PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ पक्राउ



पहिलोपोस्ट

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ पक्राउ
फोटो : रोयटर्स

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउलार्इ गरिएको छ। शुक्रबार लन्डनबाट पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिए लगत्तै शरिफलार्इ नियन्त्रणमा लिइएको हो। यस्तै शरीफकी छोरी मरियम नवाजलाई पनि पक्राउ गरिएको छ। उनीहरु दुवैलार्इ रावलपिन्डी नजिकैको अडियाला कारागारमा राखिएको छ।

शरीफ र उनकी छोरी मारियमलाई पाकिस्तानको अदालतले भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको थियो। तीन पटक पाकिस्तानका प्रधानमन्त्री भइसकेका शरिफलाई १० वर्ष, र मरियमलाई ७ वर्ष जेल सजाय सुनाइएको छ। फैसला सुनाउने बेला शरिफ आफ्नी श्रीमतीको उपचारका लागि लन्डनमा थिए। 

स्वदेश फर्कनु अघि लन्डनमा रहेका शरीफले आफू स्वदेश फर्के लगत्तै सेनाले पक्राउ गर्न सक्ने बताएका थिए। शरिफले आफूलार्इ पाकिस्तानी सेनाले सधैँ तारो बनाएको बताउँदै भनेका थिए, 'म पाकिस्तानी सेनाको तारो बनेको छु, मलाई लाग्छ म विमानस्थलमा पुगेपछि उनीहरु मलाई पक्राउ गर्न सक्छन्। मेरो आँखा सामुन्ने जेल छ, तै पनि म आफ्नो देश फर्किदैंछु।' साथै सत्तामा रहेकाहरुले आफूलार्इ फसाएको नवाजले आरोप लगाएका थिए।

विमानस्थलमा शरिफको स्वागत गर्नका लागि मुस्लिम लिगले आफ्ना कार्यकर्तालार्इ अपिल गरेको थियो। त्यसैले शरिफलार्इ पक्राउ गर्नुपूर्व उनका समर्थकलार्इ विमानस्थल पुग्नबाट रोक्न सडक बन्द गरिएको थियो भने इन्टरनेट र मोबाइल सेवा पनि बन्द गरिएको थियो। त्यो क्रममा प्रहरीले धेरै नेता तथा कार्यकर्तालार्इ पक्राउ गरेको बताइएको छ। प्रहरीले यो भन्दा अघि पनि विभिन्न दलका ६०० जनाभन्दा बढी कार्यकतालार्इ शान्तिसुरक्षा बिथोलेको आरोपमा पक्राउ गरेका थियो।

पाकिस्तानमा यही जुलाई २५ मा संसदको निर्वाचन हुन लागेको छ। निर्वाचनको प्रचारप्रसार अभियान शुरु भइसकेको अवस्थामा शरिफलाई पक्राउ गरिएपछि पाकिस्तानको राजनीतिमा भने नयाँ उतारचढाव आउने अनुमान गरिएको छ। शरिफ पक्राउ परेकै दिन १३० जना भन्दा बढीको ज्यान जाने गरी दुर्इ आत्मघाती आक्रमण गराइएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell