काठमाडौं : फिफाले अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिवन्ध लगाएका एन्फाका पूर्व अध्यक्ष गणेश थापाले आफूलाई बलिउड अभिनेता सन्जय दत्त जस्तै बनाइएको बताएका छन्।
आइतवार राजधानीमा ने क पा सम्बन्ध खेलकुद महासंघहरुले आयोजना गरेको खेलकुद नीति विषयक अन्तरक्रिया कार्यक्रममा थापाले नेपाली खेलकुदमा राजनीति हावी भएको भन्दै आफू अहिले बोल्दा भ्रष्टाचारी बोलेको भन्ने आरोप लाग्न सक्ने बताए।
'म बोल्दै गर्दा भ्रष्टाचारी बोल्यो भन्नुहोला। कन्फिडेन्सका साथ भन्छु म। विभिन्न प्रतिवन्धमा परेँ होला त्यो भन्न चाहन्न, अहिले एउटा फिल्म चलेको छ, सन्जु। सन्जय दत्तलाई प्रतिवन्धमा परेर आतंककारी बनाइयो। मलाई पनि त्यस्तै भयो।'
उनले खेलकुद नीति बनाएर कुनै काम नहुने बताए। 'मैले पहिले नि भनेको थिएँ। खेलकुद परिषद राजनीतिक दलको संगठन विस्तार गर्ने साधन बन्यो। यो नीतिले केही हुँदैन।' थापाले भने।
उनले एउटा रंगशाला बनाउन ४ वर्ष लाग्ने र त्यसको कसैलाई वास्ता नभएको गुनासो गरे। 'रंगशालाको कसैलाई चिन्ता छैन। एउटा रंगशाला बनाउन ४ वर्ष लाग्छ? खेलकुदको विकास गर्ने की राजनीतिक थलो बनाउने' थापाले प्रश्न गरे। 'परिषदमा नियुक्त गर्दा ख्याल गर्नुपर्छ। राम्रो मान्छे नियुक्ति गर्नुपर्छ।'