काठमाडौं : हाल युके टुरमा रहेको नेपाली क्रिकेट टोलीले आज खेलेको अन्तिमा अभ्यास खेलमा जित हात पारेको छ।
टी-२० फर्म्याटमा भएको खेलमा नेपालले इस्ट लण्डन शार्कलाई १३४ रनको फराकिलो अन्तरले हरायो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीको अर्धशतक मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २५१ रन बनाएको थियो।
नेपालका लागि ज्ञानेन्द्रले सर्वाधिक ७५ रन बनाए भने पारसले ६७ रन जोडे। पारस र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि १०४ रनको साझेदारी गरे। ४७ बल खेलेका ज्ञानेन्द्रले ५ चौका र ६ छक्का प्रहार गरे भने पारसले ३० बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे।
यस्तै विष्फोटक ब्याटिङ गरेका ऐरीले २६ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै नटआट ६७ रन बनाए। रोहित कुमार पौडेलले ५ बल खेल्दै १ छक्काको मद्दतमा नटआउट १२ रन बनाए।
इस्ट लण्डन शार्कका सलिम अकवरले २ विकेट लिए।
जवाफमा २५२ रनको उच्च लक्ष्य पछ्याएको इस्ट लण्डन शार्कले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर ११७ रन बनाउन सक्यो। उसका लागि तकि अब्बासले सर्वाधिक ३२ तथा हफिज यावरले २६ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।
शार्कलाई कम स्कोरमा रोक्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। ३ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै मात्र २ रन खर्चर ३ विकेट लिए। यस्तै ललित नारायण राजवंशीले ४ ओभरमा २५ रन खर्च २ विकेट लिए। करण केसी, दीपेन्द्र सिंह ऐरी र शरद भेषावकरले १-१ विकेट लिए।
नेपालले टी-२० ट्राई सिरिज र ओडिआई सिरिज खेल्नुअघि खेलेका ४ अभ्यास खेल मध्ये ३ खेल जित्दा १ मा हार बेहझर्यो। दुवै वान डे म्याच जितेको नेपालले एक टी-२० खेल जित्दा अर्को खेलमा भने पराजित भएको थियो।