PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

पूर्व मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विक पक्राउ



सविन ढकाल

पूर्व मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विक पक्राउ

काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) पक्राउ परेका छन्। २०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकलाई काठमाडौंबाट समातिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले प्रकाण्डसहित चन्द्र आचार्य र मानबहादुर श्रेष्ठ पनि पक्राउ परेको जानकारी दिए। श्रेष्ठ प्रकाण्डका गाडी चालक हुन्। पोखरेलले उनीहरुलाई काठमाडौंको दक्षिणमा रहेको चाल्नाखेलबाट पक्राउ गरिएको जानकारी दिए।

उच्च प्रहरी स्रोतका अनुसार उनलाई माथिल्लो तहकै निर्देशनमा पक्राउ गरिएको हो। गएको निर्वाचनमा चन्दा संकलन तथा विस्फोट लगायतका घटना गराएको आरोप चन्द नेतृत्वको पार्टीमाथि लाग्दै आएको छ। उनीहरुले चुनाव बहिस्कार गरेका थिए।

हिजोमात्रै उक्त पार्टीका केन्द्रीय सदस्य आजाद केसी भक्तपुरको डेराबाटै पक्राउ परेका थिए। केही दिनअघि पार्टीका चार पोलिटव्युरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राई पनि पक्राउ परेका थिए। उनीहरु नागढुंगाबाट पक्राउ परेका थिए।

चुनावअघिदेखि नै अर्ध भूमिगत रहँदै आएको यो पार्टी २०७० पुसमा तत्कालीन नेकपा - माओवादी (मोहन वैद्य किरण समूह)बाट फुटेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell