काठमाडौं: छायाँकनको तयारीमा रहेको फिल्म 'गोपी'मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छिन्। फिल्ममा अभिनेता खगेन्द्र लामिछाने र सुरक्षा पन्तसँगै उनी जोडिएकी हुन्।
'गोपी'को पटकथाले अन्तिम रुप लिएसँगै वर्षालाई कास्ट गरिएको निर्देशक दीपेन्द्र लामाले बताए। दीपेन्द्रका अनुसार पटकथालाई सुहाउने भएकीले वर्षालाई लिइएको हो। खगेन्द्रले दुवै अभिनेत्रीहरुसँगै पहिला पनि काम गरिसकेका छन्। अब एउटै फिल्ममा दुवै अभिनेत्रीहरुसँगै काम गर्न उनी उत्साहित छन्। उनले भने ‘यो रमाइलो संयोग हुनपुग्यो, वर्षा र सुरक्षा दुवैसँग पहिला काम गर्दा राम्रो अनुभव भएको थियो, यसपालि पनि पक्कै राम्रो हुनेमा म विश्वस्त छु।
वर्षाले 'पशुपति प्रसाद'को दाँजोमा गोपीमा खगेन्द्र र उनको केमिस्ट्री धेरै रहेको बताइन्। फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ । निर्माण टिमले आगामी चैत १५ लाई प्रदर्शन टार्गेट राखेको छ। फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन्।