपेटेगुइ नियुक्त भएपछि उनलाई विश्वकप सुरु हुनुभन्दा एक दिन अघि बर्खास्त गरिएको थियो। अन्तिम समयमा भएको यो बदलावले स्पेनिस टिमको खेलमा प्रभाव पर्ने आंकलन गरिएको छ। यद्यपि, स्पेनको टिममा रहेका डियगो कोस्टा, डेविड सिल्भा, सर्जिओ रामोस, आन्द्रेस इनिएस्टा, र जेरार्ड पिके जस्ता अनुभवी र, मार्के एसेन्सियो जस्ता युवा खेलाडीले टिमलाई सन्तुलित र बलियो बनाएको छ। 


लोपेटेगुइको बिधार्इपछि स्पेनको टिमको नेतृत्व फर्नान्डो हिइरोले गर्दैछन्। नवनियुक्त प्रशिक्षक फर्नान्डो हिइरोले भने,'हामी यहाँ विश्वकपको लागि लड्न आएका हौं। यो टिम उत्साहित छ। हामीले एक महान अवसर पाएका छौं र हामीले त्यसको फाइदा उठाउन आवश्यक छ।'
स्पेनका कप्तान सर्जिओ रामोसले पोर्चुगलसँगको भिडन्त अघि स्पेन एकताबद्ध रहेको प्रतिक्रिया दिएका छन्। 

२०१० मा नेडरल्याण्सलार्इ १- ० ले पराजित गर्दै पहिलो पटक विश्वकप जितेको स्पेनले १९६४, २००८ र २०१२ मा गरी ३ पटक युरोकप उपाधि जितिसकेको छ।  
 

पोर्चुगल

२०१६ को  युरोकप विजेता पोर्चुगल पहिलो विश्वकप उपाधी जित्ने दाउमा रहेको छ। दुई वर्षअघि युरो च्याम्पियनसीप जित्दा फाइनलमा फ्रान्सलाई हराएको पोर्चुगिज टिममा अहिले पनि तिनै खेलाडीहरुको बाहुल्यता छ।

पोर्चुगलमा पनि प्रतिभाशाली युवा खेलाडीको कमी छैन। तर पनि जितका लागी पोर्चुगली टिमका कप्तान क्रिस्टियानो रोनाल्डाको प्रदर्शन र नेतृत्वले ठूलो प्रभाव पार्नेछ। त्यसो भन्दैमा रोनाल्डोमा मात्र भर पर्नु पोर्चुगलका लागि उपयुक्त हुँदैन। रोनाल्डो र पुरै टिमको संयुक्त प्रयासबाट मात्रै पोर्चुगल विश्वकपमा आगामी चरणमा पुग्न सक्नेछ। 


पोर्चुगलका प्रशिक्षकका रुपमा फर्नान्डो सान्तोस रहेका छन्। प्रशिक्षक फर्नान्डो सान्तोस युवा खेलाडी र रोनाल्डोको खेलबाट समूह चरणमा राम्रो नतिजा ल्यार्इ राउण्ड अफ १६ मा पुग्नेमा आशावादी छन्। सान्तोसले स्पनेलाई बलियो टिम बताएका छन् तर स्पेनले १० वर्षदेखी लगातार एकै प्रकारको खेल खेल्दै आएकाले केही नयाँ कुराको आशा नगरेको तर्क गरेका छन्। यसैले पनि समूह चरणमा उत्कृष्ट खेलेर पोर्चुगिज टिम अघि बढ्न तयार भएको सान्तोसले बताए। 

पोर्चुगलको प्रदर्शन स्पेनभन्दा केही कमजोर देखिन्छ तर उनीहरुसँग कप्तानका रुपमा रोनाल्डो छन्। आजको खेलको मुख्य आकर्षण भन्नु नै रोनाल्डो हुनेछन्। पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ३ विश्वकपमा १३ गोल गरेका छन्। पेपे र जोसे फोन्टेले सेन्टर ब्याकमा खेल्दा गोनकालो गुड्डिज र रोनाल्डोले आफ्नो प्रभाव खेलमा पार्न सक्छन्।  यस्तै बर्नार्डो सिल्भा, एन्ड्रे सिल्भा र गेल्सन मार्टिन पनि पोर्चुगिज प्रशिक्षकका विश्वाशिला खेलाडी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell