PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आजबाट उपत्यकामा बक्स अफिस लागू 



रीना मोक्तान

आजबाट उपत्यकामा बक्स अफिस लागू 
प्रतीकात्मक फोटो : www.movienewsnet.com

काठमाडौं : आजबाट उपत्यकाका सम्पूर्ण हलमा बक्स अफिस लागू भएको छ। चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जनले बक्स अफिस लागू भएको जानकारी दिए। पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, 'हामी सबै सफल भयौं।'

संचारमन्त्री गोकुल प्रसाद बास्कोटाले उद्घाटन गरेपछि बक्स अफिस औपचारिक रुपमा सुरू हुनेछ। मङ्गलबार २:३० मा संचारमन्त्रीले बोर्डमा पुगेर बक्स अफिसको उद्घाटन गर्नेछन्।

बक्स अफिस फिल्म व्यवसायको डाटा केन्द्रिकृत गराउने प्रविधि हो। सम्पूर्ण हलहरुबाट सफ्टवेयर मार्फत् सर्भरमा लिङ्क गराउँदै यसले तथ्याङ्क संकलन गर्छ। सर्भरमा जम्मा भएको तथ्याङ्क फिल्मका निर्माता या वितरकलाई दिइन्छ। यसको सर्भर चलचित्र विकास बोर्डमा राखिएको छ।  

संयोजक महर्जनले बक्स अफिस विश्वकै पहिलो बक्स अफिस रहेको दावी गरे। उनले भने, 'सम्पूर्ण डाटा एकै ठाउँमा संकलन हुने यो पहिलो बक्स हो। सम्भवत अन्य देशमा यस्तो प्रणाली छैन।' 

'चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईजीको कार्यकालमा सफ्टवेयरको निर्माण कार्य भएको हो। निकिता म्यामको कार्यकालमा लागू भएको भनौं न। तर, उहाँको कार्यकाल सकियो,' उनले थपे।

विशेषगरी निर्माता, वितरक, हल सञ्चालकमा बक्स अफिसको सरोकार हुने उनले बताए। 
 

निर्माता वितरकलाई सर्भरको कोड

नेपाल चलचित्र संघका अध्यक्ष एवं बक्स अफिस कार्यन्वयन समितिका सदस्य प्रदीप कुमार उदयले अनलाइन मार्फत् सम्बधित फिल्म वितरकले फिल्मको व्यापारबारे जानकारी पाउने बताए। उनका अनुसार बोर्डले फिल्म वितरक र निर्मातालाई सर्भरको कोड दिनेछ। उक्त कोडबाट सर्भर खोलेपछि वितरकले फिल्मको सम्पर्ण व्यापार थाहा पाउनेछ। कोड वितरक र कर कार्यलयलाई दिइनेछ। फरक फिल्मलाई फरक कोड दिइनेछ। सर्भर कोडबारे सम्बन्धित प्राविधिकलाई मात्र थाह हुने उनले जनाए।

बक्स अफिसको टेण्डर पूर्व अध्यक्ष राजकुमार राईको कार्यकालमा सुरु भएको र यसको सुचारु निवर्तमान अध्यक्ष निकिता पौडेलको कार्यकालमा भएकाले यो समग्र अध्यक्षहरु र कार्यन्वयन समितिको उपलब्धि रहेको उनले बताए। 
 

ऐतिहासिक उपलब्धि : निकिता पौडेल

चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेलले आफ्नो कार्यकालको सुरुमा नै बक्स अफिस साउनबाट सुरु हुने दाबी गरेकी थिइन्। सात महिनामा नै उनी पदमुक्त भइन् तर बस्स अफिस सुरु भयो। उनी उत्साही छिन्। 

भनिन्, 'बक्स अफिस ल्याउन यत्रो मिहिनेत गरेकी छु। मलाई एकदमै खुशी लागेको छ। यो बक्स अफिसको सुरुवात हो। यसलाई अझै अगाडि बढाउनुपर्छ। सिस्टम पूर्णरुपले अझै मिलाउनुपर्छ।'

सात वर्षअघिदेखि बक्स अफिसका कुरा सबै अध्यक्षले कुरा उठाए पनि सात महिनाको आफ्नो कार्यकालमा बक्स अफिस लागू गर्ने मिति नै पक्का गरेकी थिइन् निकिताले। उक्त मितिमा नै बक्स अफिस लागू भयो। 

'मेरो उद्देश्य पूरा भयो। नेपाली फिल्म क्षेत्रको लागि ऐतिहासिक उपलब्धि भयो। मेरो सात महिनाको मेहेनत र सबै बक्स अफिस टिमले गर्दा यो सफलता हासिल भएको हो,' उनले थपिन्। 

निर्देशकहरु उत्साही  

'डाइङ क्याण्डल'का निर्देशक नरेश कुमार केसीले नेपाली फिल्म इन्डष्ट्रीको लागि यो ठूलो फड्को रहेको बताए। 'अहिलेसम्म कहाँ के कत्ति कमायो भन्ने कुरा आलोचना र तर्कमा नै सीमित थियो। अब आधिकारिक तथ्य निस्कनेछ। डाटाबेस तथ्यले फिल्म इण्डष्ट्री विकास हुनेछ,' उनले भने।

'जात्रा' र 'सत्रु गते' निर्देशक प्रदीप भट्टराइले सामाजिक सञ्जाल फेसबुकमा बक्स अफिस लागू हुने विषयमा खुशी व्यक्त गरेका थिए। उनले केही दिनअघि फेसबुकमा लेखेका थिए- 'पर्सीदेखि बक्सअफिस लागू हुने खुशीमा एक सेल्फी हानियो है।'

वितरक के भन्छन्?

फिल्म वितरक गोपाल काजी कायस्थले बक्स अफिसका कारण वास्तविक हिसाब सर्भरले दिने भएकोले आफू खुशी भएको बताए। उनले हल रिपोर्टका लागि हल सञ्चालकलाई फोन गर्नुको झन्झट हटेको बताए। कम्युटर र मोबाइलबाट नै हल रिपोर्ट हेर्न पाइने भएकाले उनी  उत्साहित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell