PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

सुन तस्करी प्रकरण : थपियो विशेष अनुसन्धान टोलीको म्याद



पहिलोपोस्ट

सुन तस्करी प्रकरण : थपियो विशेष अनुसन्धान टोलीको म्याद

काठमाडौँ : देशभित्र भइरहेको सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धान गर्न सरकारबाट गठित विशेष अनुसन्धान टोलीको म्याद थपिएको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले असार मसान्तसम्म दिन म्याद थप गर्ने निर्णय गरेको हो।

चैत ३० गते मन्त्रिपरिषद्को बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो। शुरुमा सरकारले दिएको ४५ दिनको समय अपर्याप्त भएपछि पुनः म्याद थपिएको हो।

टोलीले अहिलेसम्म सनम शाक्यको हत्यामा अनुसन्धानका  साथै त्रिभुवन विमानस्थलबाट तस्करीको ३८ सय किलो सुन भित्रिएको घटनाको पनि अनुसन्धान गरिरहेको छ। टोलीकै निर्देशनमा सुन तस्करीमा संलग्न ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता भइसकेको छ।

सुन तस्करीका मुख्य नाइके भनिएका चुडामणि उप्रेति गोरेसहित ३२ जनालाई अदालतले पूर्पक्षको लागि थुनामा पठाएको छ। नेपाल प्रहरीका एसएसपी श्याम खत्री, दिवेश  लोहनी, पूर्वडिआइजी गोविन्द निरौला, एसपी विकास खनाल लगायत ६ जना प्रहरी थुनामा छन्।

समितिले तस्करीको सुनका लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाललाई खोजी गरिरहेको छ। काठमाडौंमा रहेको अग्रवालको घरमा समितिले जेठ २५ मा छापा मारी ३० लाख रुपैयाँ नगदसहित सुनचाँदी तथा महत्वपूर्ण कागजपत्र समेत बरामद गरेको छ।

गत सोमवार सुन तस्करी प्रकरणमा अभियुक्त रहेका राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्समा समेत छापा मारेको थियो। समितिले दरवारमार्ग र न्यूरोडमा रहेको तीनवाट पसलबाट ३० करोड रुपैयाँ बराबरको सुन, चाँदी तथा हिरा लगायतका सामान जफत गरेको छ।

त्यस्तै सुन तस्करीमा प्रतिवादी चेतन भण्डारीले संचालन गरेको  बाजेको सेकुवा कर्नरमासमेत बुधवार छापा मारिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell