काठमाडौँः गएरातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा रसुवामा चार जनाको मृत्यु भएको छ। पहिरोले टिमुरे प्रवेशद्धारमा रहेको प्रहरीको अस्थायी पोस्ट पुरेको छ। यस्तै, होटल समेत पुरिएका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले पहिरोमा परी अहिलेसम्म चार जनाको मृत्यु भएको बताए।
मृत्यु हुनेमा श्याम तामाङ, विक्रम नेवार, मंगले तामाङ र सुस खड्का रहेका छन्।
मृत्यु हुने चारै जना सिन्धुपाल्चोकका हुन्। उनीहरु सवारी चालक हुन्। होटलमा सुतिरहेको बेलामा पहिरोले पुरेको हो।
क्षेत्रीका अनुसार दश जनाभन्दा बढी अझै बेपत्ता छन्। यस्तै, १२ जना घाइतेको उपचार भइरहेको छ।
रातिको समयमा पहिरो गएका कारण बिहानैदेखि खोजी र उद्धार कार्य भइरहेको छ। घटनास्थलमा अहिले सुरक्षाकर्मी परिचालन भइसकेका छन्।