काठमाडौं : पूर्व लडाकु लेनिन बिष्टलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको विषयमा गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफ पठाएको छ।
मंगलवार दिउँसो गृह मन्त्रालयले कारणसहित लिखित जवाफ प्रधानमन्त्री कार्यालयलाई पठाएको हो। गृहले प्रधानमन्त्रीलाई पठाएको जवाफमा बिष्टले आर्थिक हिनामिना गरेको र अन्तर्राष्ट्रिय जगतमा पार्ने असरबारे उल्लेख गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। स्रोतले भन्यो, 'यथार्थ कारणसहित जवाफ पठाएका छौं।'
थाइल्यान्डको बैंककमा एक कार्यक्रममा सहभागी हुन जान लाग्दा गृह मन्त्रालयले गत शुक्रवार उनलाई विमानस्थलबाट नै फर्काएको थियो। बिष्टलाई फर्काएपछि प्रधानमन्त्री ओलीले सोमवार गृह मन्त्रालयलाई पत्रमार्फत् जानकारी दिन निर्देशन दिएका थिए।
लेनिन माओवादी ‘जनयुद्ध’मा 'बाल सैनिक' बनेर युद्ध लडेका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि अनमिनले उनीसँगै चार हजार भन्दा बढी लडाकुलाई 'अयोग्य' घोषित गरेको थियो। उनले जनयुद्ध लडेको तर अनमिनले अयोग्य भनेका पूर्व लडाकुलाई व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका थिए।