PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रेल सञ्जाल बिस्तारमा चिनियाँ प्रतिवद्धता : भारतले समेत लिन सक्छ फाइदा



विधुर ढकाल

रेल सञ्जाल बिस्तारमा चिनियाँ प्रतिवद्धता : भारतले समेत लिन सक्छ फाइदा
फोटो : सिन्ह्वा

काठमाडौंः चीन नेपालको पूर्वाधार निर्माण तथा कनेक्टिभिटीको क्षेत्रमा साझेदार गर्न तयार देखिएको छ। ६ दिने राजकीय भ्रमणका क्रममा बेइजिङमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ राष्ट्रपति सी जिङपिङले यस्तो प्रतिवद्धता जनाएका हुन्।
 
प्रधानमन्त्री ओलीले बुधबार चिनियाँ राष्ट्रपति सीसँग बेइजिङस्थित ग्रेट हल अफ पिपलमा शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्ताका क्रमामा चिनियाँ राष्ट्रपति सीले यस्तो प्रतिवद्धता व्यक्त गरेको सिन्ह्वाले जनाएको छ। 

‘बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को फ्रेमवर्कको अधिनमा रहेर चीन नेपालसँग पूर्वाधार कनेक्टिभिटी, विपत्तीपछिको पुनःनिर्माण, व्यापार र लगानीका क्षेत्रमा साझेदारीलाई बढाउन तयार रहेको राष्ट्रपति सीले बुधबार बताएका छन्,’ समाचारमा भनिएको छ।
 
बुधवार भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेलवेको विस्तार तथा उत्तरी सीमा नाकासम्म सडक सञ्जालको विस्तारका लागि सहयोग गर्न आग्रह गरेका थिए। 

जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपालमा छिट्टै रेल पुग्ने विश्वास व्यक्त गर्दै साझेदारीका लागि चीन तयार रहेको बताएका हुन्।
 
नेपालको विकास र समृद्धिमा चीनका तर्फबाट सहयोग उपलब्ध हुने बताउँदै सीले दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन आफूहरु तयार रहेको बताएका थिए। 

प्रधानमन्त्री ओलीले नेपाल सधैँ एक चीन नीतिप्रतिको प्रतिवद्धतालाई दोहोराएका थिए। भेटका क्रममा दुई देशका सरकार र कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई नयाँ उचाइमा पुराउने विषयमा छलफल भएको बताइएको छ।
 
नेपालमा रेलवे विकासका लागि दुई देशबीच सम्झौताको तयारी भइरहेको छ। केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि दुई देशबीचको द्वीपक्षीय वार्तापछि समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भोली बिहीवार प्रधानमन्त्री ओली नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राज्य परिषदका प्रधानमन्त्री लि कछ्याङ नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डलबीच द्वीपक्षीय वार्ता हुँदै छ। 

वार्तापछि समझदारीपत्रमा हस्ताक्षर हुने तयारी भइरहेको छ। नेपालले रेलमार्ग चिनियाँ अनुदानमा बनाइदिन आग्रह गर्दै आएको छ। 

नेपालको रेलले चीन र भारतलाई समेत नजिक ल्याउन सक्छ

यसैबीच नेपालमा निर्माण हुने रेलमार्गले एसियाका दुई आर्थिक सम्पन्न मुलुकलाई नजिक ल्याउन सक्ने चिनियाँ अधिकारीहरुले बताएका छन्। 

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा हुने दक्षिण पूर्वी चीनको चिनियाँ स्वशासित क्षेत्र तिब्बतको केरुङ हुँदै नेपालको राजधानी जोड्ने रेलमार्गको विषयमा समझदारी हुँदै छ।
 
रेलमार्ग निर्माण भए दक्षिण एसियाको आर्थिक विकास, व्यापारका क्षेत्रमा ‘गेम जेन्जर’को रुपमा काम गर्ने चिनियाँ पत्रिका ग्लोवल टाइम्समा हु वेइजियाले लेखेका छन्।

‘समूद्रसम्मको पहुँच नभएको हिमालय राष्ट्र, चीन र भारतबीचको ‘स्याण्डवीच’को रुपमा रहेको नेपाल लामो समय देखि अन्तर्राष्ट्रिय व्यापारमा पररनिर्भर रहँदै आएको छ,’ समाचारमा अगाडि भनिएको छ, ‘यदि नेपाल र चीन रेलबाट जोडियो भने द्वीपक्षीय व्यापारमा वृद्धि हुने छ। साथसाथै हिमालय राष्ट्र नेपालले दिल्लीको प्रभावलाई कम गर्ने अवसर समेत प्राप्त हुने छ।’

यो रेलमार्गले भारतको समेत ध्यान तान्नेछ। यद्यपि, यो योजना भारतसहित कुनै पनि तेस्रो पक्षसँग भने प्रत्यक्ष रुपमा सरोकार राख्दैन। 

यो रेलमार्ग नेपाल चीन र भारतबीचको रेल सञ्जालका लागि एउटा कोशे ढुंगा भने हुनसक्ने छ।

‘हवाई, पानी जहाज तथा सडक भन्दा सस्तो हुने यदी यी तीन देशहरु कार्गो रेलबाट जोडिए भने भारतीय उत्पादनले समेत चिनियाँ बजार प्राप्त गर्न सक्ने छ,’ ग्लोवल टाइम्सले अगाडि लेखेका छ। 

नेपाल चीन र भारतबीचको त्रिदेशीय साझेदारीको चर्चा पटक पटक उठ्दै आएको छ। गत महिना मात्र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बेइजिङको भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले त्रिदेशीय साझेदारीको लागि भारतसँग आह्वान गरेका थिए। 

यो रेल सञ्जाल नेपाल चीन र भारतलाई जोड्ने ‘ट्रान्स हिमालय इकोनमोकि कोरिडोर’को प्रमुख पाटो बन्नसक्छ। नेपालमा चिनियाँ प्रभाव बढ्यो भनेर भारतले चिन्ता लिनुभन्दा निकट साझेदारीको बाटो खोज्दै त्रिदेशीय आर्थिक कोरिडोरलाई अंगाल्नु नयाँ दिल्लीका लागि उत्तम रोजाइ हुन सक्ने समाचारमा भनिएको छ। 

राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो

यसैबीच प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। राष्ट्रपति विद्या देवी भण्डारीले पठाएको निमन्त्रणापत्र प्रधानमन्त्री ओलीले सीलाई हस्तान्तरण गरेका हुन्। 

राष्ट्रपति सीले नेपालको निमन्त्रणा स्वीकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता व्यक्त गरेको राससले जनाएको छ। 

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो। यस्तै प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता ४५ मिनेट भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell