PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चीनसँग भयो सम्झौता; कहिले आइपुग्ला त काठमाडौँमा चिनियाँ रेल?



पहिलोपोस्ट

चीनसँग भयो सम्झौता; कहिले आइपुग्ला त काठमाडौँमा चिनियाँ रेल?

काठमाडौं : नेपाल र चीनबीच रेलमार्ग निर्माण लगायतका १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा आज सम्झौता सम्पन्न भएको छ। 

चीनको राजकीय भ्रमणका क्रममा बेइजिङमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीचको भएको द्वीपक्षीय प्रतिनिधिमण्डल स्तरीय वार्तापछि यी सम्झौता भएका हुन्। 

दुई देशबीच थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ समेत भएको छ। ग्रेट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायतका विषयमा सम्झौता भएको हो। 

तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा दुई मुलुकबीच सझमदारी कायम भएको बताइएको छ। 

दुई देशबीच नेपालमा रेलमार्ग निर्माण, सुख्खा बन्दरगाहा निर्माण, अन्तरदेशीय विद्युत प्रशारण लाइन, मानव संशाधन विकासका क्षेत्रमा सहयोग सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

रेलसम्बन्धि सम्झौतामा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र चिनियाँ उप विदेशमन्त्री कङ वान युले हस्ताक्षर गरेका हुन्। 

कहिले आउँछ चिनियाँ रेल नेपाल?

बिहीवार भएको ‘ट्रान्स हिमालय’ रेलमार्ग निर्माण सम्बन्धी सम्झौतापछि चिनियाँ रेल नेपाल आउने बाटो खुलेको छ। 
नेपाल चीनले अगाडि सारेको बेल्ट एण्ड रोड परियोजना (बीआरआई)मा सहभागि भएसँगै केरुङ हुँदै चिनियाँ रेल काठमाडौँ सम्म आएको सपना नेपालीले देख्दै आएका छन्। 

रेलमार्ग निर्माण सम्बन्धी सम्झौता भएसँगै अब ७ वर्षभित्र चिनियाँ रेल काठमाडौँ आउन सक्ने छ। बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेट गरेपछि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सात वर्षभित्र चिनियाँ रेल नेपाल आइपुग्ने बताएका थिए। 


चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म तीब्र गतिको रेल ल्याएको छ। सो रेललाई चीनले नेपालको सीमाना केरुङसम्म ल्याउनका लागि निर्माण कार्य गरिरहेको छ। 

चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा काठमाडौँमा छिट्टै रेल पुग्ने बताएका थिए। उनले त्यसका लागि सम्बन्धि निकायलाई निर्देशन दिएको समेत जानकारी गराएका थिए। 

केरुङ काठमाडौँ रेलमार्गको पूर्व संभाव्यता अध्ययन कार्य भइरहेको छ। यो कार्य दुई महिना भित्र सक्ने गरी काम अगाडि बढिरहेको छ। त्यसपछि करिब २ वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि समय लाग्ने रेल विभाग स्रोतले बतायो। 

यद्यपि, बेइजिङमा पत्रकार सम्मेनलका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले डीपीआर डेढ वर्षभित्र तयार भइसक्ने जनाएका थिए। डिपीआर तयार भएको पाँच वर्षभित्र रेलमार्ग निर्माण सकिने उनले बताएका थिए। 

बुधवार भएको शिष्टाचार भेटका क्रममा नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका अध्यक्ष हे लिफेङ समेत सहभागी थिए। कमिसलनले चीनमा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्दै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell