काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याचिङले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
सोमबार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
भेटमा प्रचण्डले नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीहरूबीचको एकताले जनतामा आशा जगाएको बताउँदै पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन गरेको बताए। उनले चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको समेत बताए।
नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे।
प्रचण्डले भेटका क्रममा नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धतालाई दोहोर्याएका थिए। उनले चीनसँग कनेक्टिभिटिका विविध आयामहरूमा सहमति भएको भन्दै खुसी व्यक्त गरे। ‘म प्रधानमन्त्रीका रूपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ, अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा खुसी लागेको छ,’ उनले भने।
सो अवसरमा उपमन्त्रीले राष्ट्रपति सी जिङपिङको शुभकामना सन्देश सुनाएका थिए। उनले ठूला कम्युनिस्ट पार्टीहरूको एकताबाट देशमा स्थायित्व कायम भएकोमा बधाई दिए।
उपमन्त्री चिङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताए। बेल्ट एण्ड रोड इनिसिएटिभका लागि चौतर्फी वातावरण तयार भएको भन्दै खुसी व्यक्त गरे।