PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रामचन्द्र पौडेलको जवाफ : हातमा हात मात्र मिलाएर एकता हुँदैन



नेत्र तामाङ

रामचन्द्र पौडेलको जवाफ : हातमा हात मात्र मिलाएर एकता हुँदैन

हेटौंडा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको रोगको उपचार बताइदिन जिल्ला सभापतिहरुलाई आग्रह गरेका छन्। आज मकवानपुरको हेटौंडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै पौडेलले उक्त आग्रह गरेका हुन्।

हेटौंडाको कांग्रेसचोकस्थित पल्पसा हलमा भएको भेलालाई सम्बोधन गर्दै पौडेलले पार्टीको भविष्यप्रति चिन्तित रहेको उल्लेख गर्दै उपचार बताइदिन आग्रह गरेका हुन्।

'तपाईँ सभापतिहरु जिल्लामा बसेर जनतासँग नजिक हुनुहुन्छ। कहाँकहाँ के समस्या छन् तपाईँहरुलाई थाहा छ। समाधान पनि तपाईँहरुलाई थाहा छ। अहिले पार्टी एकताको कुरा छ। तपाईँहरूले कांग्रेसको उपचार बताइदिनुपर्‍यो,' पौडेलले भने।

पार्टीमा हात मिलाएर मात्र एकता नहुने उल्लेख गर्दै पौडेलले एकताका लागि मन मिल्नुपर्ने र आफ्नो अन्याय पनि बुझ्नुपर्ने धारणा राखे। भने, 'हातमा हात मात्र मिलाएर एकता हुँदैन दिलमा दिल मिल्नुपर्छ। मन मिल्नुपर्छ। मलाई भएको अन्याय पनि त बुझ्नुपर्‍यो नि।'

उनले नयाँ मान्छेलाई कांग्रेस बनाउनुपर्ने सुझाव दिँदै कांग्रेसकै यताको मान्छे उता लाने उताको मान्छे यता ल्याएर काम नभएको उल्लेख गरे।

निर्वाचन अघि भ्रातृ संगठनहरु नै नदेखेको बताए। उनले भने, 'नेविसंघ पनि देखिनँ, महिला संघ पनि देखिनँ। यसरी कांग्रेस कसरी अघि बढ्न सक्छ?' 

उनले वाम सरकारले गाउँमा कच्ची बाटो लान नसकेको अवस्थामा रेलको सपना देखाएर जनतालाई भुलभुलैयामा राख्न खोजेको आरोपसमेत लगाए। यस्तो अवस्थामा कांग्रेसले सशक्त भूमिका निभाउन सक्नुपर्ने उनको सुझाव थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell