PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मापदण्ड विपरीत चलेका अटो रिक्सा प्रहरीको नियन्त्रणमा : लाइसेन्स खुलाउनु पर्ने भन्दै व्यवसायी आन्दोलित



पी बी खड्का

मापदण्ड विपरीत चलेका अटो रिक्सा प्रहरीको नियन्त्रणमा : लाइसेन्स खुलाउनु पर्ने भन्दै व्यवसायी आन्दोलित

सुर्खेत : सुर्खेतका अटो रिक्सा व्यवसायीहरुले चालक अनुमति पत्र (लाइसेन्स) खुलाउन दवाव सिर्जना गरेका छन्। सरकारले आफूहरुमाथि अन्याय गरेको भन्दै मंगलवार प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा दवाव स्वरुप नाराजुलुस सहित प्रदर्शन गरेका हुन्।

राज्यले अटोरिक्सा वितरण गर्न दिएको तर ऋण साहु गरेर किनेको अटोरिक्सा चलाउन नदिनु अन्याय भएको बताएका छन्। बेलावखत सरकारी संयन्त्रबाट हुने ज्यादतीको समेत विरोध गरेका छन्।
 
वीरेन्द्रनगर नगरपालिका, बसपार्क व्यवस्थापन समिति र प्रहरीले अटो रिक्सा चालकमाथि अनावश्यक कडाई गरेको भन्दै मंगलबार विरोधमा उत्रिएका हुन्। भौतिक तथा पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उनीहरुले प्रदर्शनसँगै नाराजुलुस सहित केही समय धर्ना समेत दिएका थिए।
 
उनीहरुले पेशाको सम्मान हुनुपर्ने, बसपार्क नजिकै पार्किङ्गको व्यवस्था गरिनुपर्ने, लाइसेन्स खुलाउने व्यवस्था गर्नुपर्ने र लाइसेन्सको व्यवस्था नहुँदा सम्म अटो चलाउन पाउनुपर्ने लगायतका माग अघि सारेका छन्।
 
‘सरकारले हामीलाई अन्याय गरेको छ, बजारमा छ्याप्छ्याप्ती बेच्न दिने अनि दुःखी गरीवले ऋण साहु गरेर किनेको अटो चलाउन नदिने?,’ अटो व्यवसायी कमल बक्सले भने, ‘स्थानीय सरकारले आफुखुसी कानून बनाउने र ट्राफिक प्रहरीले समेत विभिन्न बाहानामा दुःख दिने काम गरेको छ।’ प्रहरीको व्यवहारले आफ्नो व्यवसायमाथि नै अपमानजनक तरिकाले हेप्ने गरेको आरोप उनको छ।
  
अटो रिक्सा चालक श्याम तारामी मगरले बसपार्कमा अटो पार्किङ्ग गर्न नदिँदा अटो व्यवसायी मर्कामा परेको गुनासो गरे। ‘अटो चलाउनु पर्छ बजार एरियामा, अनि हामी पार्किङ लागि कहाँ जाने?,' उनले प्रश्न गरे,'स्थानीय सरकार लगायत प्रदेश सरकारले अब पार्किङको व्यवस्था गर्नुपर्छ।’

उनले बसपार्कमा अटो रिक्सा लगेबापत यातायात व्यवसायीदेखि प्रहरीले जरिवाना तिराउने बताउँदै प्रहरीले विभिन्न बाहानावाजी बनाएर खुव सताएको जनाए। 

त्यसैगरी, नियमविपरीत अटो रिक्सा चलाएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले १ सय ३६ अटो रिक्सा प्रहरी नियन्त्रणमा लिएको छ। प्रहरीले पटक पटक सचेत गराउँदा समेत अटेर गरेको भन्दै नियन्त्रणमा लिएको हो। पछिल्लो समय अटो रिक्साले अत्यधिक दुर्घटना निम्त्याएको भन्दै यसलाई व्यवस्थित गराउन खोजिएको प्रहरीको भनाई छ।

‘वीरेन्द्रनगरमा रहेका अटोरिक्साहरूले मापदण्ड विपरित यात्रु ओसारपसार गरेकाले नियन्त्रणमा लिएका हौं,’ जिल्ला ट्रफिक प्रमुख हरिबहादुर बीसीले भने, ‘अहिलेसम्म धेरै जसो अटो रिक्सा चालकसँग सवारीचालक अनुमतिपत्र छैन्। उनीहरुले तीव्र गतिमा अटो रिक्सा चलाउँदै आएका छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell