PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

कलंकीदेखि महाराजगंजसम्म यस्तो हुनेछ चक्रपथ : अन्डरपास, फ्लाइओभर र झिलमिल सडक



दिनेश खड्का

कलंकीदेखि महाराजगंजसम्म यस्तो हुनेछ चक्रपथ : अन्डरपास, फ्लाइओभर र झिलमिल सडक

काठमाडौं : चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा विस्तार गर्न लागिएको चक्रपथको कंलकी-महारागञ्ज खण्डमा डिजाइन परिवर्तन हुने भएको छ।

कोटेश्वर-कंलकी पहिलो खण्डमा डिजाइनमै त्रुटी भेटिएपछि दोस्रो खण्डमा डिजाइन नै परिवर्तन  गरेर विस्तार गर्न लागिएको हो। अघिल्लो खण्डमा विस्तार गर्दा धेरै कमीकमजोरीहरु भेटिएकाले नयाँ डिजाइन बनाएर विस्तार गर्न लागिएको चक्रपथ सुधार योजना प्रमुख प्रकाशचन्द्र भण्डारीले जानकारी दिए। उनका अनुसार सडक विस्तार पैदल यात्रु मैत्री नभएको र सवारीसाधन समेतको दुर्घटना बढेपछि डिजाइन नै परिवर्तन गर्न लागिएको हो।

‘अहिले चिनियाँ प्राविधिकहरुले दोस्रो खण्डको डिजाइन धमाधम तयार पारिरहेका छन्। हामीले इनिसियल फेजमै परिवर्तन गर्नका लागि भनेका थियौं। केही परिवर्तन पनि भएका छन्। हामी  डिजाइन तयार भएपछि बृहत रुपमा नै छलफल गरेर परिवर्तन गर्न लगाउँछौं,’ उनले भने। चिनियाँ प्राविधिकहरुले प्रारम्भिक डिजाइन नेपाल सरकारलार्इ दिइसकेको छ भने फाइनल डिजाइन बनाउने काम अाखिरितिर पुगेको छ।

भण्डारीका अनुसार सडकको बीचमा ‘मेडियन’,बाटो काट्नका लागि आवश्यकता हेरेर जेव्रा क्रसिङ, ट्राफिक सिंग्नल, हरियाली, छुट्टै साइकल लेन लगायत राख्न लागिएको हो। कोटेश्वर-कंलकी खण्डमा ‘मेडियन’ छैन्। पहिलो खण्डमा मुख्य लेनको बीचमा ‘मेडियन’ नहुँदा दुर्घटनाको जोखिम उच्च भएकाले दोस्रो खण्डमा मेडियम राख्न लागिएको हो।

यो २ मिटरको हुनेछ। पहिलो खण्डमा सोलार बत्ती राखिएको छैन। दोस्रो खण्डमा सोलार बत्ती समेत राखेर सडकलार्इ जीवन्त तुल्याउन लागिएको हो। शहरका सडकमा रातमा समेत सवारीसाधन गुड्ने पैदल यात्रुहरु हिड्ने भएकाले सुरक्षाका हिसाबले पनि सोलार बत्ती राख्न लागिएको आयोजनाको भनाइ छ।

त्यसै गरी पहिलो खण्डमा जेब्रा क्रसिङ बनाइएको छैन्। तर दोस्रो खण्डमा बाटो क्रस गर्नका लागि पर्याप्त जेब्रा क्रसिंङ र आवश्यकता अनुसार ट्राफिक लाइटहरु राख्न लागिएको छ। त्यसैगरी पहिलो खण्डमा  साइकल लेन छैन। दोस्रो खण्डमा स्पष्ट रुपमा साइकल लेन छुट्याएर राखिने भण्डारीले जानकारी दिए। त्यसै गरी वरिपरि विरुवाहरु रोपेर सडकलार्इ हरियाली बनाइने छ। आवश्यकता अनुसार ओभर हेड ब्रिज (आकाशे पुल) निर्माण गरिने आयोजनाले जनाएको छ।

यो खण्डमा पर्ने स्वयम्भू सम्पदा क्षेत्र भएकाले अधिग्रहण गर्न मिल्दैन। त्यसकारण यो एरियामा करिब ५ मिटर फ्लाइ ओभर बनाउने वा अण्डर पास बनाउने भन्ने छलफल भइरहेको छ। उनका अनुसार महाराजगंजमा अण्डरपास वे  बनाउने विषयमा समेत छलफल भइरहेको छ। यस खण्ड पनि पहिलो खण्ड जस्तै ८ लेनकै हुनेछ।

८.२ किलोमिटर लामो यो खण्डको विस्तार असोजदेखि सुरु गर्न लागिएको सडक विभाग वैदेशिक महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भदौसम्म मुआब्जा वितरण,साइट क्लियर लगायत सक्ने र असोजबाट विस्तारको कार्य सुरु गर्ने लक्ष्य लिइएको छ।

चीन सरकारको छ अर्ब रुपैयाँ अनुदान सहयोगमा विस्तार गर्न लागिएको यो सडक काम सुरु गरेको चार वर्षमा सक्ने लक्ष्य लिइएको छ। त्यस्तै महाराजगञ्ज-कोटेश्वर फाइनल खण्डको समेत सर्भे भैरहेको चक्रपथ सुधार योजनाले जनाएको छ। यो खण्डको समेत चिनियाँ अनुदानमा बनाउने विषयमा छलफल भइरहेको वैदेशिक महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell