PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

१८औँ एसियाड : मंगलवार सञ्जुले बनाइन् तीन राष्ट्रिय कीर्तिमान, नेपालको खराब प्रदर्शन जारी



पहिलोपोस्ट

१८औँ एसियाड : मंगलवार सञ्जुले बनाइन् तीन राष्ट्रिय कीर्तिमान, नेपालको खराब प्रदर्शन जारी
फोटो : लोकेन्द्र बस्नेत

१८ औं एसियाडअन्तर्गत भारोत्तोलनमा सञ्जु चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले महिलाको ५३ केजी तौल समूहतर्फ स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन कीर्तिमान बनाएकी हुन्।

सन्जुले जकार्ताको जेआई एक्स्पो हलमा मंगलबार स्यान्चमा ७२ र क्लिन एन्ड जर्कमा ८६ केजी भार बहन गर्दै समग्रमा १५८ केजी तौल उचालिन्। तीन महिना अघि उनले काठमाडौंमा अन्तर क्लब प्रतियोगितामा  स्यान्चमा ७१ र क्लिन एन्ड जर्कमा ८५ केजी तौल उचाल्दै १५६ केजी उचालेर किर्तिमान बनाएकी थिइन । यस पटक उनले आफ्नो रेकर्ड सुधार गरेकी हुन् ।

उनले पहिले चरणमा स्न्याचतर्फ ६८ केजी र दोस्रो राउन्डमा ७२ केजी उचालेकी थिइन्। तेस्रो राउन्डमा ७३ केजीको भार उचाल्न सकिनन्। त्यसैगरी क्लिन एन्ड जर्कमा पहिलो राउन्डमा ८२ र दोस्रो राउन्डमा ८६ केजी उचालिन्। तेस्रो राउन्डमा ८८ केजी उचाल्ने प्रयास सफल भएन। १२ खेलाडी सहभागी स्पर्धामा सन्जु १२ औं स्थानमा आइन्। फिलिपिन्सकी हिडिल्यन डाएजले समग्रहमा २०७ केजी तौल उचाल्दै स्वर्ण पदक जितिन्। तुर्किमेनिस्थानकी क्रिस्टिना सेर्मेटोभाले समग्रमा २०६ केजी भार बहन गर्दै रजत र थाइल्यान्डकी सुराड्चना काम्बाओले समग्रमा २०१ केजी उचाल्दै तेस्रो स्थान हासिल गरे।

 

बास्केटबलमा दोहोरो हार

पुरुष थ्री अन थ्री बास्केटबलमा नेपालले दोहोरो पराजय भोगेको छ । समूह ‘सी’ को लिग खेलमा नेपालले जापानसँग २२–११ र कतारसँग २१–८ ले पराजित भयो।

जेबीजे बास्केटबल कोर्टमा भएको पहिलो खेलमा नेपालले शुरुमा जापानसँग प्रतिस्पधात्मक खेलेको थियो। नेपालका लागि मविन्द्र भण्डारी र निश्चल महर्जनले ४-४ अंक जोडे। अजय कुश्वाले १ र आशिम बस्नेतले २ अंकको योगदान दिएका थिए। जापानका लागि योसियुकीले सर्वाधिक ११ अंक जोडेका थिए।

अर्को खेलमा कतारले नेपाललाई २१–८ ले हरायो। नेपालका मविन्द्र भण्डारीले ३, निश्चल महर्जनले ४ र अजयले १ अंक जोडे। नेपालको समूहमा जापान, जोर्डन, माल्दिभ्स र कतार रहेका छन्।

बास्केटलको महिला थ्री अन थ्री बास्केटबमा नेपालको महिला टिमले चाइनीज ताइपेको सामना गर्दै छ। नेपालको महिला बास्केटबल टिममा एलिना गुरुङ्ग, श्रेया खड्का, भावना लामा र अनुशा मल्ल रहेका छन्।

 

पौडी : शिरीष ४६ औं स्थानमा

एसियाली खेलकुदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औं स्थान हात पारेका छन्। ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६।३३ सेकेन्डमा पूरा गरे। ७ खेलाडीले भाग लिएको दोश्रो हिटमा भने शिरीष तेश्रो स्थानमा रहे।

यो स्पर्धाको राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ। उनको नाममा २५।८८ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ। बिहीबार शिरीषले १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्। त्यसअघि बुधबार गौरिक सिंहले २ सय मिटर फ्रिस्टायल र शुभम् श्रेष्ठले १ सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छन्।

 

तेक्वान्दो : तेश्रो दिन पनि पदकविहीन

एसिायाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो १८औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको तेश्रो दिन पनि पदकविहीन बनेको छ। एसिायली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य गरी जम्मा १४ पदक जितेको छ।

तेश्रो दिन नेपालबाट १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए। त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुदाँ दुई खेलाडी पहिलो चरणमै रोकिए।

महिला ५७ केजीमुनि ज्ञानी चुनारा क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससंग २०–० को फराकिलो अन्तरले पराजित भइन्। त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८–६ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरेकी थिइन्।

महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२–६ ले निराश पारिन्। पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए। काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१–० को सहज जित दर्ता गरे।

बुधबार नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्नेछन्।

 

कबड्डी : नेपालको दोश्रो हार     

पुरुष कबड्डीमा नेपालले लगातार दोश्रो हार व्यहोरेको छ। समूह ‘बी’ को लिग खेलमा नेपाल जापानसंग २८–३१ ले पराजित भयो। पहिलो खेलमा नेपाल आयोजक इन्डोसियासंग चुकेको थियो। मंगलबार नेपालले दुई खेल खेल्नेछ। पहिलो खेलमा नेपालले इरानसंग खेल्नेछ भने दोश्रो खेलमा मलेसियाको सामना गर्नेछ।

 

प्याराग्लाइडिङ

पुरुष व्यक्तिगत स्पर्धामा नेपालका विजय गौतम ५ राउन्डसम्म १४ औं स्थानमा छन् भने सुशील गुरुङ २५ औं स्थानमा छन्। यो स्पर्धामा ३३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। गौतम ३ राउन्डसम्म दोस्रो स्थानमा थिए।

यस्तै एक्युरेसीको पुरुष टिम इभेन्ट्समा ५ राउन्डसम्मको खेल सकिँदा नेपाल आठौं स्थानमा छ। यो स्पर्धामा १५ राष्ट्रले भाग लिएका छन्। एक्युरेसीको महिला टिम इभेन्ट्समा नेपाल सातौं स्थानमा छ।

प्याराग्लाइडिङको एक्युरेसीको अन्तिम नतिजा बुधबार आउनेछ।

शुक्रबारबाट क्रस कन्ट्री इभेन्ट सुरु हुनेछ। नेपालले क्रस क्रन्ट्रीमा पदकको आसा गरेको छ।

 

उसु

महिला सान्सौंको ६० केजी मुनि तौल समूहमा नेपालकी लुमन्ती श्रेष्ठ थाइल्यान्डकी सुचया बुआलुङसँग क्वाटरफाइनलको पहिलो राउन्डमै पराजित भइन्। लुमन्ती बाइ पाएर सीधै क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell