PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विश्वकै ध्यान तानेको थाई केभ रेस्क्यूः थप पाँचको उद्धारका लागि खटियो टोली, कसरी उद्धार गरियो ८ बालकको?



पहिलोपोस्ट

विश्वकै ध्यान तानेको थाई केभ रेस्क्यूः थप पाँचको उद्धारका लागि खटियो टोली, कसरी उद्धार गरियो ८ बालकको?

थाइल्याण्ड: थाइल्याण्डमा गुफामा थुनिएका एकजना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीमध्ये पाँच जनाको उद्धारका लागि अनुभवी गोताखोरहरू एयर सिलिन्डरसहित मंगलबार बिहानै गुफाभित्र प्रवेश गरेका छन्।

बीबीसीका अनुसार अष्ट्रेलियन चिकित्सक रिचर्ड हेरिसले उद्धारका लागि बालकहरूको स्वास्थ्य परीक्षण सुरु गरेका छन्। दशकको डाइभिङ अनुभवसहितका हेरिस गोताखोरहरूसँग गुफा छिरेका हुन्। उनीसँग फिनल्याण्डका मिको पासी र डानने क्षभानसमेत पुगेका छन्। उनीहरूले बालकहरूलार्इ डाइभ गर्न सिकाउने छन्।

यसअघि चार बालकलाई सोमबार बाहिर निकालिएको थियो। थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा झण्डै दुई हप्ता अगाडि थुनिएकाहरुलाई बाहिर निकाल्ने क्रम आइतबार बिहानबाट सुरु भएको थियो।

स्थानीय समय अनुसार सोमबार बेलुका पाँच बजे उनीहरूलाई गुफाबाट बाहिर निकालिएको थियो। झण्डै छ घण्टा लामो प्रयासपछि उनीहरूलाई बाहिर निकालिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

बाहिर निकालिएका बालकहरूलाई हेलिकोप्टरमार्फत् सिधै चियाङ रायमा रहेको अस्पताल लगिएको छ। घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ तारिखका दिन उनीहरू गुफामा फसेका थिए। हराएको दिनदेखि खोजी सुरु भए पनि नवौँ दिनमा उनीहरूको अवस्था पत्ता लागेको थियो।

फसेका १३ जनामध्ये अरू चारजनालाई पहिलो चरणमा आइतबार सकुशल उद्धार गरी बाहिर निकालिएको थियो। उद्धारको कार्य अति कठिन भएकाले आइतबार चारजनालाई मात्र बाहिर निकाल्न सकिएको थियो।

सोमबार पनि उद्धार कार्य स्थानीय समयअनुसार बिहान १० बजे सुरु भएकोमा बेलुका मात्रै उनीहरूलाई बाहिर निकालिएको थियो।

उद्धारका लागि अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरूलाई परिचालन गरिएको छ। साथै उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा एम्बुलेन्स पनि पूर्ण तयारी अवस्थामा राखिएको छ।

उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको छ। उनीहरूलाई बाहिर निकाल्न गुफा वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफाभित्रको ग्यास बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ।

गुफा बाहिरबाट करिब ३०० मिटर गहिरो प्वाल पारिएको छ। आइतबार यिनै चिम्नीबाट चारजनालाई निकालिएको हो। उद्धार कार्यमा खटिएकाहरुले बाँकीलाई मंगलबारसम्ममा बाहिर निकालिने जानकारी दिएका छन्।

मंगलबार बिहानैदेखि उद्धार कार्य सुरु भएको छ। गोताखोरहरू बाँकी चार बालक र उनका कोचको उद्धार गर्ने कार्य सुरु गरेको बीबीसीले जनाएको छ।

उद्धार गर्न बाँकी रहेका बाँकीको स्वास्थ्य अवस्था समेत सामान्य रहेको उनीहरूलार्इ साँघुरो गुफामा पौडी खेल्न सिकाइँदै छ।

उद्धार गरिएका बालकको अवस्था कस्तो छ?

उद्धार गरिएका ८ बालकहरूलार्इ सार्वजनिक गरिएको छैन। यद्पि उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

सोमबार निकालिएका चार जनालार्इ स्ट्रेचरको सहायताले गुफाबाट निकालिएको थियो र उनीहरूलार्इ चियाङ राई सहरको अस्पतालमा लगिएको थियो।

पहिलो चरणमा आइतबार निकालिएका चार बालकलार्इ अस्पतालमा क्वारेन्टाइन् केयरमा राखिएको बीबीसीको रिपोर्टमा उल्लेख छ।

उनीहरूलार्इ उनीहरूका परिवारसँग मिलन गराउन बाँकी नैछ। थाई अधिकारीहरूले उद्धार गरिएका बालकहरूको अवस्था सामान्य रहेको र उनीहरूले खाना खान सक्ने बताएका छन्।

यद्पि उनीहरूको रोजाइको 'पोर्क डिस' (बंगुरका परिकार) भने उनीहरूको पाचन शक्तिको सन्तुलनमा नआउँदा सम्म नदिइने भएको छ।

 

कसरी उद्धार गरियो?

उनीहरूको उद्धारका लागि ९० जनाका अनुभवी गोताखोर खटिएका छन्। जसमध्ये ४० जना थाइल्याण्डका छन् भने बाँकी अन्य देशका छन्। उनीहरूले गुफा प्रणाली अन्तर्गत काम गरिरहेको बीबीसीमा उल्लेख छ।

उनीहरूले बालकहरूलाई अँध्यारो, साँघुरो पानीले भरिएको सुरुङमा पौडी खेल्न सिकाएका छन्। साथै गुफाको मुखतिर निकालेका छन्। जहाँदेखि बालकहरू निकालिएको छ। त्यहाँ अनुभवी गोताखोरहरूलार्इ पनि गाह्रो भइरहेको छ।

यो पूरा अवधिमा गोताखोरहरू जमिनसँगै पानीमा हिँड्नुपर्छ। पहाड चढ्नुपर्छ र साथसाथै पौडी पनि खेल्नुपर्छ। यसका लागि त्यसस्थानमा पहिले नै डोरी बिच्छाइएको छ।

पुरै मुख ढाक्ने मास्क लगाइएको छ। जसले परम्परागत मास्कले भन्दा सहज रूपमा गोताखोरहरूलार्इ स्वासप्रस्वासमा मद्दत पुर्‍याउँछ।

उद्धारका क्रममा प्रत्येक बालकहरूलार्इ दुर्इ जना गोताखोरहरूले साथ दिएका छन्। उनीहरूले बालकका लागि अक्सिजन बोकिरहेका हुन्छन्।

एकदम अप्ठ्यारो स्थान भनेको आधा बाटो कटेपछि आउने टी जक्सन हो। यो यति साँघुरो छ कि यस स्थानमा पार गर्नका लागि गोताखोरहरूले आफ्नो अक्सिजन सिलिण्डर शरीरबाट निकाल्नु पर्छ। यस भाग छिचोलेपछि च्याम्बर-३ आउँछ। यो स्थानलार्इ बेसको रूपमा तयार पारिएको छ। यहाँ बालकहरूले अन्तिम कठिनाइ पार गर्नका लागि आराम समेत गर्न पाउँछन्। यहाँबाट उनीहरू सहज रूपमा बाहिर निस्किन सक्छन्।

उनीहरू फसेको स्थानबाट बाहिर निस्कनु आफैँमा जोखिमपूर्ण छ। शुक्रबार मात्र यहाँ गएका पूर्व थाई नेभीका गोताखोरको मृत्यु भएको थियो।

 

जोखिम कायमै

बालकहरू उद्धार भइरहेका खबरहरू आए पनि जोखिम भने कायमै छ। गुफाभित्र रहेका पाँच जनाको उद्धार कार्य सुरु भएको अवस्थामा अविरल वर्षा परिरहेको छ। गुफाको मुखसम्मै पानी पुगेको छ। यदि यो पानीको सतह बढ्दै गयो भने उनीहरूको उद्धार थप कठिन हुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell