काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन भ्रमणका लागि आज बेइजिङ प्रस्थान गर्दैछन्। ११९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली चीन प्रस्थान गर्न लागेका हुन्। हिमालय एयरलाइन्सको विमानबाट प्रधानमन्त्री बिहान ९ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ।
चीन भ्रमणका दौरान प्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्। यस्तै, ऊर्जा, रेल्वे लगायतका सम्झौता पनि भ्रमणका अवसरमा हुँदैछ। द्धिपक्षीय सम्झौता हुनेबारे प्रधानमन्त्रीले ओलीले सोमबार संघीय संसद्को बैठकमा जानकारी गराएका थिए।
भ्रमणमा केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग को डीपीआर निर्माणको सम्झौता हुनेछ।
भूकम्पपछि बन्द रहेको तातोपानी नाका सुचारुदेखि थप केही नाका खोल्ने विषयमा समझदारी हुने पनि प्रधानमन्त्रीले यसअघि बताइसकेका छन्।
यस्तै, सन् २०१६ को भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे पनि द्धिपक्षीय छलफल हुनेछ। भ्रमणका अवसरमा नेपाल र चीनबीचका परियोजना अनुगमन तथा समस्या समाधानका विषयमा सम्झौता हुनेछ। मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त विषयमा निर्णय गरिसकेको छ।
नुवाकोट, ललितपुर तनहुँमा चिनियाँ सहयोगमा इन्धन भण्डारण केन्द्र निर्माण सम्बन्धी विषयमा पनि सम्झौताको तयारी गरिएको छ।
विद्युत् प्रसारण लाइन, नाका व्यवस्थापन, बाहिरी चक्रपथ निर्माण लगायतका पूर्वाधार विकासबारे पनि भ्रमणका अवसरमा छलफल हुनेछ।
प्रधानमन्त्री ओली असार १० गते स्वदेश फर्कने कार्यक्रम छ।