PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अनिल शाहको शतक र शक्तिको उत्कृष्ट बलिङ, नेपाल २२३ रनले विजयी



पहिलोपोस्ट

अनिल शाहको शतक र शक्तिको उत्कृष्ट बलिङ, नेपाल २२३ रनले विजयी
फोटो : रमन शिवाकोटी

काठमाडौं : युके टुरमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो तेस्रो अभ्यास खेलमा इस्ट लण्डन-११ लाई २२३ रनको फरिकलो अन्तरले पराजित गरेको छ। नेपालको जितमा अनिल शाहले शतक प्रहार गरे भने बलिङमा भेट्रान स्पिनर शक्ति गौचनले उत्कृष्ट प्रदर्शन गरे।

अनिलले ब्याटिङमा १३१ रन बनाए। यस्तै शरदले ९८ रन प्रहार गरे। बलिङमा शक्तिले ४ विकेट लिए।

खेलमा पहिले ब्याटिङ गरेको नेपालले अनिल शाहको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनाएको छ। ओपनर अनिल शाहले १३१ रन प्रहार गरे भने शरद भेषावकर शतकबाट २ रनले चुके। ५८ रन हुँदा ३ विकेट गुमाएको नेपालको लागि अनिल र शरदले मिलेर चौथो विकेटका लागि २१२ रनको साझेदारी गरे।

अनिलले ११८ बल खेल्दै १९ चौका र ३ छक्का प्रहार गरे। यस्तै ८६ बल खेलेका शरदले ६ चौका र ५ छक्काको मद्दतमा ९८ रन बनाए। यस्तै सोमपाल कामीले २९ तथा रोहित कुमार पौडेलले ११ रन जोडे

इस्ट लण्डन-११ का लागि अर्सलान खानले ३ तथा नबिल अजिजले २ विकेट लिए।

जवाफमा ३३९ रनको लक्ष्य पछ्याएको इस्ट लण्डन नेपाली बलिङ सामु टिक्न सकेन र ३८.५ ओभरमा ११० रनमा अलआउट भयो। उसका लागि डारेन इरोनसाइडले सर्वाधिक ३८ रन बनाएभने भाज पुरेवालले २२ रन जोडे। आकाश राजी २७ रनमा नटआउट रहे। बाँकी खेलाडिले दोहोरो अंक छुन सकेनन्।

इस्ट लण्डनलाई अलआउट गर्न भेट्रान शक्तिले ९.५ ओभरमा ५ मेडन राख्दै सर्वाधिक ४ विकेट लिए। यस्तै करण केसी र ललित नारायण राजवंशीले २-२ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए।

नेपालले अब अन्तिम अभ्यास खेल बिहीवार इस्ट लण्डन शार्कसँग खेल्दैछ। खेल टी-२० फर्म्याटमा हुँदैछ। यसअघिको दुई अभ्यास खेल मध्ये नेपालले ह्यापसायर हग्स विरुद्धको ५० ओभरको खेल जितेको थियो भने सेन्ट क्रससँग भएको टी-२० खेलमा हार बेहोरेको थियो।

नेपालले यही जुलाई २९ (आइतवार) लर्ड्स ग्राउण्डमा एमसीसी र नेदर्लयाण्ड्स सम्मिलित टी-२० ट्राई सिरिज खेल्दैछ। यस्तै अगष्ट पहिलो साता नेदरल्याण्ड्ससँग ऐतिहासक ओडिआई सिरिज खेल्दैछ। त्यसैको तयारी स्वरुप नेपालले अभ्यास खेल खेलेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell