PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

थाइल्याण्ड गुफामा उद्धार : बालक फसेको च्याम्बरमा पहिरोको खतरा, अक्सिजन पुर्‍याउन गएका गोताखोरको मृत्यु



पहिलोपोस्ट

थाइल्याण्ड गुफामा उद्धार : बालक फसेको च्याम्बरमा पहिरोको खतरा, अक्सिजन पुर्‍याउन गएका गोताखोरको मृत्यु

बैंकक : गुफामा फसेका बालकहरु तथा उनका कोचलाई उद्धारका लागि खटिएका एक गोताखोरको मृत्यु भएको छ। थाई नेभीका पूर्व कर्मचारी तथा गोताखोर समन गुननको मृत्यु भएको बीबीसीले जनाएको छ।
 
थामलुङ गुफामा फेसेका १३ जनाका लागि अक्सिजन पुर्‍याएर फर्किने क्रममा उनी बेहोस भएका थिए। ‘उनको काम अक्सिजन पुर्‍याउनु थियो। उनी फर्किन सकेनन्,’ एक अधिकारीले भने, ‘डुबेका उनलाई बाहिर निकालियो तर जीवित राख्न सकिएन।' 

उनले जलसेनाबाट अवकाश लिइसकेका थिए। तर बालकहरुको उद्धार कार्यमा सहयोग गर्न आएका थिए। धावक तथा साइक्लिस्ट गुनन उद्धार अभियानका एक हिस्सा थिए। 

‘गुफाभित्र एक दम गाह्रो हुन्छ। गुफामा अक्सिजन बोटलहरु पुर्‍याएर फर्किने क्रममा उनको मृत्यु भयो,’ थाई सिल कमान्डर रेयर एडम अर्पाकोर्नले भने, ‘उनलाई प्राथमिक उपचार दिइयो तर कुनै प्रतिक्रिया दिएनन्। उनलाई च्याम्बर ३ मा ल्याएर पुनः प्राथमिक उपचार दिइयो। तर कुनै पनि प्रतिक्रिया दिएनन् हामीले उनलाई अस्पताल पुर्‍यायौं।’
 
उनको निधनपछि पनि उद्धार अभियान जारी रहने उनले जानकारी दिए। ‘म विश्वास दिलाउन चाहन्छु कि उद्धार अभियान रोकिने छैन। हामी निरास हुने छैनौं। हाम्रा साथीको त्यागलाई हामीले खेर जान दिने छैनौं,’ उनले भने।

उद्धार अभियानमा थाइल्याण्डसहित, चीन, बेलायत, अमेरिका अष्ट्रेलियालगायतका देशबाट गोताखोर, सैनिक, प्रहरी तथा सर्वसाधरण गरी १००० उद्धारकर्मीहरु खटिएका छन्। 

गुननको मृत्युले उद्धार अभियानको चुनौति थप बढाएको छ।
 
गुफाको तेस्रो च्याम्बर जहाँ १३ जना फसेका छन्, त्यहाँ अक्सिनको मात्र घट्दै गएको छ। गुफाभित्र उद्धारका लागि ठूलो संख्यामा मानिसहरु खटिएका कारण पनि अक्सिजन प्रयाप्त छैन। अधिकारीहरुले ५ किलोमिटर लामो गुफामा अक्सिन सप्लाइका लागि केवल लैजाने काम गरिरहेका छन्।
 
गत सोमबार मात्र बेलायती गोताखोरहरुले वेपत्ता बालकहरु र उनीहरुको फुटबल कोचलाई फेला पारेका थिए। वेपत्ता भएको ९ दिन पछि फेला परेका उनीहरुको उद्धारका लागि हरेक प्रयासहरु भएका छन्।
 
उनीहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई नियमित स्वास्थ्य परीक्षणका साथै खाना उपलब्ध गराइएको छ। 

उद्धारकर्ताहरुले गुफाभित्रको पानी निकाल्ने प्रयास गरिरहेका छन्। तर यो प्रयासले सार्थकता पाएको छैन। 

यसअघि अधिकारीहरुले बालकहरु गुफामा लामो समय बस्न सक्ने भन्दै उनीहरुका लागि चार महिनाका लागि पुग्ने खाद्यान्न पठाउने तयारी गरेका थिए। तर अवस्था बिग्रिएको छ। गुफा माथिको पहाडमा निरन्तर पानी परिरहेको छ। पानीको सतह बढ्दै जाँदा उनीहरु फसेको च्याम्बर नै बगाउने खतरा बढेको छ। 

‘यदि पानीको तह घटेन भने बालकहरुले पौडी खेल्न सिक्नुपर्ने हुन्छ। कि त वर्षातको मौशम सकिँदासम्म गुफामै कुर्नुपर्ने हुन्छ,’  थाई सिल कमान्डर रेयर एडमले भने, ‘सुरुमा हामीले बालकहरु लामो समय बस्न सक्छन् भन्ने ठानेका थियौं। तर अवस्था फेरियो। हामीसँग सीमित समय छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell