PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

'रोहिंगा' शरणार्थीको माग नेपाली नागरिकता; सरकार भन्छ : सिस्टमले हेरिरहेको छ



सागर बुढाथोकी

'रोहिंगा' शरणार्थीको माग नेपाली नागरिकता; सरकार भन्छ : सिस्टमले हेरिरहेको छ

जाफर आलम, श्रीमती र काखे छोरी सहित नेपाल आएको ८ वर्षमात्र भयो। यस बीचमा उनको परिवारमा तीन जना नयाँ सदस्य थपिए। त्यस्तै उनीसँग नेपाल छिरेका उनका साथी आबुद टाकरेको ३ जनाको परिवार यही बीचमा सात जनाको भयो। ६ जना सदस्य लिएर नेपाल छिरेका उनीहरुको दुई परिवारमा मात्रै अहिले १३ जना छन्। ८ वर्षअघि ६ जना रोहिंगा छिरेको कपनमा अहिले चार सयभन्दा बढी रहेको उनीहरु नै स्वीकार्छन्। 


सन्दर्भ : विश्व शरणार्थी दिवश



ज्यान जोगाउन नेपाल छिरेका नुर मोहम्मदले नेपालकै समसिरी खातुनसँग घरजम गरे। एक्लै नेपाल छिरेको ५ वर्षमै उनको परिवारमा ५ सदस्य भए। दिनहुँ नेपालमा रोहिंगा भित्रिँदै छन्। जन्मिदै छन्। जाफर आलमका अनुसार यो वर्ष मात्रै कपन राममन्दिरका क्याम्पमा १४ जना बच्चा जन्मिए। 'लसुनटार'को दुईवटा क्याम्पमा पनि यत्तिकै हाराहारीमा बच्चा जन्मिएको अनुमान छ उनको।

गत भदौसम्म राममन्दिरको टहरामा बस्ने उनीहरु अहिले कपनको 'लसुनटारमा' पनि टहरा बनाएर बसेका छन्। १ वर्षअघिसम्म एउटा मात्र क्याम्पमा अटाएका उनीहरु अहिले तीनवटा क्याम्पमा अटाएका छैनन्। ती तीन ठाउँमा जग्गा अपुग भएका कारण नयाँ जग्गाको लागि रोहिंगाहरुले राष्ट्रसंघीय शरणार्थी आयोग युनएचसीआरमा पटक पटक धर्ना दिइसकेका छन्। 

कपनमै उनीहरुको बच्चा पढाउने स्कुल छ। त्यहाँ बच्चाहरुले आफनो भाषा सिक्छन्। मस्जिदमा दिनहुँ प्रार्थना गर्छन्। टहरामा स्कुलदेखि मस्जिदसम्म अटाएको छ। घण्टाघरमा रहेको मस्जिदले केही बालकलाई पढाउन सहयोग पनि गरेको छ। उनीहरु म्यानमार नफर्किने ‘मुड’ बनाएर कपनैमा अड्डा जमाएका छन्।

सरकारसँग रेकर्ड नै छैन

यति हुँदासम्म नेपाल सरकार रोहिंगाको विषयमा बेखबर छ। गृह मन्त्रालयसँग यसबारे रेडिमेड जवाफ छ - सिस्टमले हेरिरहेको छ। 

गृह मन्त्रालयका प्रवक्ता राकृष्ण सुवेदी सीमानामा कडाई गरेका कारण एक जना पनि रोहिंगा नेपाल नछिरेको ठोकुवा गर्छन्। भन्छन्, 'कहाँबाट आउँछ तपाईँलाई यस्तो रेकर्ड? कहाँ बढेका छन् यति धेरै रोहिंगा? हामीसँग त्यस्तो रेकर्ड छैन। परिवार भएपछि अलिअलि बच्चा त जन्मिन्छन्। त्यो भन्दा बढी रोहिंगा बढेका छैनन्।'

+++

इदको अन्तिम दिन कपनको राममन्दिरमा भेटिएका जाफर आलम आक्रमक सुनिए। उनले कपनमा बस्ने रोहिंगाहरुको तीनवटा मागको सूची सुनाए।

पहिलो,  नेपालमै गाँसबासको उचित व्यावस्था गर्नुपर्छ, त्यो नसके आफ्नो देश फर्काउनुपर्छ।

दोस्रो, यहाँको नागरिक बनाइदिनुपर्यो। नागरिकता दिनुपर्यो।

तेस्रो, यी दुवै कुरा नसके तेस्रो मुलुक पठाइदिनुपर्यो।

यी मागहरु राखेर युएन अफिसमा आन्दोलन गरिरहेको सुनाउँछन् उनी। भारत र बंगलादेशमा रोहिंगालाई 'टेरोरिस्ट' को रुपमा चित्रण गरेकाले त्यसको प्रभाव नेपालमा पर्ने डर छ उनमा। नेपालभित्र होस् या बाहिर, सुरक्षित भविष्य रोहिंगाहरुको माग रहेको उनको कथन छ। 'भारत र बंगलादेशको गलत प्रचारको प्रभाव नेपालमा पनि पर्छ। त्यहाँ रोहिंगाहरुलाई टेरोरिस्टको रुपमा चित्रण गरेकाले हामीलाई नेपालमा पनि गाह्रो हुन सक्छ,' उनले भने, 'यस, वि आर रिफ्युजी बट नट टेरोरिस्ट।'

जाफर आलम तिनै हुन जो पहिलोपटक आबुद टाकरेसँग नेपाल छिरेका थिए। रोहिंगाहरुले उनलाई 'नाइके' मानेका छन्। नयाँ आउने रोहिंगाहरुलाई बस्ने व्यावस्था मिलाउने र काम लगाउने जिम्मा उनले लिएका छन्। उनी घर बनाउने ठेकेदारी काम गर्छन्। युनएचसीआरको कार्यलयमा वार्ता बस्ने र धर्ना दिने कार्यक्रम उनकै निर्देशनमा हुन्छ। उनको अनुमतिबिना त्यहाँ कोही पनि मिडियासँग कुरा गर्दैन। कोहीसँग कुरा गर्न खोज्दा जवाफ आउँछ, 'जाफर दाइसँग सोध्नुपर्छ। उहाँसँगै कुरा गर्नुस्।'

+++
कपनको उनीहरुको बसोबास गैर कानुनी हो। बंगलादेश भारत हुँदै चोरबाटोबाट नेपाल छिरेका उनीहरुलाई नेपाल सरकारले शरणार्थीको परिचय दिएको छैन। अवैधानिक रुपमा नेपाल छिरेर नागरिकता माग्ने हैसियत बनाइसकेका उनीहरु राज्यको लागि निकट भविष्यमा टाउको दुखाई हुने निश्चित छ।

राज्य किन मौन?

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी सरकारले युएनसँग छलफल गरिरहेको बताउँछन् यस विषयमा। सरकारसँग उनीहरुको बारेमा केही रेकर्ड नभएको सुनाउँछन्। भन्छन्, ‘हामीले उनीहरुलाई भुटानी र तिब्बती जस्तो शरणार्थी मानेर कार्ड दिएका छैनौँ। अरु नछिरुन भनेर सिमामा कडाइ गरेका छौँ। उनीहरु गैरुकानुनी आप्रवासी हो। उनीहरुलाई हामीले केही गरेका छैनौँ। खुल्ला बोर्डरको फाइदा उठाउनेहरुलाई छानविनको विषय बन्न सक्छ।'
 

रोहिंगाको रोजाईमा नेपाल

बंगलादेश र भारतभन्दा नेपाल बस्नको लागि सजिलो भएको सुनाउँछन जाफर। खान बस्न र टहराको चिसो भुइँमा सुत्नुपरे पनि प्रहरी प्रशासनले समातेर जेल हाल्दैन। यहाँ आफ्नो धर्म मान्न भारतमा जस्तो डरमर्दो छैन। कुरान पढ्न पाउछँन्। बच्चाहरु स्कुल जान पाएका छन्। जाफरले भने, 'आफ्नो देश नभए पनि नेपालमा स्वतन्त्रता छ। हाम्रो लागि स्वर्ग छ। त्यसैले भारत र बंगलादेश भएकाहरु पनि नेपाल आउने प्रयास गरिरहेका छन्। हाम्रो सुरक्षित रोजाइमा नेपाल छ।'

म्यानमार मुस्लिमको रोहिंगा समुदायका मानिसहरु हिंसाकै कारण मुलुकबाटै विस्थापित भएका हुन्। बंगलादेश, थाइल्याण्ड, साउदी अरेबिया, पाकिस्तान र मलेसियाजस्ता देशहरुमा पुगे पनि पछिल्लो समय नेपाल उनीहरुको 'सेफ ल्याण्डिङ' गर्ने गन्तव्य बनेको छ।

बंगलादेश र म्यानमारका कुटनीतिक अधिकारीहरुले रोहिंगा शरणार्थीलाई म्यानमार नै फिर्ता पठाउने सहमति गर्नसाथ नेपाल भित्रिने रोहिंगा बढेका छन्। देश फर्कने 'मुड'मा नभएकाले बंगलादेश, भारत हुँदै काठमाडौंमा सुरक्षित रुपमा बसिरहेका छन्।

म्यानमारबाट अगस्ट २५ देखि अहिलेसम्म ६ लाखभन्दा बढी रोहिंगाहरु बंगलादेश छिरिसकेका छन्। बंगलादेशमा भएका ६ लाख रोहिंगाहरु मध्ये ४ लाखभन्दा बढी बच्चाहरु नै छन्। बंगलादेशले आफ्नो देशमा रोहिंगा नराख्ने नीति लिएकाले बंगलादेश हुँदै भारत ५० हजारभन्दा बढी रोहिंगा छिरिसके। त्यसको प्रभाव नेपालमा पनि देखिएको छ। 

समबन्धित समाचार

म्यानमारमा गोली चल्दा कपनमा रुवावासी! म्यानमार हिंसाको यस्तो छ नेपाल कनेक्सन

म्यानमार हिंसाको नेपाल नाता : ७ वर्षमै जेल परेका आलम भन्छन् : नेपाल हाम्रा लागि स्वर्ग

ज्यान जोगाउँदै म्यानमारबाट अनायास छिरेका नुर जो नेपालकै ज्वाइँ बने

म्यान्मारबाट कपन पुगेका सलिमलाई सपनामा पनि लखेट्छ उताको हिंसाले

राम सुन्दरको शरणमा म्यानमारका मुस्लिम शरणार्थी 

एक महिना नपुग्दै ३७ रोहिंगाहरु नेपाल छिरे, गृह मन्त्रालय भन्छ : कोही छिरेको छैन

 रोहिंगाको टार्गेट नेपालः 'भित्रिँदै रोहिंगा, नजरअन्दाज गर्दै सरकार'

युएनएचसिआरको गेटमा रोहिंगाको धर्ना, भन्छन् : परिचयपत्र देउ

'वि आर रिफ्युजी, नट टेरोरिस्ट'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell