PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बिम्स्टेक आर्थिक साझेदारी कि सैन्य अभ्यासका लागि : के संयुक्त सैन्य अभ्यास चीन तर्साउने भारतीय अस्त्र हो?



पहिलोपोस्ट

बिम्स्टेक आर्थिक साझेदारी कि सैन्य अभ्यासका लागि : के संयुक्त सैन्य अभ्यास चीन तर्साउने भारतीय अस्त्र हो?

  • बिधुर ढकाल/वीपी साह -
काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगलाको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन शुक्रबार काठमाडौंमा सम्पन्न भयो। सम्मेलनको उद्घाटन कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आगामि सेप्टेम्वरमा बिम्स्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासन आयोजना गर्ने जानकारी दिए।
 
आर्थिक साझेदारी गर्दै समृद्ध बंगालको खाडी बनाउने अभियानका लागि स्थापित बिम्स्टेक सैन्य साझेदारीमा अगाडि बढ्ने संकेत भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिले कुटनीतिक बृत्तलाई झस्काएको छ।
 
बिम्स्टेकको एउटा प्राथमिकताको क्षेत्र आतंकवाद र अन्तरदेशीय अपराध पनि हो। यसै सन्दर्भलाई जोड्दै भारतीय प्रधानमन्त्री मोदीले संयुक्त सैन्य अभ्यासमा जोड दिँदै भारतले सेप्टेम्वरमा सैन्य अभ्यासको आयोजना गरेको जानकारी दिए।
 
यसको तयारी भारतले यस अगाडि नै गरिसकेको थियो। भारतीय प्रधानमन्त्री बिम्स्टेकमा सहभागी हुन नेपाल आउनुअगाडि भारतीय विदेश मन्त्रालयले गरेको भ्रमण सम्बन्धि ब्रिफिङमा मन्त्रालयका एक सचिव प्रिती शरणले यसबारेमा सदस्य मुलकसँग छलफल भइरहेको बताएकी थिइन्।

भारतले यस विषयमा छलफल गरे पनि बिम्स्टेकको काठमाडौं घोषणापत्रमा भने यस विषयमा उल्लेख छैन। 

घोषणापत्रमा आतंकवाद र अन्तरदेशीय संगठित अपराध बिम्स्टेक क्षेत्रसँगै अन्तर्राष्ट्रिय रुपमा शान्ति र सुरक्षामा ठूलो चुनौती भएको स्वीकार गर्दै यसका विरुद्ध सक्रिय साझेदारीका लागि सदस्य देशहरु सहमत भएको उल्लेख छ। साथै बिम्स्टेक सम्मेलनको क्षेत्रगत निर्णयमा प्रति आतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रणका लागि आवश्यक सबै उपायहरु अवलम्वन गर्ने सहमति भएको उल्लेख छ।
 
सम्मेलनमा थाइल्याण्डले तेस्रो सुरक्षा प्रमुखहरुको बैठक मार्च २०१९ मा आयोजना गर्ने प्रस्ताव गरेको थियो।
 

सेप्टेम्बरमा नेपालका दुई संयुक्त सैन्य अभ्यास

बिम्स्टेक सम्मेलन अघि भारतीय तथा अन्तर्राष्ट्रय मिडियाहरुमा नेपाल–चीनबीचको संयुक्त सैन्य अभ्यासको चर्चा चलेको थियो। भारतीय सुरक्षा मामिलाका जानकारहरुको हवाला दिँदै भारतीय मिडियाहरुले नेपाल–चीनबीच भएको संयुक्त सैन्य अभ्यासलाई शंकाको दृष्टिकोणबाट मात्रै हेरेनन्, नेपाल र भारतबीच अविश्वासको वातावरण सिर्जना भएको विश्लेषणसमेत गरेका थिए।
 
त्यसैको सेरोफेरोमा भारतले पनि बिम्स्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको छ। 

भारतमा हुने सैन्य अभ्यास नेपाल र चीनबीच हुने दोस्रो सैन्य अभ्यासको एक दिनअघिसम्म चल्ने बताइएको छ।

बिम्स्टेक संयुक्त सैन्य अभ्यास सेप्टेम्बर १० देखि १६ सम्म भारतको पुनेमा हुनेछ। त्यस्तै नेपाल–चीनबीच संयुक्त सैन्य अभ्यास (सगरमाथा फ्रेण्डसीप–२) सेप्टेम्बर १७ देखि २७ सम्म चीनको सिन्चुवान प्रान्तको राजधानी चेंडुमा हुने तय भएको छ। 

सन् २०१७ अप्रिलमा नेपाल–चीनबीच पहिलो पटक संयुक्त सैन्य अभ्यास भएको थियो। चीनसँगको संयुक्त सैन्य अभ्यासपछि भारत नेपाली सेना र नेपालप्रति चिडिएको थियो। त्यसको झल्को गत जुनमा भारतको उत्तराखण्डमा सम्पन्न संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’लाई भारतीय सञ्चार माध्यमले चीनविरुद्ध चिनियाँ सीमा नजिक संयुक्त सैन्य अभ्यास भन्दै प्रसारण गरेका थिए। त्यतिवेला प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तयारीमा थिए।
 
नेपाल अन्य छिमेकीसँग नजिकिएको आभाष पाउनासाथ भारतले छिटो प्रतिक्रिया दिँदै आएको छ। सेप्टेम्बरमा पुनः चिनियाँ आर्मीसँग संयुक्त अभ्यास गर्ने घोषणा पछि भारत सशंकित देखिन्छ। त्यसैले पहिले देखि नै बिम्स्टेक सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यासको तयारी भइरहेको विषयलाई नेपाल चीन सैन्य अभ्यासको काउन्टरको रुपमा भारतीय मिडियाहरुले चर्चा गर्न थालेका छन्।
 

दुवै सैन्य अभ्यास निर्धारित मितिमै

यसैबीच नेपाली सेनाले संयुक्त सैन्य अभ्यास कुनै पनि छिमेकीविरुद्ध नभएको स्पष्ट पारेको छ। नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले सेप्टेम्वरमा दुवै सैन्य अभ्यासमा हुने पहिलोपोस्टलाई बताए।
 
‘यो एउटा मिलिटरी डिप्लोमेसीको पार्ट हो। नेपालले सैन्य अभ्यास भारतसँग चीनसँग मात्र होइन धेरै देशहरुसँग गर्दै आएको छ। क्षेत्रीय रुपमा पनि सैन्य अभ्यासहरु हुँदै आएका छन्,’ भण्डारीले भने, ‘सेप्टेम्वरमा हुने सैन्य अभ्यास कुनै मित्र राष्ट्रहरुप्रति लक्षित होइन्। चीनसँग पनि सैन्य अभ्यास हुन्छ। बिम्स्टेक सदस्य राष्ट्रसँग पनि हुन्छ।’
 
उनले सैन्य अभ्यासमा फरक फरक प्लाटुन सहभागी हुने भन्दै सैन्य अभ्यास जारी हुने बताए। 

१५ दिन अगाडि मात्र नेपालमा एसिया प्रशान्त क्षेत्रका सैनिकहरुबीच संयुक्त अभ्यास भएको थियो। १२ दिन लामो अभ्यासमा प्राकृतिक प्रकोप तथा मानवीय सहायताका बेला एक अर्काबीच प्रभावकारी सञ्चार बिस्तारका विषयमा संयुक्त अभ्यास भएको हो। प्यासिक इन्डेभर २०१८ (पीई १८) नाम दिइएको यो सैन्य अभ्यासमा नेपालसहित एसिया प्रसान्त क्षेत्रका २० देशहरुको सहभागिता थियो।
 
‘सैन्य अभ्यास विषयगत रुपमा हुन्छन्। कुनै विपत नियन्त्रण, व्यवस्थापन, सैन्य साझेदारी, कुनै सञ्चार। भारतमा हुने भनिएको अभ्यास पनि त्यस्तै हो,’ भण्डारीले भने, ‘केही दिन अगाडि नेपालमा २० देशका सैनिक अधिकारीहरुको संयुक्त अभ्यास भयो। यस्ता अभ्यासहरु कसैका विरुद्ध होइन आफ्नो क्षमता वृद्धिका लागि हुने गर्छन्।’

नेपालले भारतसँग लामो संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ गर्दै आएको छ। त्यस्तै चीनसँग पनि गत वर्ष देखि गर्दै आएको छ। यसका अलावा पाकिस्तान, वेलायत, अमेरिका लगायतका देशहरुसँग पनि संयुक्त सैन्य अभ्यास हूँदै आएका छन्। 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत संयुक्त सैन्य अभ्यास कुनै छिमेकी मुलुक प्रति लक्षित नभएको स्पष्ट पारेका छन्। उनले बिम्स्टेक सम्मेलनपछि आयोजित प्रेस ब्रिफिङमा संयुक्त सैन्य अभ्यास नियमित साझेदारीको पाटो भएको भन्दै यसले कुनै छिमेकी देश विरुद्ध लक्षित नभएको स्पष्ट पारेका थिए। 

चीन बिच्किएला त?

नेपाल अध्यक्ष रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भारतकै कारण छायाँमा परेको छ। पछिल्लो समय भारतले आसियन क्षेत्रका देशहरुसँग मिलेर संयुक्त जलसैन्य अभ्यासको आयोजना गर्‍यो। पाकिस्तानलाई ओझेलमा पादै ‘एक्ट इस्ट’ पोलिसी मार्फत् चिनियाँ छिमेकी देशहरुसँगको सम्बन्ध विस्तार, आर्थिक साझेदारलाई जोड दिएको भारतले बिम्स्टेक संयुक्त सैन्य अभ्यास रणनीतिक रुपमा उसले चिनियाँ पक्षलाई आफ्नो सामर्थ्य देखाउने कुटनीतिको रुपमा लिन सकिन्छ।
 
बिम्स्टेक संयुक्त सैन्य अभ्यास यसैको संकेत हुन् सक्ने भारतका लागि नेपालका पूर्व राजदूत भेषबहादुर थापा बताउँछन्।
 
‘बिम्स्टेक संयुक्त सैन्य अभ्यास मार्फत् भारतकाले कसैलाई कुनै संकेत गर्न खोजेको हुन सक्छ,’ उनले भने।
 
दक्षिण–पूर्वी एसियामा प्रभाव बढाउँदै गएको चीनको प्रभाव बिस्तार भारतका लागि पछिल्लो समय टाउको दुखाइको विषय हो।
 
‘सीमित उद्देश्यका लागि संयुक्त सैन्य अभ्यास भइरहेको छ भने ठीक छ। त्यसबाट नेपाललाई कुनै घाटा हुँदैन। तर अन्यथा केही छ भने त्यसबाट घाटा हुन सक्छ,’ थापाले भने, ‘बिम्स्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासबाट चीन बिच्कनु हुँदैन। किनभने चीन परिपक्व राष्ट्र हो। दक्षिण एसियाको यो स्वरुपले उसलाई खासै असर पार्दैन। तर, कसले कुन रुपमा प्रयोग गर्छ, त्यसले धेरै कुराको निर्धारण गर्नेछ।’

पछिल्लो समय चीनले भुटान र म्यानमारसँग समेत सम्बन्ध बिस्तारलाई जोड दिँदै गर्दा चीनको अर्को नजिकको मित्र राष्ट्र पाकिस्तानलाई बाहिर राखेर भारत संयुक्त सैन्य अभ्यास आयोजना गरी यस क्षेत्रमा आफ्नो उपस्थिति देखाउन चाहन्छ। यो उसको चीन तर्साउने एउटा अस्त्र हुन सक्ने आकलन गरिएको छ।
 
पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ यसलाई भारतले एउटा अस्त्रको रुपमा प्रयोग गर्न खोजे हुन सक्ने बताउँछन्। यद्यपि, यस्ता सैन्य अभ्यासहरु कुनै पनि देशप्रति लक्षित हुनु नहुने उनको भनाइ छ।
 

बिम्स्टेकलाई आर्थिक साझेदारीमा केन्द्रित गर्न सुझाव

यता कुटनीति क्षेत्रका जानकार तथा पूर्वराजदुतहरुले बिम्स्टेकलाई सैन्य अभ्यास भन्दा पनि आर्थिक साझेदारीका क्षेत्रमा जोड दिनुपर्ने सुझाव दिएका छन्।
 
नेपालका पूर्व राजदूतहरुको हालै गठन भएको संगठन ‘एसोसिएसन अफ फर्मर नेपाली एम्बेस्डर्स’ (आफ्ना)ले यस्तो सुझाब दिएको हो। 
संगठनले सरकारलाई १० बुँदे सुझाब दिँदै बिम्स्टेकलाई आर्थिक सहकार्यमा केन्द्रित गर्न सुझाब दिएको हो।
 
‘नेपालको सामरिक स्थान दुई वटा टाउका भएको पौराणिक देवताको जस्तो छ, जसले एकै समय पूर्व–पश्चिम, उत्तर–दक्षिण चारैतिर हेर्न सक्छ। एक शब्दमा भन्दा नेपाल ‘लुक अराउण्ड’ को अवस्थामा छ,’ सरकारलाई दिएको सुझाबमा उल्लेख छ, ‘लुक साउथले नेपाललाई समुद्री मार्गसम्म पहुँच र बे अफ बंगलामा आवद्ध देशहरूसँग सहकार्य गर्ने अवसर दिन्छ, लुक नर्थ चीनसँग सहकार्य गर्न महत्वपूर्ण छ, जसले चीनलाई बिम्स्टेकको नजिक ल्याउन नेपालको भूमिका निर्धारण गर्छ।’

आफ्नाले नेपालले चारै दिशामा सहकार्यको हात फैलाउनुपर्ने सझुाव दिएको छ। उसले पूर्वतिर आसियान देशहरु र पश्चिम तिर पाकिस्तानसहित मध्ये एसियाका देशहरुसँगको सहकार्यलाई जोड दिएको छ।
 
त्यस्तै आफ्नाले बिम्स्टेकलाई सार्कको विकल्पको रुपमा लिन नहुने सुझाबसमेत दिएको छ। ‘बिम्स्टेक सार्कको विकल्प बन्नु हुँदैन, सार्क र आसियानबीच जिवन्त पुल बन्ने यसको खास अवधारणलाई सुरक्षित राख्नुपर्छ। सार्क अहिले कोमामा छ र वर्तमान अध्यक्षका हैसियतले नेपालले यसलाई पुनर्जीवित गर्न सबै प्रयास गर्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell