PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

समूह चरणको आज अन्तिम दिन : यी हुन् ८ खेलाडी जसमाथि सबैको छ नजर



पहिलोपोस्ट

समूह चरणको आज अन्तिम दिन : यी हुन् ८ खेलाडी जसमाथि सबैको छ नजर

आज विश्वकपमा समूह ‘एच’ र ‘जी’ का अन्तिम खेल हुँदैछ।  बेलुकी ७:४५ बजे जापानविरुद्ध पोल्याण्ड र सेनेगलविरुद्ध कोलम्बिया अन्तिम १६ को ढोकाबाट छिर्नका लागि भिड्नेछन्। यता ११:४५ बजे पानामाविरुद्ध ट्युनिसिया र इंग्ल्याण्डविरुद्ध बेल्जियम खेल्नेछन्। इंग्ल्याण्ड र बेल्जियम अन्तिम १६ मा पुगिसकेका छन् भने पानामा र ट्युनिसिया आजका खेलपूर्व नै बाहिरिसकेका छन्। 
 

सिन्जी कागावा, जापान    

जापानले समूह चरणको अन्तिम खेलमा पोल्याण्डको सामना गर्दैछ। प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्न जापानले आजको खेल जित्नैपर्ने हुन्छ। विश्वकपको पहिलो खेलमा जापानले कोलम्बियालार्इ पराजित गर्दा कागावाले एक गोल गरेका थिए। उक्त गोलसँगै कागावाले जापानी फुटबल टोलीबाट ९३ खेलमा ३१ गोल पूर गरेका छन्। 

सिन्जी कागावा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट एट्याकिङ् मिडफिल्डरका रुपमा खेल्छन्। कागावा २०१२ एसियन अन्तर्राष्ट्रिय फुटबलर उपाधीबाट सम्मानित भएका थिए। अन्तिम १६ मा पुग्न जापानले आज अंक बिहीन पोल्याण्ड लार्इ पराजित गर्नुपर्ने हुनेछ। त्यसैले पनि कागावामाथि जापानी टोलीको निकै आशा रहनेछ।
 

रोबर्ट लेवानडोस्की, पोल्याण्ड

सेनेगल र कोलम्बियासँग पराजित भएको पोल्याण्ड समूहको पुछारमा छ। आजको खेल जितेको खण्डमा पोल्याण्डले जापानको विश्वकप यात्रा यही टुंग्याइदिने सम्भावना रहन्छ। त्यसैले पनि सान्त्वना जितका लागि पोल्याण्ड फुटबल टोलीका कप्तान रहेका रोबर्ट लेवानडोस्की माथि चुनौती रहने छ। 

रोबर्ट लेवानडोस्कीले पोल्याण्डका ९५ खेलमा उनले ५५ गोल गरेका छन्। २९ वर्षीय लेवानडोस्कीले रसिया विश्वकप छनौटमा सर्वाधिक १६ गोल गरेका थिए। २०१६-२०१७ बुन्डेसलिगाका वर्ष खेलाडी घोषित भएका लेवानडोस्की वायर्न म्युनिखबाट फुटबल खेल्दै आएका छन्। 
 

साडियो माने, सेनेगल

२६ वर्षीय सडियो मानेले जापानसँगको खेलमा एक गोल गरी सेनेगललार्इ अग्रता दिलाएका थिए। सो खेल बराबरीमा सकिएको थियो। सेनेगल फुटबल टोलीका स्टार खेलाडी मानेले सेनेगलका लागि ५३ खेलमा १४ गोल गरेका छन्।

लिभरपुलबाट फरवार्ड र विङ्गरका रुपमा खेल्ने माने टोलीमा राम्रो प्रदर्शनका कारणले मात्र नभर्इ मैदान बाहिर गरेको समाजसेवाबाट पनि धेरैका लागि प्रेरणा बनेका छन्। सडियो माने २०१६-१७ मा लिभरपुल वर्ष खेलाडी घोषित भएका थिए। २०१२ मा सेनेगल फुटबल टोलीमा डेब्यु गरेका मानेले २०१२ ओलम्पिक, २०१५ र २०१७ को अफ्रिकन कप अफ नेसनसमा राम्रो प्रदर्शन गरेका थिए। 
 

जेम्स रोड्रिगेज, कोलम्बिया

२०१४ विश्वकपका हरेक खेलमा गोल गरेका रोड्रिगेजले रसिया विश्वकपका खेलहरुमा भने अपेक्षा गरिएको जस्तो खेल्न सकेका छैनन्। रोड्रिगेजले विश्वकप छनोटमा उनले ६ गोल र ४ गोलका लागी एसिस्ट गरेका थिए। कोलम्बियाली फुटबल टोलीका स्टार खेलाडी जेम्स रोड्रिगेजले कोलम्बियाबाट ६३ खेलमा २१ गोल गरेका छन्।

अन्तिम १६ मा प्रवेश गर्नका लागि आजको खेल जित्नै पर्ने दवावका बीच रोड्रिगेजको प्रदर्शनमाथि कोलम्बियाली समर्थकहरुको नजर रहनेछ। ला-लिगा २०१४-१५ का उत्कृष्ट मिडफिल्डर घोषित जेम्स रोड्रिगेज वायर्न म्युनिखका एट्याकिङ् मिडफिल्डर र विङ्गर हुन्। 
 

लुइस टेजाडा, पानामा

पानामाले आज ट्युनिसियाको सामना गर्दैछ। दुवै टोली समूहमा अंक बिहीन रहँदै विश्वकपबाट बाहिरिसकेका छन्। पहिलो जितसँग सुखद् विदाइका लागि पानामा र ट्युनिसियाले मैदानमा संघर्ष गर्नुपर्ने हुन्छ।  

पानामाका अनुभवी खेलाडी लुइस टेजाडाले १०५ खेलमा ४३ गोल गरेका छन्। यो विश्वकपपछि सन्यास लिर्इ टोलीमा युवालार्इ पालो दिने बताएका टेजाडाले आफ्नो अन्तिम विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। तर, क्ल्बका लागि भने उनी फुटबल खेलिरहेछन्। अहिले उनी पेरुभियन प्रिमियर डिभिजनको स्पोर्ट ब्वाइज क्लबबाट व्यवसायिक फुटबल खेल्दैछन्। गोलका लागि उनको अथक मिहिनेतका लागि उनलार्इ मेटेडर उपनामले पनि चिनिन्छ। 
 

वाहबी खजरी, ट्युनिसिया

बेल्जियमसँग ५-२ ले पराजित भएपछि ट्युनिसियाको विश्वकप यात्रा टुंगिएको छ। उक्त खेलको इन्जुरी टाइममा वाहबी खजरीले एक गोल गरेका थिए तर त्यो जितका लागि पर्याप्त थिएन।

ट्युनिसियाका लागि ३८ खेलमा १३ गोल गरेका खजरी लिग वानमा रेननस र लोनमा सन्डरल्यान्डका लागि खेल्छन्। विभिन्न क्लबमा रही ६३ गोल गरेका गरेका छन् उनले। ट्युनिसियालार्इ सम्भावित पहिलो जित दिलाउन खजरीको भूमिका महत्वपूर्ण रहनेछ। 
 

ह्यारी केन, इंग्ल्याण्ड

इंग्ल्यान्डले पानामा माथि ६-१ अन्तरको जित हासिल गर्दा इंग्ल्याण्डका कप्तान ह्यारी केनले ह्रयाट्रिक गरेका थिए। ट्युनिसियाविरुद्धको खेलमा पनि केनले दुर्इ गोल गरेका थिए। यसैसँग रसिया विश्वकपमा ५ गोल सहित केन सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा छन्। उनले इंग्ल्याण्डका लागि २६ खेलमा १८ गोल गरेका छन्। इंग्ल्याण्डका लागि युवा चरणदेखि नै खेल्दै आएका ह्यारीलार्इ २०१७ मा ‘गार्डियन’ ले वेस्ट फुटबलर अन द प्लानेटको सूचीमा पाचौं नम्बरमा राखेको थियो। उनलार्इ इंग्ल्यान्ड वर्ष खेलाडी २०१७ बाट पनि सम्मानित गरिएको थियो।

२४ वर्षीय केन टोटेनह्याम हटस्परका स्ट्राइकर हुन्। युवाहरुको वर्चश्व रहेको इंग्ल्याण्डको नेतृत्व गरिरहेका ह्यारीको टोलीले बेल्जियम विरुद्ध पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

रोमेलु लुकाकु , बेल्जियम

पानामासँग ३-० र ट्युनिसियासँग ५-२ अन्तरले विजय भएको बेल्जियम उच्च मनोबलका साथ इंग्ल्याण्डविरुद्ध मैदानमा उत्रँदैछ। रोमेलु लुकाकुले पानामा र ट्युनिसियाविरुद्धको खेलमा दुर्इ-दुर्इ गोल गरेका थिए। बेल्जियमबाट ७१ खेलमा उनले ४० गोल गरेका छन्।

२३ वर्ष हुनुअघि प्रिमियर लिगमा ५० भन्दा बढी गोल गर्ने उनी ५ खेलाडीमध्ये एक हुन्। २५ वर्षीय लुकाकु म्यानचेस्टर युनाइटेडका प्रभावशाली स्ट्राइकर हुन्। एभर्टन, म्यान युनाइटेड लगायत विभिन्न क्लबहरुमा खेलेर उनले हालसम्म १७२ गोल गरिसकेका छन्।

रसिया विश्वकपमा सर्वाधिक ५ गोल गरेका ह्यारी केन र ४ गोल गरेका रोमेलु लुकाकुमाथि आज धेरैको नजर रहनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell