PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

रमेश बाहुनको असफल इन्काउन्टरदेखि तामाङद्वयको इन्काउन्टरसम्म : प्रहरी इन्काउन्टरका पाँच घटना



सविन ढकाल

रमेश बाहुनको असफल इन्काउन्टरदेखि तामाङद्वयको इन्काउन्टरसम्म : प्रहरी इन्काउन्टरका पाँच घटना

काठमाडौँ : सोमबार प्रहरीले इन्काउन्टर दावी गरेको घटनामा दुई जनाको ज्यान गयो। घटना इन्काउन्टर थियो कि थिएन भन्ने विषयमा अब प्रश्न उठ्न थालेको छ। 

मंगलबारको नयाँ पत्रिका दैनिकका अनुसार बिहान ७ बजे नै प्रहरी अपहरणकारीहरूको डेरामा पुगेर ढोका लगाएर बाहिर छिमेकीले समेत सुन्ने गरी पिटेको थियो र उनीहरुबाटै जानकारी पाएपछि लाश गाडेको ठाउँमा पुगेको थियो। ११ बजे आरोपी दुवैलाई आँखामा पट्टी बाँधेर बाहिर निकाल्यो, गाडीमा राखेर लिएर गएपछि दिउँसो १ बजे खबर आएको थियो, ‘घ्याम्पेडाँडामा प्रहरीसँगको मुठभेडमा दुई अपहरणकारीको मृत्यु ।’
प्रहरीले यसअघि गरेका केही इन्काउन्टरहरुमा पनि ‘नियत’ को प्रश्न उठ्न सक्छ। 



‘इन्काउन्टर’बाट बचेका बाहुन


यस्ता इन्काउन्टरको शृङ्खला सुरु भएको थियो २०७१ सालमा दिनेश अधिकारी ‘चरी’ को इन्काउन्टरले। तर चरीभन्दा अघि रमेश बाहुन उर्फ सुजन पौडेलको इन्काउन्टर गर्न खोजिएको थियो। 

यो त्यतिबेलाको कुरा हो जब अपराधीलाई दिइँदै आएको राजनीतिक संरक्षणले प्रहरी हैरान भएको थियो। पाठ सिकाउन पनि एक जनालाई इन्काउन्टर गर्नै पर्ने निश्कर्ष प्रहरी नेतृत्वले गोप्य् रुपमा निकालेको थियो। यसका लागि पात्र तय भयो- रमेश बाहुन। उनलाई हालका प्रधानमन्त्री  केपी शर्मा ओलीले टीका लगाएर तत्कालीन एमालेमा प्रवेश गराएका थिए। हत्या, अपहरण, फिरौती लगायतका दर्जनौँ आरोपहरु थिए उनीमाथि। 

आफूलाइँ सुइँक्याउने तयारीको सुइँको पाएपछि रमेश नेपालबाट भागेर विहारमा बसे। बाहिर बस्दा असुरक्षा हुनसक्ने भएकोले उनी त्यहाँको विधायकको घरमा विधायकको भाइको संरक्षणमा बसे। प्रहरीको टार्गेट भइसकेका उनलाई नेपाल ल्याउने प्रयास गरे पनि सफल हुन सकेन। त्यसपछि प्रहरीले चलाखी गर्‍यो। ती विधायकका भाइका गर्लफ्रेन्ड नेपालमा रहेछन्। गर्लफ्रेन्डलाई भेट्न नेपाल आउने मौकामा प्रहरीले पक्राउ गर्‍यो। 

त्यसपछि सुरु भयो गोप्य बार्गेनिङ। यताबाट विधायकका भाइलाई छाड्ने र उताबाट रमेश बाहुनलाई बुझाउने कुरा मिलेपछि ‘एक्सचेन्ज’ भयो। गोप्य रुपमा रमेशलाई नेपाल ल्याइयो। तयारी इन्काउन्टरकै थियो। यता एमालेको केन्द्रीय महाधिवेशन हुँदै थियो। कुनै पनि जिल्लाका प्रहरीले आफ्नो एरियामा इन्काउन्टर गर्न मानेनन्। आठ वटा जिल्लामा एकपछि अर्को गर्दै सारिएको थियो रमेशलाई। तर इन्काउन्टर हुन सकिरहेको थिएन। यसरी राख्दाराख्दै अचानक एक्सपोज भइदियो। 

रमेश बाहुन प्रहरीको नियन्त्रणमा रहेको खबर सार्वजनिक भएपछि प्रहरीलाई अप्ठेरो पर्योह र अन्ततः समातिएको १२ औँ दिनमा प्रहरीले प्रेस रिलिजमार्फत् उनी पक्राउ परेको स्वीकार्योल। त्यतिबेला प्रहरीको प्रेस रिलिजमा लेखिएको थियो- ‘कलंकीको खसी बजारमा रमेश बाहुन जस्तो देखिने व्यक्तिलाई नियन्त्रणमा लिई सोधपूछ गर्दा निजले आफू रमेश बाहुन हुँ भनी बताएको र निजको लागू औषध र कटुवा पेस्तोल भेटिएको छ।‘

रमेश बाहुनलाई भाग्यले बचायो। 

‘चरी’को इन्काउन्टर


पहिलो इन्काउन्टर प्रयासमा असफल भएपछि गुन्डाहरुलाई संरक्षण दिने राजनीतिक नेतृत्वलाई चेताउनै पर्ने ध्येयमा लागेको प्रहरी नेतृत्वले दोस्रो टार्गेट यसअघि नै तयार पारिसकेको थियो। त्यसैमध्येका एक थिए- दिनेश अधिकारी ‘चरी’। र, यसमा प्रहरी सफल पनि भयो। 
२०७१ साल साउन २१ गते ‘चरी’ एसएसपी पुष्कर कार्की अपराध महाशाखा प्रमुख हुँदा चरी धादिङ र काठमाडौंको सिमाना पर्ने भीमढुङ्गामा मारिएका थिए। मोटरसाइकल चलाइरहेका उनले प्रहरीमाथि गोली हानेको र आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा उनी मारिएको दावी प्रहरीको थियो। 

घैँटेको इन्काउन्टर


‘चरी’को इन्काउन्टर हुँदासम्म प्रहरीको ‘मोटिभ’ मात्र राजनीतिक नेतृत्वलाई चेताउने मात्र थियो। पात्र हैन प्रवृत्ति उसको मोटिभ थियो। तर जब घैँटे इन्काउन्टरमा पुग्यो, त्यसपछि पात्रसमेत मोटिभ हुन थाल्यो। 

‘चरी’को संरक्षण गर्ने काम एमालेका नेताहरुले गरेका थिए। अब ब्यालेन्सको लागि भन्दै कांग्रेसको संरक्षणमा पर्ने गुन्डा नाइकेलाई टार्गेट बनाए प्रहरीले। एसएसपी सर्वेन्द्र खनाल अपराध महाशाखाका प्रमुख रहँदा घैँटे इन्काउन्टरमा मारिए।२०७२ साल भदौ ३ गते कुमार श्रेष्ठ ‘घैँटे’लाई काठमाडौंको कपुरधारामा गोली हानेको थियो। ८ गोली लागेका घैँटेको उपचारको क्रममा शिक्षण अस्पताल टिचिङमा मृत्यु भएको भनिएको थियो। यसअघि चरीको इन्काउन्टरका बेला घटनास्थलमै मृत्यु भएको भनिएको थियो। उनलाई अस्पताल नै नलगी सीधै पोस्टमार्टमका लागि लगिएको थियो। 

घैँटेले एक महिनाअघि नै राष्ट्रिय मानवअधिकार आयोगमा आफ्नो हत्या गर्ने नियोजित षड्यन्त्र भइरहेको भन्दै उजुरी दिएका थिए। उजुरीमा जो जोले षड्यन्त्र गरिरहेको भनेर आरोप लगाइएको थियो, एक महिनापछि तिनै संलग्न भई गोली हानेर इन्काउन्टर गरिएको थियो। 

घैँटेको इन्काउन्टरमा प्रशस्तै नियतका प्रश्न उठ्छन्। छोरी स्कूल पुर्याीएर घर फर्किरहेका घैँटेमाथि गोली बर्साइएको थियो। जुन ठाउँबाट घैँटे भागियो भनिएको थियो, त्यो बाटोबाट भाग्ने ठाउँ नै थिएन, बाटो बन्द थियो। पार्किङ एरियामा स्कूटी राखेर निस्कँदै गर्दा गोली हानिएको थियो। त्यसबाहेक घटना देखेका दुई जना प्रत्यक्षदर्शीको बयानलाई गायब बनाइएको थियो। 

प्रवीण खत्री इन्काउन्टर


घैँटेपछि इन्काउन्टर राजनीतिक नेतृत्वको संरक्षण पाएका गुन्डाहरुबाट सामान्य खालका अपराधीहरुमासमेत सिफ्ट भएको देखिन्छ। २०७४ साउन २३ गते ललितपुरको कुसुन्तीमा भएको भनिएको इन्काउन्टर त्यसको उदाहरण हो। प्रहरीले लागू औषधका कारोबारी भएको दावी गरिएका खत्री ठूलै कारोबारी नभएर शूरुमा लागुऔषधको सेवन गर्ने र पछि ललिपुरमा सानोतिनो कारोवार गर्दै आएका व्यक्ति थिए। दिनेश अमात्य अपराध अनुसन्धान शाखा प्रमुख रहँदा प्रहरीले यस घटनालाई इन्काउन्टर नभएर खत्री आफैंले सुसाइड गरेको दाबी गर्दै आएको छ। तर प्रत्यक्षदर्शीको अभावमा यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। 

मनोज पुनको इन्काउन्टर


२०७४ असोज २३ गते निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या भयो। राजधानीमै भएको हाइ प्रोफाइल मर्डर केसले धेरैको ध्यान तान्यो। घटनाको केही दिनमा नै प्रहरीले यो हत्या मनोज पुनले गराएको दावी गर्योक। यही वर्षको फागुनको एक बिहान एकाएक प्रहरीको फरार सूचीमा रहेका मनोज पुनको प्रहरीसित मुठभेडमा मृत्यु भएको सार्वजनिक भयो

मनोजको शरीरमा १२ गोली लागेको थियो। कम्मरभन्दा माथि त्यसमा पनि दाहिने छातिनिर सबैभन्दा बढी गोली हानिएको थियो। जबकि रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले मिडियामा दिएका अन्तर्वार्ताहरुमा मनोज र उसँगै रहेको सोम आलेबाट एक राउन्डमात्र फायर भएको र त्यो पनि मोटरसाइकलको टायरमा लागेको भनिएको थियो।

एक राउन्ड गोलीको बदलामा एकै व्यक्तिलाई १२ राउन्ड ठोकेबाट प्रष्ट हुन्छ, यो नियन्त्रणमा लिने उद्देश्यले हैन, मार्ने नियतले चलाइएको गोली थियो। गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेत र प्रहरीको दावी अनुसार आरोपी मनोज दुवैलाई ले भारतबाटै पक्राउ गरी ल्याएको भए पनि समिरलाई जोगाएर मनोजलाई उडाइएको थियो।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell