PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सत्यमान गुण्डा होइनन्, 'एमाले'का कार्यकर्ता हुन् : सांसद नविना लामा



सविन ढकाल

सत्यमान गुण्डा होइनन्, 'एमाले'का कार्यकर्ता हुन् : सांसद नविना लामा

काठमाडौं : बिहीवार बिहान बालुवाटारबाट गुन्डागर्दीमा सामेल भएको भन्दै सत्यमान लामा पक्राउ परे। महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले लामालाई पक्राउ गरेको थियो। पक्राउ परेको केही घन्टा बित्न नपाउँदै लामा जमानीमा रिहा भए। 

लामालाई जमानीमा रिहा गर्न प्रहरी परिसर पुगेकी थिइन् प्रतिनिधि सभा सांसद नविना लामा। ‘गुन्डा’ का रुपमा कुख्यात सत्यमान रिहा भएपछि सांसद लामाको आलोचना सुरु हुन थाल्यो। 

सांसद लामाले भने सत्यमान गुन्डागर्दीमा सामेल नभएको दावी गरिन्। पहिलोपोस्टसँगको कुराकानीमा सांसद लामाले भनिन्, 'हामी राजनीतिक व्यक्ति हौं। उसलाई कसैले फसाएको थाहा पाएर छुटाएको मात्र हुँ। सत्यमान लामा मेरो कुनै नाता छैन। राजनीतिक नाता मात्र हो।'

प्रहरीले गुन्डाका रुपमा समातेको सत्यमान काभ्रे तिमालका हुन्। उनले स्थानीय तहको निर्वाचनमा एमालेको युवा परिचालन कमिटी संयोजकको रुपमा काम गरेका थिए। सांसद लामाले भनिन्, 'उनी एमालेका राम्रा कार्यकर्ता हुन्। चुनावको समयमा सहयोग गरेका थिए। तर, उनलाई फसाउन गुन्डा भनिएको छ। उनी गुन्डा होइनन्। उनी राम्रा मालाका व्यापारी हुन्। सरकारबाट इजाजत लिएर कर तिरेर उनी व्यापार गरिररहेका छन्।'

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले थुनामा राखेर अनुसन्धान गर्न म्याद थप नगरेपछि उनी छुटेको परिसरका डिएसपी मोहन थापाले बताए। ‘सिडियो कार्यालयले जमानीमा रिहा गरेर अनुसन्धान गर्नु भनेपछि रिहा गरेका हौं,' उनले भने।

सांसदले जमानीमा उनलाई छुटाएकी हुन्। 'सत्यमान गुन्डा भएको ठहरिए म नै उसको पछाडि लाग्दिन,’ सांसद लामाले भनिन्।  

वुद्धचित्तको कारोबार गर्ने उनले व्यापारीलाई धम्की दिएपछि उजुरी परेको थियो। लगातार धम्की दिँदै आएपछि प्रहरीले उनलाई समातेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell