PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

शेख हसिनाः सबैकी 'दिदी' बिम्स्टेककी एक मात्र महिला नेतृ, यस्तो छ नेपाल बंगलादेश सम्बन्ध



विधुर ढकाल

शेख हसिनाः सबैकी 'दिदी' बिम्स्टेककी एक मात्र महिला नेतृ, यस्तो छ नेपाल बंगलादेश सम्बन्ध

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन् बंगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद नेपाल आएकी छन्। सम्मेलनमा सहभागी हुन आउने राष्ट्र/सरकार प्रमुख मध्ये उनी एक्ली महिला हुन्। साथै उनी उमेरका हिसाबले सबैकी ‘दिदी’ हुन्। 

१९४७ सेप्टेम्बर २८ मा जन्मिएकी उनी बंगलादेशकी १० औँ प्रधानमन्त्री हुन्। उनी सन् २००९ को जनवरीदेखि बंगलादेशको प्रधानमन्त्री पदमा आसिन छिन्। बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजवीर रहमानकी छोरीसमेत रहेकी हसिना बंगलादेशको राजनीतिमा चार दशक देखि शक्रिय छिन्। उनले सन् १९८६ देखि १९९५ सम्म दुई कार्यकाल बंगलदोशको प्रमुख प्रतिपक्षी नेताको रुपमा भूमिका निर्वाह गरिन्। 

त्यस्तै सन् १९९६ देखि २००१ सम्म त्यहाँको सत्तारुढ दल बंगलादेश अवामी लिगको नेतृत्वमा प्रधानमन्त्री बनिन्। उनले सन् २००८ मा भएको निर्वाचनमा पुनः विजयी हुँदै २००९ को जनवरीमा प्रधानमन्त्री बनिन्। २०१४ मा भएको चुनावमा पुन विजयी हात पार्दै उनी प्रधानमन्त्रीमा निरन्तरा दिइन्। योसँगै उनले बंगलादेशको प्रधानमन्त्रीको रुपमा तीन कार्यकाल शासन गरेकी छिन्। 

हसिना विश्वमा शक्तिशाली महिलाको रुपमा स्थापित छन्। फोर्ब्सको शक्तिशाली १०० महिलाको सूचीमा उनी ३० औँ स्थानमा छिन्।
 
बंगादेशकी प्रधानमन्त्री हसिना यस अघि दुईपटक सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएकी थिइन्। साथै उनको यो औपचारिक तेस्रो नेपाल भ्रमण हो। यसअघि उनी सन्  २००२ जनवरीमा सम्पन्न ११ औँ सार्क शिखर सम्मेलन र २०१४ मा सम्पन्न १८ औँ शिखर सम्मेलनमा सहभागी हुने काठमाडौँ आएकी थिइन्। 

 

नेपाल बंगलादेश सम्बन्ध


नेपाल र बंगलादेशबीच सन् अप्रिल ८ १९७२ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यस यता दुई देशबीच आपसी सम्बन्ध, साझेदारीमा आधारित रहेर अगाडि बढाएका छन्। नेपाल बंगलादेशसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने सातौँ राष्ट्र हो र नेपालले बंगलादेशलाई स्वतन्त्रतापछि छुट्टै देशको मान्यता दिने राष्ट्र पनि हो।

नियमित जस्तो हुने उच्च राजनीतिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजवुद बनाउँदै आएको छ। नेपाल र बंगलादेश दुबै अति कम विकसित देशहरुको मञ्च, संयुक्त राष्ट्रसंघ, सार्क, विम्स्टेक लगायतमा काम गर्दै आएका छन्। त्यस्तै दुबै देशबीच परराष्ट्रसचिव स्तरीय द्वीपक्षीय परामर्स संयन्त्र स्थापना सम्बन्धी समझदारीपत्रमा सन् २०१२ मा ढाकामा भएको हो। संयन्त्रले दुई देशबीचको आससी सम्बन्धलाई मजबुद बनाउने विषयमा सुझाब दिँदै आएको छ। यसको दोस्रो बैठक ढाकामा गत वर्ष अक्टोबरमा सम्पन्न भएको थियो।

दुई देशबीच आर्थिक साझेदारी


दुई देशबीच पछिल्ला वर्षहरुमा आर्थिक साझेदारीमा वृद्धि हुँदै गएको छ। साथै आर्थिक साझेदारीका क्षेत्रहरुसमेत विस्तार हुँदै आएका छन्। नेपालले बंगलादेशमा हस्तकला, गहुँ, गेडागुडी, पस्मिना लगायतका बस्तु निर्यात गर्दै आएको छ। साथै बंगलादेशबाट औद्योगिक कच्च पदार्थ, केमिकल, टेक्स्टाइल, जुटलगायतका बस्तु आयात गर्दै आएको छ। 
१९९ठ मा  काकरभिट्टा–फुलवारी–बंगलाबन्ध रुट खुला भएसँगै बंगलादेशले नेपाललाई मोंगला बन्दरगाहको प्रयोगमा अनुमति दिएको छ। यसका साथै उसले रोहनपुर–सिंहवाद रेल ट्रान्सिजट करिडोर प्रयोग गर्न समेत दिएको छ।

दुबै देशबीच सन् १९७८ मा अर्थमन्त्री स्तरीय संयुक्त कमिसन गठन भएको थियो। दुई देशबीच सरकारी अधिकारी स्तरीय संयुक्त बैठक बसी सम्बन्ध मजबुद बनाउने थप आयामहरुको पहिचान गर्दै आएका छन्।

बंगलादेशसँग नेपालको व्यापार घाटा भने ठूलो छ। सन् २०१६ को रिपोर्ट अनुसार बंगलादेशसँग नेपालको व्यापार घाटा ३ अर्ब साढे ६२ करोड रुपैयाँ बढी रहेको छ। बंगलादेशबाट वर्षेनी २० हजार भन्दा बढी पर्यटक नेपालमा आउने गरेका छन्। यो संख्या पछिल्ला वर्षमा बढ्दै गएको छ। 

पर्यटन वोर्डको रिपोर्ट अनुसार सन् २०१६ मा २३ हजार ४४० बंगलादेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए। दुबै देशबीच सिधा उडान सम्बन्धी सम्झौता भएको छ। सोही अनुसार बंगलादेशको सरकारी स्वामित्व भएको विमान बंगलादेशले ढाका–काठमाडौँ–ढाका सिधा उडान गर्दै आएको छ।

बंगलादेशको निजि विमान कम्पनी युएस बंगलाले नेपालमा उडान भर्दै आए पनि यसै वर्ष मार्चमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि उडान बन्द भएको छ। दुर्घटनामा ५१ जना यात्रुको मृत्यु भएको थियो। 

बंगलादेश र नेपालबीच शैक्षिक साझेदारीसमेत हुँदै आएको छ। बंगलादेशमा वर्षेनी नेपाली विद्यार्थीहरु मेडिकल शिक्षा अध्ययनका लागि जाने गरेका छन्। बंगलादेशले नेपाली विद्यार्थीका लागि वर्षेनी कोटा छुट्टाउँदै आएको छ। सन् १९७६ अप्रिलमा प्राविधिक साझेदारी सम्झौता हस्ताक्षर भएसँगै बंगलादेशले नेपाली विद्यार्थीलाई मेडिकल शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ। हाल बंगलादेशमा दुई हजार ५०० भन्दा बढी विद्यार्थीहरु उच्च शिक्षा लिइरहेको परराष्ट्र मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell