PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

म्यान्मारका 'रोहिंगा'को इद कपनको टहरामा : 'वि आर रिफ्युजी, नट टेरोरिस्ट'

म्यान्मारका 'रोहिंगा'को इद कपनको टहरामा : 'वि आर रिफ्युजी, नट टेरोरिस्ट'

सागर बुढाथोकी/पहिलोपोस्ट


कपन राममन्दिर नजिकैका टहराबाट 'इद मुबारक' को आवाज आइरहेको छ। टहराभित्र 'अल्लाह अकबर' भन्दै प्रार्थना गरिरहेका छन् उनीहरु। केही बालबालिका नयाँ कपडामा सजिएका छन्। खेलौनासँग दंग छन्। त्यसैले झरीको परवाह नगरी खेलिरहेका छन्।  मिठो पकवानको वासना फैलिएको छ टहरामा। 

तर, इदको रमझममा पनि टहरा सुनसान। टहराका आधा जसो मानिस छैनन्।

'ईद मुवारक'  भन्दै जाफर आलमले स्वागत गरे। अचम्म मान्दै सोधेँ, 'कहाँ गए त्यत्रा मानिसहरु ?' जाफरले सुनाए, 'धेरै यहाँबाट सरेर लसुनटार गए। त्यँहा बनेका २ वटा बस्तीमा यहाँका केही र नयाँ आउने बस्छन्। यहाँ त सुनसान छ अहिले।'

जाफरले आफ्नो टहरामा स्वागत गरे।

‘इद मुबारक’ भन्दै अबुद टाकरे पनि जाफरको टहरामा पसे। जो जाफरसँगै नेपाल आएका थिए।

त्यो सानो टहराभित्र एउटा सिंगै घर अटाएको थियो। किचेन, बेडरुम, स्टोर। साघुँरो टहराभित्र बालबालिका भरिभराउ थिए। पानी चुहिरहेको कारण भुइँ हिलाम्मे।

त्यो ठाउँ साघुरो भएपछि त्यस्तै टहरा अन्यत्र बनाएर अरु परिवार बसाई सरेको सुनाए उनले।  १ सय परिवारका ४ सय भन्दा बढी रोहिंगा तीन फरकफरक स्थानमा आश्रय लिइरहेका छन्। जाफर बसेको ठाउँको मात्र वर्षामा १ लाख ८५ हजार भाडा बुझाउनुपर्छ। 

कपनमै उनीहरु बच्चाहरु पढाउने स्कुल खोलेका छन्। मस्जिद त्यहीँ बनाएका छन्। घण्टाघरको मस्जिदले केही बालकलाई पढाउन सहयोग गरेको छ। तर, यहाँ जन्मेका बच्चाहरुको कुनै कानुनी कागजात छैन। जाफरको लागि यो अर्को चिन्ताको विषय बनेको छ।

यहाँ बस्ने सबैको कथा उस्तै छ। परिवारहरु गोली लागेर मरेका खबर पाइरहेका छन्। छोरीहरु बलात्कृत भएका छन्।  कत्तिका आफन्तहरु बेपत्ता छन्। 

'कसरी मनाउँदै छन त इद?'


जाफरले बिरक्तिदैँ सुनाए,  'उता जस्तो यता के हुन्छ र?'

अभावमा बाँच्नु परेकाले चाडपर्व जस्तो नहुने बताउछन् उनी। भारत र बंगलादेशमा रोहिंगालाई 'टेरोरिस्ट' को रुपमा चित्रण गरेकाले त्यसको प्रभाव नेपालमा पर्ने डर छ उनमा। ' भारत र बंगलादेशको प्रभाव नेपालमा पर्छ। उनीहरुको गलत प्रचारका कारण हाम्लाई पनि गाह्रो हुन सक्छ,' उनले भने,  'यस वि आर रिफ्युजी बट नट टेरोरिस्ट।'

एक दशक नेपालमा बस्दा आजसम्म कसैले गलत काम नगरेको बताउँछन् उनी। सोही कारण समाजमा राम्रो सम्बन्ध छ उनीहरुको। त्यसैले त बंगलादेश र भारतभन्दा नेपाल बस्नको लागि सजिलो छ। खान बस्न र टहराको चिसो भुइँमा सुत्नुपरे पनि प्रहरी प्रशासनले समातेर जेल हाल्दैन। ' यहाँ आफ्नो धर्म मान्न पाइन्छ। कुरान पढ्न पाइन्छ। बच्चाहरु स्कुल जान पाएका छन्', जाफरले भने, 'आफ्नो देश नभएपनि स्वतन्त्रता छ। तर हामीलाई त आफ्नै देश फर्कनु छ।'

शरणार्थी भएकै कारण उनीहरुको जीवन अभावमा बितेको छ। अधिकांश ज्यामी काम गर्ने भएपनि खर्च गर्न पर्याप्त हुन्न त्यो। रोहिंगा भएकै कारण काम नपाउने पनि धेरै छन्। भाषा फरक हुनुले अर्को ठूलो समस्या निम्त्याएको छ उनीहरुलाई। युएनले दिने सहयोग रोकिएको छ। यूएनको गेटमा धर्ना दिएपनि समस्या समाधान हुन सकेको छैन। ‘युएनले हामीलाइ बाँच्न पनि दिएन, मर्न पनि दिएन। हाम्रो समस्या समाधान गर्न पहल गर्दैन,’ जाफरले भने, ‘कहिले आफ्नो देश पुगुँ भएको छ। त्यत्रो सर्वस्व त्यहीँ छ। तर, के गर्नु आफ्नै देशले नहेरेपछि अरुको सहयोगको के आशा गर्नु?’

***
मुस्लिमको रोहिंगा समूदायका मानिसहरु हिंसाकै कारण मुलुकबाटै विस्थापित भइसकेका छन्। बंगलादेश, थाइल्याण्ड, साउदी अरेबिया, पाकिस्तान र मलेसियाजस्ता देशहरुमा पुगे पनि पछिल्लो समय नेपाल उनीहरुको 'सेफ ल्याण्डिङ' गर्ने गन्तव्य बनेको छ।

बंगलादेश र म्यानमारका कुटनीतिक अधिकारीहरुले रोहिंगा शरणार्थीलाई म्यानमार नै फिर्ता पठाउने सहमति गर्नसाथ नेपाल भित्रिने रोहिगां बढेका छन्। देश फर्कने 'मुड'मा नभएकाले बंगलादेश, भारत हुँदै काठमाडौँमा उनीहरु 'सेफ ल्यान्डिङ' गरिरहेका छन्। १ वर्षसम्म त्यही ठाउँमा ईद मनाउने उनीहरु अहिले फरक तीन ठाउँमा इद मनाइरहेका छन्।

म्यानमारबाट अगस्ट २५ देखि अहिलेसम्म ६ लाखभन्दा बढी रोहिंगाहरु बंगलादेश छिरिसकेका छन्। बंगलादेशमा भएका ६ लाख रोहिंगाहरु मध्ये ४ लाखभन्दा बढी बच्चाहरु नै छन्। बंगलादेशले आफ्नो देशमा रोहिंगा नराख्ने नीति लिएकाले बंगलादेश हुँदै भारत ५० हजारभन्दा बढी रोहिंगा छिरिसके। त्यसको प्रभाव नेपालमा पनि देखिएको छ।

सन् २०१२ मा दुई परिवार कपन छिरेका उनीहरु चार सयभन्दा बढी भइसकेका छन। जनसङ्ख्या बढ्दै गएपछि उनीहरु तिन ठाएमा छरिएर बसेका हुन। जाफर भन्छन्, 'भारत र बंगलादेश भन्दा नेपाल नै सेफ छ हाम्रो लागि तर, हामी आफ्नै देश फर्कन चाहन्छौ।'
 

समबन्धित समाचार

म्यानमारमा गोली चल्दा कपनमा रुवावासी! म्यानमार हिंसाको यस्तो छ नेपाल कनेक्सन

म्यानमार हिंसाको नेपाल नाता : ७ वर्षमै जेल परेका आलम भन्छन् : नेपाल हाम्रा लागि स्वर्ग

ज्यान जोगाउँदै म्यानमारबाट अनायास छिरेका नुर जो नेपालकै ज्वाइँ बने

म्यान्मारबाट कपन पुगेका सलिमलाई सपनामा पनि लखेट्छ उताको हिंसाले

राम सुन्दरको शरणमा म्यानमारका मुस्लिम शरणार्थी 

एक महिना नपुग्दै ३७ रोहिंगाहरु नेपाल छिरे, गृह मन्त्रालय भन्छ : कोही छिरेको छैन

 रोहिंगाको टार्गेट नेपालः 'भित्रिँदै रोहिंगा, नजरअन्दाज गर्दै सरकार'

युएनएचसिआरको गेटमा रोहिंगाको धर्ना, भन्छन् : परिचयपत्र देउ



ट्रेन्डिङ पोस्ट

Ncell