PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङ खेलाडी नगदसहित सम्मानित

एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङ खेलाडी नगदसहित सम्मानित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : २० वर्षपछि एसियन गेम्स (एसियाड) मा नेपाललाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई राखष्ट्रिय खेलकुद परिषद्ले सोमवार नगदसहित सम्मान गरेको छ।

इन्डोनेसियामा भएको १८औँ एसियाडअन्तर्गत प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा रजत पदक जितेको नेपाली खेलाडीलाई सोमवार नगद परिक्रमा गराएपछि सम्मान गरिएको हो।

राखेपले राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो। पुरुष प्याराग्लाइडिङ टिममा रहेका विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ, विशाल थापा सहित प्रशिक्षकहरुलाई राखेपले नगद र सम्मानपत्र प्रदान गरेको हो।

पाँच खेलाडीले नगद ५-५ लाखको चेक पाए। यस्तै मुख्य प्रशिक्षक योगश भट्टराईले ३ तथा सहायक प्रशिक्षक सानुबाबु सुनुवारले १ लाख ५० हजारको चेक पाए। रजत पदक दिलाउन खेलको संघ नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघलाई नगद ५ लाखको चेक प्रदान गरिएको हो।

युवा तथा खेलकुद मन्त्री जगत सुनार विक, संघिय सांसद तथा ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राखेपका सदस्यसचिव केशव कुमार विष्टलगायतले खेलाडी र पदाधिकारीलाई सम्मान गरे।

राखेपले यसअघि नै घोषणा गरेको पुरस्कार बमोजिम नै खेलाडीलाई सम्मान गरेको हो।

रजत जित्ने खेलाडीलाई सम्मान गर्न प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन भनिएपनि उनी आएनन्।

इन्डोनेसियाको जकार्ता पालेम्बाङमा भएको एसियाडमा नेपालबाट २९ खेलमा १८५ खेलाडीले सहभागिता जनाएपनि प्याराग्लाइडिङमा मात्र नेपालले पदक जित्न सक्यो।

प्याराग्लाइडिङमा नेपाललाई रजत दिलाउने पुरुष टिमका लिडर विमल अधिकारीले विदेशमा नेपालको झण्डा फहराउन पाउँदा एकदमै गर्व लाग्ने बताए। उनले उक्त पदक सम्पूर्ण नेपालीलाई डेडिकेट गरेको समेत बताए।

नेपाल प्याराग्लाइडिङ तथात ह्याण्डग्लाइडिङ संघका अध्यक्ष रुपनारायण श्रेष्ठले महँगो खेल हुनका बावजुत पनि प्याराग्लाइडिङ खेलाडी रजत जितेर नेपालको नाम राखेको बताए। उनले खेलका लागि चाहिने ग्लाइडर किनिदिने हो नेपालले विश्वका जुनसुकै खेलाडीलाई जितेर गोल्ड मेडल जित्ने बताए।

राखेपका सदस्य सचिव विष्टले नेपालको भुगोलको तुलनामा एसियाडमा समावेश भएको नेपाली खेलाडी संख्या धेरै भएको स्विकार गर्दै एसियाड नेपालमै हुने दक्षिण एसियाली खेलकुदका साथ तयारी भएको बताए।

'हामीले एसियाडमा १ मात्र पदक जित्न सक्यौँ। धेरै कुरा सिक्ने मौका पायौँ। हाम्रा खेलाडीहरुले प्रतिस्पर्धा गरेका विपक्षीहरु धेरै उत्कृष्ट थिए। खेलाडीहरुले  आफूले सक्ने जती दिएका हुन्। तर विपक्षी हामी भन्दा धेरै राम्रा भएका कारण धेरै पदक जित्न सकेनौँ।' एसियाडमा नेपाली टोलीको सेभ दी मिसन समेत रहेका विष्टले भने।

उनले यसपटक एसियाडमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियल सहित केही डेलेगट्स र केही पत्रकार गरी कूल २८४ जनाले मात्र सहभागिता जनाएको स्पष्ट पारे। उनले विगतमा जस्तो यसपटक नचाहिने मान्छे नगएको समेत बताए।

यसैगरी आगामी नोभेम्वरमा नेपालमै पहिलो पटक आयोजना हुन लागेको प्याराग्लाइडिङको वर्ल्ड च्याम्पियनसिपका लागि राखेप लगायत मन्त्रालयले तयारी गरिरहेको सदस्य सचिव विष्टले जानकारी दिए।

नेपालमा कुनै पनि खेलको वर्ल्ड च्याम्पियनसिप हुन लागेको यो नै पहिलो पटक भएको विष्टले बताए। 

नेपालमा यसअघि प्याराग्लाइडिङको प्रि वर्ल्ड कप भइसकेको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell