काठमाडौँः आवासीय चिकित्सकहरूको संस्था नेशनल रेजिडेण्ड डक्टर्स एसोसिएशनले आजदेखि आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेका छन्। एशोसियनको आन्दोलनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरान र सरकारले तोकेका र सरकारको लगानी रहेका अन्य सरकारी शिक्षण अस्पतालमा असर पर्नेछ।
यी बाहेक अन्य अस्पतालमा एशोसिएनको आन्दोलनको कुनै असर पर्ने छैन।
नेपाल चिकित्सक संघले एक घण्टामात्र सरकारको विरोधस्वरुप धर्ना दिने कार्यक्रम रहेकाले रेजिडेण्ट डक्टरहरूको आन्दोलनले सबै अस्पतालमा असर नपरेको चिकित्सक संघको महासचिव डा लोचन कार्कीले बताए।
१४ दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसीको माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै उनीहरूले आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने घोषणा गरेका हुन्।
डा केसीको माग पूरा नगरी सरकार मौन बस्नुले आफूहरू स्तब्ध भएको भन्दै आन्दोलनको कार्यक्रम गर्नुपरेको एशोसिएशनले जनाएको छ। एसोसिएशनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन्।
हड्तालबाट हुने असुविधा तथा क्षतिको जिम्मेवार सरकार आफैँ रहने उनीहरूले बताएका छन्। एसोसिएशन र नेपाल चिकित्सक संघले केही दिन यता हातमा कालोपट्टि बाँधेर ड्युटी गरिरहेका थिए।