काठमाडौँः संवैधानिक परिषदको बैठक आज बस्दैछ। संसदीय सुनुवाइ समितिबाट प्रस्तावित प्रधानन्यायाधीश अस्वीकृत भएपछि पहिलोपटक परिषद बैठक बोलाइएको हो। अघिल्लो बुधबार नै परिषद बैठक बोलाइए पनि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि विदेश गएपछि बैठक स्थगित भएको थियो।
परिषद बैठक बिहीबार साँझ ४ बजेका लागि तोकिएको छ।
बैठकमा प्रधानन्यायाधीश सिफारिस तथा अख्तियारमा रिक्त प्रमुख आयुक्त सिफारिस लगायतका विषयमा छलफल हुनेछन्।
सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेपछि दोसे पटक प्रधानन्यायाधीश सिफारिसका लागि परिषद बस्न लागेको हो। परिषदको रोष्टरमा प्रधानन्यायाधीशको विकल्पमा अब दुई नामावली छन्। यसअघि न्याय परिषदको सिफारिस अनुसार ओमप्रकाश मिश्र वा चोलेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषदमा विचाराधीन छ।
दुईमध्ये एक नामलाई संवैधानिक परिषदले सिफारिस गर्नेछ। वरिष्ठताका आधारमा मिश्र अघि छन्।
यस्तै, अख्तियारको प्रमुखका भने कार्यतरत आयुक्त नवीन घिमिरेको नाममा चर्चा छ।