रसिया विश्वकपको अन्तिम १६ मा इंग्ल्याण्डसँगको खेलमा कोलम्बियाका दुर्इ खेलाडीले पेनाल्टीका गोल गर्न चुकेपछि कोलम्बिया विश्वकपबाट बाहिरियो। पराजयबाट आक्रोशित बनेका कोलम्बियाली समर्थकहरुले भने खेलाडीहरुमाथि दुर्व्यवहारका साथै हत्या गर्ने धम्की समेत दिन थालेका छन्।
कोलम्बियाका माटेउस उरिवको पेनाल्टी इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए भने कार्लोस बाक्कको प्रहार बाहिरिएको थियो। पराजित भए लगत्तै उरिव र बाक्कालार्इ लक्षित गरी अप्रिय सन्देशहरु सामाजिक संजालहरुमा देखिन थाल्यो।
फ्यानहरुका नजरमा खराब पेनाल्टी प्रहार गरेका बाक्काप्रति धेरै नकरात्मक पोष्टहरू आएका छन्। आक्रोशित समर्थकहरुले खेलाडीहरूलार्इ 'मृत' थिए भनेर चेतावनी दिएका थिए। साथै समर्थकहरुले खेलाडी आफैले आफैलाई मार्न आग्रह गर्दै दक्षिण अमेरिकी देशमा नफर्कन धम्की दिएका छन्।
समर्थकहरुका अनुसार हिजो कोलम्बियाली फुटबलर आन्द्रे स्कोबरको हत्या भएको २४ वर्ष पुगेको थियो। स्कोबारले १९९४ विश्वकपमा गरेको आत्मघाती गोलपछि कोलम्बिया विश्वकपबाट बाहिरिएको थियो र पछि उनको गोली हानेर हत्या गरिएको थियो।
बाक्कासँग रिसाएका समर्थकहरुले उनलार्इ सामाजिक संजालमा धम्कीका साथै गाली पनि गरेका छन्।
ट्वीटरमा डेभिड क्यासटेन्डाले लेखेका छन् 'कार्लँस बाक्का मर….. तिमीलार्इ यहाँ कसैले चाहदैंन। यो देशमा नफर्किनु।'
अर्का एक ट्वीटर प्रयोगकर्ता लेख्छन् 'म तिमीलार्इ घृणा गर्छु कार्लोस बाक्का। म तिम्रो थर, तिम्रो खेल,.. म तिम्री सबै कुरालार्इ घृणा गर्छु। तिमी क्यान्सरभन्दा खराब छौ, कम से कम क्यान्सर भयो भने तिमी डाक्टर कहाँ जान सक्छौ र तिमीसँग के छ थाहा पाउन सक्छौ। कार्लोस बाक्का, उदास भइ आफैलार्इ मार ताकि तिमी यो आलोचना सुन्दै बाँच्न नपरोस।'
प्याट्रिको लेख्छन् 'बाक्काको त्यो अन्तिम खेल थियो। त्यो मान्छे पहिल्यै मरिसक्यो।'
तर केही कोलम्बियन समर्थकहरुले भने घृणित मेसेजहरुप्रति आश्चर्य जनाएका छन्।
ब्रायन सान्जे लेख्छन् 'बाक्का र उरिवको मृत्युको कामना नगर। के हामी फेरी आन्द्रे स्कोबारसँग भएको घटना दोहोर्याउन चाहन्छौं। के यो कोलम्बिया हो? खेलमा हार जित हुन्छ। हामी एउटा राष्ट्र हौं।'
मोरजुआनसे लेख्छन् 'अब तिनीहरुले बाक्का र उरिवलार्इ दुर्व्यवहार र धम्काउन थाले। हिजो स्कोबारको हत्या भएको २४ वर्ष पुगेको थियो। हामीले पराजित हुन पनि सिक्नुपर्छ।'
अमेरिकासँग पराजित हुदैं फर्केको १२ दिनपछि २७ वर्षिय स्कोबारको गोली हानी हत्या गरिएको थियो। स्कोबरका भाइ साचीले कोलम्बियाले 'उक्त घटनाबाट केही पाठ नसिकेको' भन्दै इंग्ल्याण्डसँगको खेलअघि कोलम्बिया क्वाटरफाइनलम प्रवेश गर्न नसकेमा अर्को एक खेलाडीको हत्या हुन सक्ने आशंका व्यक्त गरेका थिए।
उनले आफू अनुकुल खेलको नतिजा नआएको खण्डमा कुनै पनि खेलाडीलार्इ हानी नपुर्याउन आग्रह पनि गरेका छन्।
उनले भने 'म ती व्यक्तिहरूलाई महत्वपूर्ण सन्देश पठाउन चाहन्छु जसले चीजहरू हिंसा र हतियारहरूको साथ समाधान गर्न सकिन्छ र कसैले गल्ती गर्दैमा तिनीहरूले कसैको जीवन लिन सक्दछन् भन्ने सोच्छन्। यस अवस्थामा एक फुटबल खेलाडीको जीवन नै किन नहोस्। फुटबल शान्ति र सामाजिक परिवर्तनको माध्यम हुनुपर्छ। अन्ततः यो एउटा खेल हो।'
उनले एक भाइको नाताले त्यो अवस्थाबाट आफू गुज्रिसकेकाले अरुहरु पनि सोही पिडाको शिकार नहोस् भन्ने इच्छा व्यक्त गरे।
'कार्लोस पनि आफ्ना गल्तीका लागि पक्कै दुखी होलान्। उनी र उनको परिवार डराइरहेको होला। मेरो भाइलार्इ कहिल्यै धम्काइएको थिएन। उसलार्इ कायरता पूर्वक गोली हानी मारियो।'
सामाजिक संजालमा यसरी खुला रुपले बाक्कालार्इ मार्ने धम्की दिइरहेको देख्दा कोलम्बियालीले स्कोबारको हत्यापश्चात पनि केही नसिकेको साचीले बताए।
साची भन्छन् 'यी मान्छेहरु अपराधी हुन्। यिनीहरु कोलम्बियन फुटबलका सच्चा समर्थक होइनन्। यिनीहरुलार्इ पक्राउ गरेर जेल हाल्नुपर्छ।'